सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारीकाे बर्खास्तीलगत्तै सुवेदीले खाए शपथ

 कात्तिक २७, २०७५ मंगलबार १७:४२:३९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा मंगलबार कृष्णराज सुवेदीले सपथ लिनुभएको छ ।  

दीर्घ सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्दै मंगलबारै सुवेदीलाई सपथ गराउनुभएको हो । 

सोडारीलाई पदमुक्त गरी मुख्यमन्त्री भट्टले मंगलबारै सुवेदीलाई मन्त्री नियुक्त गर्नुभएपछि उहाँलाई मुख्यमन्त्री भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउनुभएको हो । 
 ।  
तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर–४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।  

बर्खास्तीमा पर्नुभएका सोडारी त्यसै क्षेत्रको ‘क’ बाट निर्वाचित हुनुभएको हो । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षधरका हुन् ।

नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।

सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।

पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति हुनुहुन्छ ।

यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

स्थापितलाई बर्खास्त गरे पनि उहाँको स्थानमा अर्को मन्त्री अझै नियुक्त गरिएको छैन । तर सुदूरपश्चिम प्रदेशले भने मंलगबार बर्खास्त गरेर मंलगबारै नयाँ मन्त्री नियुक्त गरेको हो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया