सार्वजनिक ऋणको भार थपिंदै, आठ महिनामा २३ खर्ब ८८ अर्ब ऋण

 चैत ५, २०८० सोमबार ९:२६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – सरकारले लक्ष्यअनुसार राजश्व असुली गर्न नसक्दा सार्वजनिक ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

गएको असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको आठ महिनासम्म सरकारले १ खर्ब ६३ अर्ब ३१ करोड आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड ६५ लाख बाह्य ऋण गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।

यस अवधिमा सरकारले १ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ आन्तरिक र २३ अर्ब ६ करोड ७५ लाख रुपैयाँ बाह्य गरी कुल १ खर्ब २६ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बराबर सावाँ भुक्तानी गरेको छ ।  कुल ऋणमध्ये आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ ऋण छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपालले बाह्य ऋणको सावाँ ब्याज ३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋणको सावाँ व्याज गरी कुल १६ अर्ब ५३ करोड रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा १ खर्ब ४६ अर्ब ६४ करोड ४० लाख रुपैयाँ आन्तरिक ऋणको सावाँ–ब्याज तिरिएको छ ।

१ खर्ब २ अर्ब ९७ करोड १६ लाख रुपैयाँ साँवा र ४३ अर्ब ६७ करोड ५८ हजार बराबर ब्याज भुक्तानी भएको छ । बाह्यतर्फ २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी भएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया