के के कारणले ढल्यो त माओवादी–कांग्रेसको गठबन्धन ?

 फागुन २१, २०८० सोमबार १८:८:११ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – केही समयअघिसम्म ठिकठाक चलिरहेको कांग्रेस र माओवादीसहितको सत्ता गठबन्धन एकाएक ढल्यो । गठबन्धनमा केही दरार आएका सङ्केत त देखिएकै थिए तर यति छिटो भताभुङ्ग होला भने कमैले मात्र अनुमान गरेका थिए ।

के–के कारणले गठबन्धन ढल्यो त ?

गएको वर्षको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यति बेला संसदबाट ऐतिहासिक मत पाउनुभयो । उहाँले संसदमा भएका लगभग सबै दलको मत पाउनुभएको थियो । कांग्रेस सरकारमा थिएन तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेसले ढोक्सा थापेको’ प्रतिक्रिया दिनुभएको थियो । हुन पनि त्यस्तै भयो, फागुनमा भएको राष्ट्रपतिको चुनावमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयसँगै एमाले सरकारबाट बाहिरियो । बिस्तारै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल पनि बाहिरए । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले सरकार चलाएका थिए । गठबन्धन ठिकठाक अवस्थामै थियो ।

तर माओवादी र कांग्रेसबीचको सम्बन्धमा पहिलो ठेस लागेको थियो, गएको पुस १० गतेपछि । आफू प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोर कार्यसम्पादन भएका मन्त्री तुरुन्तै हटाउने घोषणा गर्नुभयो । त्यसका लागि उहाँले कांग्रेसका सभापति शेरबहादुर देउवासँग पटक–पटक सहयोग माग्नुभयो । तर नेपाली कांग्रेसले मन्त्री फेर्न चासै देखाएन । प्रचण्डले यो विषयमा देउवासँग भेटेरै चित्त दुखाउनुभएको थियो ।

कांग्रेस–माओवादी सम्बन्धनमा अर्को ठेस लगाइदियो– राष्ट्रिय सभा चुनावले । गएको माघमा भएको राष्ट्रिय सभाको चुनावमा गठबन्धनका सबै उम्मेदवार विजयी भए तर कोशी प्रदेशमा नेपाली कांग्रेसका मतदाताले मत नदिँदा माओवादीकी चम्पा कार्की पराजित हुनुभयो । प्रतिनिधि सभामा हारेका कृष्णप्रसाद सिटौलालाई समेत बोकेर हिँडेको माओवादीले आफ्नै उम्मेदवार पराजित हुँदा निकै चित्त दुखाएको थियो ।

माओवादी–कांग्रेसबीच चिसिएको सम्बन्धमा थप भूमिका खेल्यो, गएको फागुन ७ गतेदेखि ललितपुरमा भएको महासमिति बैठकले । बैठकमा महामन्त्री गगन थापाले गठबन्धनको चर्को विरोध गर्दा हल तालीले गुञ्जायमान भयो । धेरै कार्यकर्ता गठबन्धनको विरोधमा देखिए । अब चुनावअघि गठबन्धन नगर्ने 'ग्यारेन्टी' महासमितिको बैठकले गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई धेरैले प्रशंसा गरे । त्यस्तै उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदनमा माओवादीको सशस्त्र युद्धलाई ‘हिंसात्मक युद्ध’ का रूपमा व्याख्या गर्दै त्यो युद्धले नेपाली समाज र विकासलाई पछाडि धेकेलेको उल्लेख थियो ।

यो विषयमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै असहमति जनाउनुभयो । देउवाले प्रतिवेदन सच्याउने आश्वासन दिएका समेत समाचार बाहिरिए ।

अर्को कुरा, नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका मोहनबहादुर बस्नेत दूरसञ्चार अनुगमन प्रणाली (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमिततामा जोडिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार बयानका लागि बोलाएको थियो । राजीनामा दिनु वा प्रधानमन्त्रीले हटाउनुको साटो मन्त्रीको झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएको भन्दै चौतर्फी आलोचना भयो । तर पनि कांग्रेसले बस्नेतलाई फिर्ता बोलाएन । मन्त्री बस्नेतका कारण सरकार नै बदनाम भएको भन्दै प्रचण्डले देउवासँग कुरा राख्नुभयो । देउवाले यो पटक पनि प्रचण्डलाई टेर्नुभएन ।

यस्तै अर्थतन्त्रमा निकै धेरै समस्या आउँदा पनि अर्थमन्त्री डाक्टर प्रकाशरण महतले पटक्कै सहयोग नगरेको प्रचण्डको गुनासो थियो । बारम्बार अर्थमन्त्री परिवर्तनको आग्रह पनि देउवाले बेवास्ता गर्नुभयो, प्रचण्ड झन् समस्यामा पर्नुभयो ।

गठबन्धन भत्कनुको अर्को पनि कारण छ, माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नै दाबी पेस गर्ने निर्णय गर्नु । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन ठिक्क परेको कांग्रेस झस्कियो । अब चाँडै सरकारको नेतृत्व छाड्ने भएकाले राष्ट्रिय सभाको अध्यक्ष आफूहरूले नै पाउनुपर्ने माओवादीको अडान थियो, कांग्रेसले अनौपचारिक तरिकाले यसलाई अस्वीकार गरिदियो ।

पछिल्लो समय त नेपाली कांग्रेसले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा समेत निहुँ खोजिरहेको कुरा प्रचण्डले पार्टीका बैठकमै भन्न थाल्नुभएको थियो ।

मुख्यतः यिनै कारणले अहिलेको गठबन्धन ढल्यो । अब माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनमा अरू पनि थपिने सम्भावना छ । अहिले सरसर्ती हेर्दा एमाले र माओवादीले आधा–आधा कार्यकाल सरकार चलाउने देखिन्छ  । तर नेपालमा गठबन्धन बन्न र ढल्न कुनै ठूलो बहाना चाहिँदैन भन्ने कुरा सबैले देखे/भोगेकै छन् । त्यसैले भोलि के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया