तिहारको असन बजार

 कात्तिक २०, २०७५ मंगलबार ७:२९:० | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन अरुबेला पनि व्यस्त हुन्छ । तिहार सुरु भएसँगै झन् घुईंचो बढेको छ । भाइमसलाका सामान, दियो, फूलका माला तथा थरिथरीका रंगले बजार भरिभराउ देखिन्छन् । तिहारको लागि सामान खरिद गर्न आएका महिलाहरुको अनुहारमा बेग्लै चमक देखिन्छ । कोही सामान किनेर फर्किंदैछन् भने कोही सामानको बारेमा सोधपुछ गर्दैंछन् । कसैलाई सामानको भाउ महंगो लागेको छ । 

‘कति महंगो भएको भाइ यो भाइमसला ?’ मनमैजुबाटसामान किन्न आउनुभएकी कोपिला श्रेष्ठको प्रश्नमा पसले भन्दै थिए, ‘भाइमसला मात्र होइन दिदी बजारमा सबै सामान महंगै त छ नि ।’ 

अघिल्लो वर्ष ६० रुपैयाँ पर्ने भाइमसलाको यो वर्ष ८० रुपैयाँ पुगिसकेको छ । काजु किसमिसको मूल्य बढेकाले भाइमसलाको मूल्य पनि बढेको व्यापारी परमेश्वर गुप्ताले बताउनुभयो । 

यसै पनि भिडभाड हुने असन बजारमा चाडपर्वको बेला झनै चहलपहल बढ्छ । दसैंको रौनक सकिएपछि केही दिन सुस्ताएको असन बजार फेरि उस्तै देखिएको छ । तिहारका हरेक सामान पाइने भएकाले यहाँ किनमेल गर्ने घुईंचो ह्वात्तै बढेको छ ।

चार दिनमा तीसहजार कमाउने लक्ष्य

होली तथा तिहारको बेला काठमाडौंमा रङ्ग बेच्नेहरु नेपालीभन्दा पनि भारतीय बढी हुने गर्छन् । उनीहरुले भारतबाट सस्तोमा रङ्ग किनेर ल्याउँछन् र यहाँ राम्रो नाफा लिएर बिक्री गर्छन् । भारत मोतिहारीका सन्दीप यादव पनि यही चार दिनमा तीस हजार जति कमाई गर्ने भनेर महाबौद्धमा रंगको व्यापार गरिरहनुभएको छ । चार दिनको लागि चार हजार रुपैयाँ तिरेर उहाँले ठेलामै रंग राख्नुभएको छ ।

‘चार दिन अघिदेखि नै असनबजारमा तिहारका सामान किनमेल गर्नेको चहलपहल बढेको छ’ त्यहाँ माला बेचीरहनुभएकी शोभा खनालले भन्नुभयो ‘अब यस्तै दुईचार दिन टिक्छ । भाइटीकाको दिनसम्म मात्र हो त्यसपछि त सबै आ–आफ्नो काममा फर्किन्छन् ।’ 

तिहारको बेला फूलका माला बेच्दै आउनुभएकी उहाँ अरुबेला ठेलामा तरकारी बेच्ने काम गर्नुहुन्छ । उहाँजस्तै धेरै व्यापारी अहिले तिहारको सरसामान बेच्न व्यस्त छन् । किन्नेहरुलाई पनि भ्याईनभ्याई छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया