रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै...
पुस २९, २०८१ सोमबार
म्याग्दी – धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् ।
मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र झण्डै ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले बताउनुभयो ।
साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर अहिले आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताउनुभयो ।
सडक ढलान र नाली बनाउन पाँच÷पाँच दिनका दरले श्रमदानसमेत गरेको कार्कीले बताउनुभयो । गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारी भएको स्थानीय देवबहादुर पुनको भनाइ छ ।
सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । उपभोक्ताले दुई लाख ३७ हजार ७८० रुपैयाँ बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले २०७५ असोज ५ गते सम्झौता भएको योजना उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिने बताउनुभयो । २०७६ वैशाख १५ गतेभित्र योजना सम्पन्न गर्ने गाउँपालिकासँग सम्झौता भएको छ ।
जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमूना र उदाहरणीय भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । फराकिलो बनाउने, नाली र ढलान गर्ने काम सकिएपछि यसलाई न्यूरोड नामाकरण गर्ने मिलनचोकवासीको तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।