उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी केही दिन अघिदेखि खुलेको छ । सन् २००१ देखि नेपालीहरुका लागि मलेसियाको रोजगारी वैधानिक रुपमा खुलेको हो ।
वैधानिक रुपमा खुलेपछि पुगेका नेपालीले पाएको दुःख सुन्दै र देख्दै आएका छौं तर म त नेपालीहरुका लागि मलेसियाको रोजगारी औपचारिक रुपमा नखुल्दै मलेसिया पुगेको रहेछु । मलेसिया पुगेपछि मात्रै नेपालीका लागि औपचारिक रुपमा खुलेकै रहेनछ भनेर थाहा पाएँ ।
म मलेसिया गएको सन् १९९९ मा हो । त्योभन्दा अघि म गाउँमा पढाउँथें । शिक्षकको जागिरले घर चल्दै थियो । तर द्वन्द्व सुरु भएपछि गाउँमा बसेर पढाउन सक्ने वातावरण रहेन । दिनदिनै कतै न कतै कोही न कोही अपहरणमा परेको खबर सुनिन थाल्यो ।
त्यो माहोलले मलाई पनि पिरोल्यो । म गाउँ छोडेर काठमाण्डौ आएँ । काठमाण्डौमा बस्ने क्रममा झापाका एक व्यक्ति साथी भए । म कमाउने बाटो खोज्दै थिएँ । उनले मलाई मलेसिया जाने भए कमाइ राम्रो हुन्छ भने ।
त्यतिखेर नेपालीलाई वैधानिक रुपमा मलेसियाको रोजगारी खुलेको रहेनछ । त्यो मलाई थाहा थिएन । मसँगै अरु पनि केही व्यक्तिलाई उनैले मलेसिया पठाए । नेपालबाट जान नपाइने भएपछि हामीलाई उनले भारतको कलकत्ता पुर्याए ।
अनि त्यहाँबाट ३ महिनाको भिजिट भिसा लगाएर थाइल्याण्ड पठाए । हामीलाई मलेसिया र थाइल्याण्डको सीमानामा लगेर राख्यो । त्यहीँ एक महिना बस्नुपर्यो । समस्या त्यहीँबाटै सुरु भइसकेको थियो । त्यहाँ बसुञ्जेल दुई छाक खान पाइएन । एक छाक खाएर दिन कटाउनुपथ्र्यो ।
एक महिनामा त्यहाँबाट मलेसिया पुर्याए । यहाँबाट लाने बेलामा काम चाहिँ जे भन्यो त्यही गर्नुपर्छ तर कमाइ चाहिँ हुन्छ भनेको थियो । त्यहाँ मैले ‘प्लान्टेसन’ को काम गर्नुपर्यो । हामीले बिरुवा उमार्ने, रोप्ने अनि बेच्ने काम गर्नुपथ्र्यो ।
अरु साथीहरुले डेढ लाखसम्म तिरेका थिए । मैले चाहिँ ८० हजार रुपैयाँ तिरेर गएको थिएँ । त्यतिबेला मलेसियन रिंगिटको भाउ कहिले १५ रुपैयाँ हुन्थ्यो त कहिले १७ रुपैयाँ । त्यही काम मैले एक वर्ष गरें ।
कमाउन नसकिरहेका बेला काम परिवर्तन गरिदियो । इटा उद्योगमा काम गरें । त्यहाँ हजार १२ सय रिंगिटसम्म कमाएँ । उद्योग बैधानिक नै थियो तर नेपालीका लागि वैधानिक रुपमा रोजगारी नखुलेकाले हामी चाहिँ अवैधानिक थियौं ।
त्यहाँ ६ महिना काम गरेपछि काम बाख्रा फर्ममा सार्यो । त्यहाँ ६ महिना काम गरेपछि सन् २००१ मा नेपालीका लागि वैधानिक रुपमा मलेसिया जाने बाटो खुल्यो । अनि अवैधानिक रुपमा पुगेका र काम गरिरहेकाहरुलाई फर्किन अवसर दिइयो ।
त्यही बेला म पनि मलेसियाबाट फर्किएँ । अवैधानिक रुपमा बस्दा कति समस्या पर्छ भन्ने मैले त्यतिबेलै भोगें । बाहिर निस्किन र हिँडडुल गर्न पाइँदैनथ्यो । घर फर्किएर दुई वर्ष बसें । सन् २००३ तिर दुबई गएँ । सेक्युरिटी गार्डमा ६५ हजार रुपैयाँ तिरेर गएको थिएँ ।
महिनाको ८ सय दिर्हाम तलब थियो । काम चाहिँ १२ घण्टा भनेको ठाउँमा १६ घण्टासम्म खट्नुपर्थ्याे । त्यसमा बस्न कम्पनीले दिए पनि खाना खर्च आफ्नै थियो । दुबई तीन वर्ष बसेर फर्किएँ । अहिले खेतीपातीसँगै गाउँका व्यक्तिहरु मिलेर सहकारी चलाउँदै छौं ।