पहाडी भेगमा मूल्य बढ्यो

 कात्तिक १४, २०७५ बुधबार ५:५८:३६ | रासस
unn.prixa.net

काठमाडौं - पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको पाइएको हो । 

गत भदौको क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार उपभोक्ता मुद्रास्फीति तराईमा ३.७, हिमालमा ३.४ र काठमाडौँ उपत्यकामा ३.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४, तराईमा ३.८, हिमालमा ५.४ र काठमाडौँ उपत्यकामा २.८ प्रतिशत रहेको थियो । यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । गैर–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव सिर्जना हुन गएको छ । 

यस्तै गत भदौमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति १.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समुहको मुद्रास्फीति १.८ प्रतिशत थियो । खासगरी दलहन तथा गेडागुडी, तरकारी एवं चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेयपदार्थको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम भएको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गत यातायात, फर्निसिङ, घरायसी उपकरण एवं कपडा तथा जुत्ता–चप्पललगायत वस्तु तथा सेवाको मूल्य बढेका कारण समग्र गैर–खाद्य तथा सेवा मुद्रास्फीति वृद्धि भएको हो । 

गत भदौमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ र भारतको ३.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.४ प्रतिशत र भारतको ३।३ प्रतिशत रहेको थियो । सोही अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत थियो । खासगरी पेट्रोलियम पदार्थ, आधारभूत धातु तथा कपडा लगायतका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकले जनाएको छ । 

चालू आव २०७५÷७६ को दुई महीनामा विस्तृत मुद्राप्रदाय ०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.८ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १७.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु २५ अर्ब ४५ करोड (२.४ प्रतिशत)ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु पाँच अर्ब ८७ करोड (०.६ प्रतिशत)ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १३.३ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा सञ्चित मुद्रा १२.१ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.७ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा यस्तो कर्जा २८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ३.२ प्रतिशतले नै बढेको थियो । वार्षिक विन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७५ भदौ मसान्तमा २२.३ प्रतिशतले बढेको छ । निक्षेप सङ्कलन समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७५ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७.९ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा चल्ती, बचत र मुद्धतिको अंश क्रमशः ७.९ प्रतिशत, ३४.२ र ४५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो अंश क्रमशः ८.३, ३५.६ र ४३.१ प्रतिशत रहेको थियो । विसं २०७५ भदौमा बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो निक्षेपको अंश ४३.७ प्रतिशत रहेको थियो । 
 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया