पुरानाे शैलीका घर बनाउने साँखुका स्थानीयलाई नगरपालिकाको एक लाख रुपैयाँ सहयोग

 कात्तिक २७, २०७५ मंगलबार १०:५२:५६ | रासस
unn.prixa.net

काठमाडाैं –  शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो । 

नगरपालिकाले तोकेको मापदण्डअनुसार साँखु बजारक्षेत्रका आठ भूकम्पपीडितले आवास पुनःनिर्माण सम्पन्न गरी नगरपालिकाबाट रु एक/एक लाख गरी रु आठ लाख लिइसकेको शङ्खरापुर नगरपालिकाका इञ्जिनीयर मिलन फुँयालले जानकारी दिनुभयो । बजारक्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक संरक्षणका लागि पुरानै शैलीमा आवास निर्माण गरेपछि नगरपालिकाबाट थप अनुदानस्वरुप रु एक लाख पाइन्छ । कात्तिकसम्ममा पुनःनिर्माण सम्मन्न गरी अनुदान पाउनेमा साँखुका शान्तिलाल श्रेष्ठ, हरिकृष्ण मानन्धर, बलराम श्रेष्ठ र राजाराम डङ्गोलसहित आठ जना छन् । 

आवास निर्माण सम्पन्न गरेर नगरपालिकाबाट थप अनुदानको लागि अन्य तीन जनाले निवेदन दिएका छन् । निवेदन दिएका लाभग्राहीको घर अवलोकन गरी नगरपालिकाले थप अनुदान वितरण गर्ने नगरपालिकाका प्रमुख कार्यकारी प्रमोद सिम्खडाले बताउनुभयो । नगरपालिकाले पुरानै शैलीमा घर निर्माण गर्नेलाई नक्सासमेत निःशुल्क बनाइदिने गरेको छ । इञ्जिनीयर फुँयालका अनुसार नक्साको गलत प्रयोग नहोस् भनी नक्सा बनाउनुपूर्व धरौटीका लागि केही रकम नगरपालिकाको खातामा राख्ने र पछि घर सम्पन्न गरिसकेपछि फिर्ता गर्ने गरिएको छ । 

साँखु बजारका झण्डै एक हजार घरमध्ये करीब ७०० ऐतिहासिक तथा पुरातात्विक शैलीका घर ध्वस्त भएका थिए । अहिले १०० भन्दा बढी घर निर्माण भइरहेका छन् । भूकम्प गएको चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घर अझै पुनःनिर्माण हुनसकेको छैनन् । विसं २०७२ मा गएको भूकम्पबाट प्राचीन शहर साँखुबजारका मौलिक शैलीका धेरै घर क्षतिग्रस्त भएका थिए । शङ्खरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिकभार, जग्गा विवादलगायतका कारण साँखु बजारक्षेत्रको पुनःनिर्माण हुननसकेको स्थानीयवासी बताउँछन् । 

स्थानीयवासी दिनेशलाल श्रेष्ठले पुरानै शैलीमा घर निर्माण गर्न साँखुमा अहिले दक्ष कामदारको समेत अभाव भएको बताउनुभयो । “लिच्छवीकालीन झ्यालढोका निर्माण गर्न कालीगढको अभाव छ, पाइहाले पनि अत्यधिक महङ्गा र काममा ढिलाइ हुँदा साँखुवासी पीडित छन्,” उहाँले भन्नुभयो । भूकम्पमा परी शङ्खरापुर नगरपालिकामा २६ पुरुष र ७२ महिलाको मृत्यु भएको थियो । यहाँ ६ हजार ४५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । जनस्तरसहित सरकारका तर्फबाट पनि साँखुका ऐतिहासिक संरचनाको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चीरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् बताउँछन् । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया