अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, २५ जनाको ज्यान गयो

 कात्तिक १४, २०७५ बुधबार १४:४२:६ | रासस
unn.prixa.net

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो ।

हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताउनुभयो । त्यो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ । प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताउनुभयो । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताउनुभयो ।

तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन् । युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् ।

गएको सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चार जनाको मृत्यु भएको थियो । 

सेप्टेम्बर महिनाकै शुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना उक्रेनी नागरिक सहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । पश्चिमी देशहरुले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया