भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बन्छ: ने क पा अध्यक्ष दाहाल

 कात्तिक ११, २०७५ आइतबार १६:३६:१ | रासस
unn.prixa.net

चितवन - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ । 

भरतपुर महानगरपालिकाले आइतबार चितवनमा आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताउनुभयो ।

जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताउनुभयो । 

विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताउनुभयो । 

आफूले शनिबार प्रधानमन्त्रीलाई भेटेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले पनि भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाउनुभएको पनि बताउनुभयो । 

त्यस अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आर्थिक वर्षका योजनाहरु सार्वजनिक गर्नुभएको थियो । 

उहाँले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया