सैनिक दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह

 फागुन २५, २०८० शुक्रबार १२:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको छ ।

टुँडिखेलमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेको छ ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम भएका छन ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । नेपालको सुरक्षाका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा पनि नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने देशको सूचीमा नेपाल अहिले पहिलो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सुरक्षा विभागका अनुसार शान्ति स्थापना कार्यका लागि सेना र प्रहरी प्रहरी पठाउने देशको सूचीमा नेपाल पहिलो स्थानमा छ । नेपालले ५ हजार ८ सय ६५ जना सैनिकसहित ६ हजार २ सय ६७ जना सुरक्षाकर्मी १५ वटा शान्ति अभियानमा खटाएको छ ।

संयुक्त राष्ट्रसङ्घले माग गरेमा ६० दिनभित्र द्धन्दग्रस्त देशको कुनै पनि ठाउँमा खटाउन सक्नेगरी सेनाले जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको छ । सेनाले १० हजार जनासम्म सेना शान्ति मिसनमा खटाउन सक्ने प्रतिबद्धता जनाएको छ । शान्ति मिसनमा खटिने सैनिकलाई विरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा निरन्तर तालिम आयोजना भइरहेको हुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया