अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाइदिने

 कात्तिक १३, २०७५ मंगलबार १६:२४:० | रासस
unn.prixa.net

काठमाडौं –  तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाइदिने तयारी गर्नुभएको छ । 

दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आउनुभएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आउनुभएको थियो । वि.सं. २०५५ देखि टीका लगाउन सुरु गर्नुभएकी उहाँले अहिलेसम्म चार हजार पाँचसय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसक्नु भएको छ ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने प्रयाससम्म गरेको छैन, यसवर्ष पनि मन्दिर बाहिरै बसेर भाइटीका लगाउनु पर्नेभयो । त्यसबेलादेखि सबै दाजुभाइलाई मण्डपबाहिरै राखेर भाइटीका लगाउँदै आएको छु’ अञ्जली दिदी भन्नुहुन्छ, ‘दिदीबहिनी नभएका दाजुभाइलाई दिदीका रुपमा आफ्नै माइती सम्झेर टीका लगाइदिँदै आएकी छु ।’ 

पुनःनिर्माणमा ढिला हुँदा वर्ष दिनमा आउने पर्व पनि राम्रोसँग मनाउन पाइएकाले सरोकारवाला निकायलाई अनुरोध गर्दै उहाँ जोड दिनुहुन्छ, ‘आगामी वर्ष यही मण्डपमा भाइटीका लगाउन पाइयोस् ।’ 

यही कात्तिक २३ गते यसवर्ष भाइटीका परेको छ, त्यस दिन उहाँले दिउँसो १३ः३०देखि साँझ १६ः३० बजेसम्म भाइटीका लगाउने तयारी गर्नुभएको छ । त्यतिमात्र होइन भाइटीकाका लागि प्रयोग हुने मिठाइ तयार गर्न पनि भनिसक्नुभएको छ भने अन्य सामग्री किनमेलमा मास्के अहिले व्यस्त हुनुहुन्छ । 

सुरुमा २०८ जनाका लागि टीकाका सामग्री तयार पारे पनि टीका लगाउँदै जाँदा सङख्या वृद्धि भए त्यसैअनुरुप सामग्री तयार गरी टीका लगाइदिने गर्दै आउनुभएकी ७३ वर्षीया मास्के भन्नुहुन्छ, ‘हरेक वर्ष टीका लगाउनका लागि पुरानै अनुहार मात्र नभएर केही नयाँ अनुहार पनि थपिने गरेका छन् ।’ 

आफू रहेसम्म र शरीरले धानेसम्म टीका लगाइदिने इच्छा भएको र टीका लागाउन विदेशी पनि आउने गरेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, ‘विदेशमा पनि मेरा धेरै दाजुभाइ हुनुहुन्छ । जापान, बेलायत, भारत लगायत देशका दाजुभाइले निरन्तर रुपमा टीका लगाउन लगाउँदै आउनुभएको छ ।’ 

वसन्तपुरमा दुई दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा छन् । भूकम्पका कारण दशवटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार वसन्तपुरमा रहेका केही सम्पदाको पुनःनिर्माण कार्य सुरु भइसकेको छ भने केहीको तत्काल सुरु हुने अवस्थामा छ । 

वसन्तपुरकै महत्वपूर्ण मानिने सम्पदा नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक पक्षबारे विश्लेषण भइरहेको छ भने गद्दी बैठक यस अघि नै पुनःनिर्माण भइसकेको छ । माजुदेगः देवल पनि हिजैदेखि पुनःनिर्माण सुरु भएको छ । काष्ठमाण्डप पनि पुनःनिर्माण शुरु भइसकेकाले प्रयोग गर्न नपाए पनि आगामी वर्षको तिहारमा मन्दिर बाहिर बसेर टिका लगाउन नपर्ने पसखल बताउनुहुन्छ । 

ऐतिहासिक सम्पदा पुनःनिर्माण भइरहदा वसन्तपुर अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत कात्तिक ५ गते अहिलेसम्मकै सबैभन्दा बढी करीब रु १३ लाख आम्दानी भएको र त्यस दिन सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ पुगेको थियो भने अन्य देशबाट एक हजार २६९ पर्यटक घुम्न आएका थिए । यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो । 

यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत १५० रुपैयाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले  एक हजार रुपैयाँ तिर्नुपर्छ । नेपालीका लागि भने शुल्क तोकिएको छैन । अन्य दिन वसन्तपुरबाट औसतमा दैनिक १० लाख रुपैयाँ शुल्क असुल हुने गरेको छ । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया