चट्टान फोडेर दुर्गम बस्ती जाेड्ने सडक बनाउँदै छत्रेश्वरी गाउँपालिका

 मंसिर २६, २०८० मंगलबार १९:५९:५२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले दुर्गम बस्तीका लागि सडक खन्न थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । वर्षाैँदेखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका–४ का दुर्गम बस्ती भेरिखोर, आकाशी र कालुपहरका स्थानीयवासी गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछि उत्साहित भएका हुन् ।

निकै जटिल भूगोल भए पनि दुर्गम बस्तीमा मोटरबाटो पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेकाे गाउँपालिकाले जनाएको छ । झङ्खानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण भएपछि १५ घरधुरिलाई लाभ पुग्ने अकाशी गाउँका बस्ने खिमे कामीले बताउनुभयाे । ‘गाउँमा तरकारी, जडीबुटी, फलफूल उत्पादन हुन्छ तर उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउन निकै समस्या भइरहेको छ’, उहाँले भन्नुभयाे, ‘अब बाटो बन्यो भने सजिलो हुने थियो ।’

छत्रेश्वरी–४ को पोखरासम्म यसअघि नै मोटरबाटो पुगिसकेको छ । झङ्खानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिककाे जनजीवन फेरिने गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताउनुभयाे । उहाँले गाउँपालिकाकै एक्स्काभेटरमार्फत काम भइरहेकाे बताउनुभयाे ।

आठ दिनसम्म चट्टान फाेडेर झन्डै चार मिटर चाैडाइकाे एक सय ६० मिटर सडक खनेकाे एक्स्काभेटर अपरेटर प्रेमबहादुर विष्टले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘भूगोल एकदमै ठाडो छ, त्यसमाथि कडा चट्टान छ । माथिबाट ढुङ्गा खस्ने जोखिम छ । मैले छत्रेश्वरीमा काम गर्दैगर्दा अहिलेसम्मको जटिल भूगोल सायद यही नै होला ।’

स्थानीयवासीले जसरी भए पनि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक बनेपछि उत्पादित कृषिजन्य वस्तु बजारीकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने स्थानीय फौदबहादुर खत्रीले बताउनुभयाे । सडक अभावमा अहिले भीरको जटिल बाटो हिँड्न बाध्य हुनुपरेकाे उहाँकाे भनाइ छ । अब भेरिखोरसम्म मोटरबाटो जोड्न झन्डै १५ सय मिटर सडक खन्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया