चितवन राष्ट्रिय निकुञ्जमा भाले हात्तीको कमी, रोनाल्डो र ध्रुवेको भरमा प्रजनन् केन्द्र

 कात्तिक १८, २०७५ आइतबार १४:१३:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ । हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ ।

उहाँले भन्नुभयो, ‘रोनाल्डोले गर्भाधान गराएपछि १२ भन्दा बढी बच्चा (छावा) जन्मिसकेका छन् ।’ गएको शुक्रबार मात्र गणेशकलीले भाले तथा असोज २३ गते पुजाकलीले पोथी बच्चा जन्माएका थिए । तिनीहरु रोनाल्डोकै सन्तान हुन् । अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भाधान गराएको हो ।

लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुबेले गर्भाधान गराएको हो । गएको वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताउनुभयो । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालीम नपाएका आठ तथा तालिम पाएका हात्तीका दुई बच्चा छन् । प्रजनन गराउन योग्य हात्ती नभएको चौधरीले बताउनुभयो । हात्तीले २२ महिनादेखि २४ महिनामा बच्चा जन्माउने गर्दछ ।

सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती भए पनि प्रजननयोग्य भाले हात्ती भने छैनन् ।’ चौधरीले थप्नुभयो, ‘भाले हात्ती १८ भए पनि केही बच्चा तथा केही बुढा छन् ।’ निकुञ्जको पश्चिम क्षेत्रका पोष्टमा रहेका हात्तीलाई ध्रुबे नामको जङ्गली भाले हात्तीले प्रजनन गराउँदै आएको छ ।

जङ्गली हात्ती रातको समयमा पोथी हात्ती रहेका ठाउँमा आउँछन् । चौधरीका अनुसार असोजको अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले रात खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्दछ । बिहान सबेरै रोनाल्डो जङ्गलतर्फ लाग्छ । बच्चा जन्माएको ६ महिनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर कमल गैरे जङ्गली हात्तीको भरमा प्रजनन गराउनु परिरहेको बताउनुहुन्छ ।

छिल्ला वर्षमा रोनाल्डोले नै प्रजनन केन्द्र धानेको उहाँले बताउनुभयो । विसं २०४२ मा भारतले उपलब्ध गराएको १६ हात्ती ल्याएर शुरु गरिएको सो प्रजनन केन्द्रमा अहिलेसम्म २६ हात्तीका बच्चा जन्मिएका छन् ।

‘पछिल्ला वर्षमा प्रजनन राम्रै रहेको छ’, डाक्टर गैरेले भन्नुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्य उपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारण प्रजननको अवस्था राम्रो भएको उहाँको भनाइ छ । जङ्गली हात्ती नआए भने प्रजननमा समस्या हुने देखिन्छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया