उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
गाउँका सबैजना विदेश जाने भन्थे । धेरैजना कमाएर पनि फर्किएका थिए । फर्किनेले विदेशको बोरेमा निकै राम्रो कुरा सुनाउँथे ।
कमाइ पनि नेपालमा भन्दा धेरै हुन्छ भनेपछि मलाई पनि विदेश जान रहर लाग्यो । नत्र त्यो भन्दा अघि मेरो विदेश जाने सोचै थिएन । मेरो परिवारमा जागिरे कोही पनि छैन । त्यसै पनि मलाई जागिर खान मन थियो । बुवाआमाले बनिबुतो गरेर कमाएको पैसाले कति पुग्थ्यो र । चाडबाड आउँदा सधै ऋण काढ्नु पथ्र्यो ।
बुवाआमाको यो अवस्था देख्दा मलाई कहिले पैसा कमाउन सक्ने हुनु जस्तो लाग्थ्यो । १२ कक्षा पास गरें । जागिर लागाइदिने कोही भएनन् । ठूलाबडाले नभन्दिएसम्म जागिर पाइएन ।
यस्तो अवस्थामा साथीले विदेशको बारेमा सुनाएपछि मैले विदेश जाने निधो गरें । विदेश जानका लागि म्यानपावरमा बुझ्दा मलेसियामा चाइनिच होटलमा काम र कमाइ राम्रो हुन्छ भन्यो । वेटरको काम भनिएको थियो । मासिक ८ सय ५० रिगिंट तलब हुने सम्झौता पनि भयो ।
त्यसका लागि मैले दलाललाई एक लाख १० हजार रुपैयाँ बुझाएँ । काठमाडौं आवतजावत गर्दा, मेडिकल गर्दा, अभिमुखिकरण लगायत सबै काम सक्दा खर्च एकलाख ५० हजार पुगेको थियो । घरबाट एक रुपैयाँ पनि निकाल्न सक्ने अवस्था थिएन । त्यसैले सबै ऋण काढेरै चलाएको थिएँ ।
२०६९ कात्तिकमा म मलेसिया पुगें । मलेसिया पुग्दासम्म मलाई कमाउँला, ऋण तिरांैला अनि भविष्यका लागि दुईचार पैसा जोगाउँला भन्ने लागेको थियो । यतिधेरै सपनाको भारी बोकेर परदेशिएको थिएँ । तर मेरो सपना फक्रन पाएन । भनेको होटलमा काम पाइएन ।
जे भएपनि देश छाडेर परदेश आइसकेको थिएँ । काम गर्नै पर्यो । जब महिना मर्यो त्यसपछि हातमा पर्यो ५ सय रिगिंट । म त छाँगाबाट खसे झंै भएँ । पाँच सयबाट पनि खाना र बसेको रकम कटाउने बतायो । त्यसपछि मैले साहुसँग कुरा गरें ।
उसले पाँच सयभन्दा बढी नपाउने नै बतायो । सम्झौतामा आठ सय ५० रिंगिट पाउने उल्लेख गरे पनि त्यसो भएन । मैले मलेसियामै रहेका नेपाली दलाललाई फोन गरें । उनले मेरो कम्पनीको साहुसँग कुरा गरे । त्यसपछि त झन दलाललाई सबैकुरा सुनायो भन्दै साहुले मलाई यातना दिन थाल्यो ।
मलाई कम्पनीबाट नेपाल फर्कादिने भयो । मलेसिया पुगेको ३ महिना मात्र पुगेको थियो । डेढ लाख रुपैयाँ ऋण काढेर गएको मान्छे तीन रुपैयाँ पनि नतिरी कसरी घर फर्किनु । मैले मिल्ने भए केही समय यतै काम गर्छु भनेर दलालसँग कुरा गरें । उनले मलाई सुपरमार्केटमा सेक्युरेटि गार्डको काम लगाइदिए ।
एक वर्षको भिसा छ भनेका थिए । मलाई त्यसको बारेमा खासै जानकारी थिएन । काम गर्न थालें । मासिक १३ सय ५० रिगिंट तलब थियो । ऋण तिर्न पाउने भएँ भनेर म खुसी भएँ । एक वर्ष वित्यो ।
दलाललाई मिल्ने भए अरु एक वर्षको भिसा थप्दिन भनें । तर उसले ‘मलाई तिमी त अवैधानिक भएको छौ’ भन्यो । मलाई त करेन्ट लागे जस्तो भयो । के गर्ने मैले त त्यो समयमा सोच्नै सकिनँ ।
मैले काम गर्ने ठाउँमा अरुपनि थुप्रै साथीहरु अवैधानिक भएर काम गरिरहेका थिए । मैले पनि काम गर्ने निधो गरें । तर त्यसपछि काम गर्दा ढुक्क भएर काम गर्न पाइएन । काममा जाँदा हिडेर जानुपथ्र्याे । बाटोमा पुलिस देख्दा मन झसङ्ग हुन्थ्यो । ड्युटीमै हुँदा पनि इमिग्रेसनको गाडीको आवाज सुनेपछि साह्रै डर लाग्थ्यो ।
त्यो दिन पनि सधैं झैं डियुटीमै थिएँ । दुईजना मान्छे आए । डिर्पाटमेन्टमा धेरै मान्छे आए पनि उनीहरु अलिक फरक लाग्यो । के को लागि आउनुभयो भनेर सोधे । एकले भने, ‘मेरो कार हरायो, साथी आउँदै छ पख,’ मैले उसको कुराको निधो पाइन । आफ्नो काम गरिरहें ।
एकैछिनमा उसले मलाई च्याप्प समायो अनी ‘तेरो पासपोर्ट खोइ’ भन्यो । म त लल्याकलुलुक भएँ । हामी इमिग्रेसनबाट आएका हौं भने । उनीहरु नचिनिने गरि आएका थिए । साधारण पोसाकमा आएकाले पनि मैले उनीहरु इमिग्रेसनका होलान भनेर अनुमान गर्नै सकिनँ ।
दूतावासबाट नेपाल फर्कने प्रक्रिया त भैरहेको थियो । त्यही दिन तलब बुझ्ने दिन थियो । भोलिपल्ट घरमा पैसा पठाउँछु भनेर फोन पनि गरेको थिएँ । के गर्नु मलाई उनीहरुले समातेर लगे ।
न घरमा जानकारी गराउन पाएँ, न त महिनाभरको पसिनाको मूल्य नै बुझ्न पाँए । तीन महिना जेल बस्नुपर्यो । जेलमा कैदी ड्रेस लगाउनु पथ्र्यो । सुत्ने ओछ्यान, ओड्ने केही थिएन । त्यही ड्रेसको भरमा तीन महिना बित्यो । खानेपानी पनि शुद्ध खान पाइएन । बिहान बेलुका तीन सय ग्राम खाना दिन्थ्यो ।
घरमा छोरो हरायो भनेर कति चिन्ता पर्यो होला । फोन गर्न पाइँदैन थियो । त्यो बेला साह्रै पीडा हुन्थ्यो । तीन महिनापछि घरफिर्ती केन्द्रमा पुग्दा त अब बाँचे जस्तो लाग्यो । पिञ्जडाबाट फुत्केको सुगा झै उड्न मन लाग्यो । घर फर्किन पनि पालो कुर्नुपथ्र्यो ।
केन्द्रबाट दिनहुँ कोही न कोही फर्किन्थे । उनीहरुलाई मेरो बारेमा भन्दिनु है भन्दै साबुनले घरको नम्बर लुगामा लेखेर दिन्थे । उनीहरुले भन्दिए या भन्दिएनन् त्यो पनि थाहा हुँदैनथ्यो । तर फर्कने जति सबैलाई त्यसैगरी लेखेर पठाउँथें ।
मेरो पनि पालो आयो । प्लेन चढ्दा त छाती फुलेर ठूलो भयो । साँच्चै बाँचेको अनुभव भयो । यसरी मैले मलेसियामा २२ महिना बिताएँ । विदेशको बारेमा नबुझी जाँदा साह्रै दुःख पाइँदो रैछ । आफ्नो हातमा सीप नभएपछि के गर्नुथियो र ।
विदेशबाट फर्केपछि अहिले म वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनामा रिटनी भोलेन्टियरको रुपमा काम गरिरहेको छु । काम गरेर तलब धेरै नपाए पनि आफूले पाएको दुःख बाँढेर अरुलाई जोखिमबाट बचाउन पाउँदा एकदमै खुसी लाग्छ । अब विस्तारै व्यवसायिक जुनार खेती गर्ने योजना पनि बनाएको छु ।