संरक्षणको अभावमा मगर संग्रहालय संकटमा

 कात्तिक ८, २०७५ बिहिबार १६:१४:२६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – उचित व्यवस्थापन र संरक्षणको अभावमा रोल्पाको लिबाङस्थित मगर संग्रहालय संकटमा परेको छ ।

मगर समुदायको बाहुल्यता रहेको रोल्पाका मगर समुदायहरुको परम्परागत भेषभुषा, संस्कृति र रहन सहनलाई झल्काउने सामग्रीहरु राखिएको यो संग्रहनलय संरक्षणको अभावमा संकटमा परेको हो । गएको  ३ वर्षअघि उच्च पहाडी गरिबी निवारण आयोजना (उपाप)को आर्थिक सहयोग र स्थानीय मगर बुद्धिजीवीहरुको सक्रियतामा खोलिएको यो संग्रहालय सदरमुकामस्थित भाडामा लिइएको एउटा बन्द कोठामा सीमित हुन पुगेको छ । संग्रहालय स्थापनाका लागि सक्रिय बनेका व्यक्तिहरु अहिले आ–आफ्नै पेशा, व्यवसायमा मात्र व्यस्त भएपछि अहिले संग्रहालय महिनौंसम्म पनि बन्द हुने गरेको संग्रहालयका सचिव जोखबहादुर पुनले बताउनुभयो ।

रोल्पा नगरपालिकाले थोरै बजेट दिएपछि गत आर्थिक वर्षको कोठा भाडा बुझाएको भए तापनि यो वर्ष भने संग्रहालयले कहाँबाट लिएर घर भाडा बुझाउने भन्ने अझै अन्यौलमा रहेको छ । लोप हुन लागेको मगर संस्कृति, भेसभुषा र परम्परागत जीवनशैलीलाई भावी पुस्तासम्म बचाइराख्ने उद्देश्यले स्थापना गरिएको संग्रहालय अहिले अधिकांश समय बन्द रहेको हुन्छ । 

देशकै सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको रोल्पा जिल्लामा यस्ता जीवन्त संस्कृति झल्काउने सामग्रीहरुलाई प्रचार प्रसारसँगै संरक्षणको खाँचो रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया