युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले...
मंसिर १२, २०८१ बुधबार
मेरा कुरा पढेपछि तपाईंहरुलाई विदेशबाट कमाएर फर्किएपछि गफ दियो भन्ने लाग्न सक्छ । तर त्यस्तो होइन । मैले भोगेर फर्किएकै आधारमा मलाई लागेका कुरा भनेको हुँ ।
२०६८ सालभन्दा अगाडि म जिल्लामै गाडी चलाउँथें । तलब महिनैपिच्छे आउँथ्यो । तर यो तलब घर खर्च चलाउन नै समस्या हुन्थ्यो । कमाउन नसिरहेका बेला अरुलाई जस्तै मलाई पनि विदेश गएपछि त कमाउन सकिन्थ्यो कि भन्ने लाग्यो । म आफैं रामेछापबाट काठमाण्डौको एउटा म्यानपावरमा आएँ ।
म्यानपावरलाई मैले ड्राइभिङको काम गरिरहेका भनेर त्यही काममा जाने बताएँ । म्यानपावरले पनि मलाई अरुलाई जस्तो एउटा काम भनेर झुक्याएन । १ लाख १० हजार रुपैयाँ लिएको म्यानपावरले मलाई साउदी अरबमा पठायो ।
गाडी चलाउने काममा नेपाल र साउदी अरबमा फरक भनेको नाम र ड्राइभर बस्ने ठाउँमा हुने रहेछ । नेपालमा ड्राइभर भनिन्थ्यो, त्यहाँ खलाता भन्ने रहेछ । हामी यहाँ दाहिनेतिर बसेर गाडी कुदाउँछौं तर त्यहाँ देबे्रतिर बसेर कुदाउनुपर्ने । सुरुका दिनमा चाहिँ केही अप्ठ्यारो हो कि जस्तो हुन्थ्यो । तर पछि बानी पर्यो ।
त्यतिबेला मेरो महिनाको तलब ९ सय रियाल थियो । त्यतिबेला एक रियालको भाउ १८ रुपैयाँ थियो । ओभरटाइम गर्दा १२ घण्टा खट्नुपथ्र्यो । त्यसरी नै चार वर्ष काम गरें । मैले काम गर्दा गर्दै एक रियालको भाउ बढेर २९ रुपैयाँसम्म पुग्यो । त्यसले मैले राम्रै कमाइ गरें ।
२०७२ सालमा भुइँचालो गएपछि म घर फर्किएँ । कम्पनीले त केही दिन बसेर फर्कि भनिरहेको थियो । तर मलाई जान मनै लागेन । अरबको तातोमा १२ घण्टा खटे जसरी खट्ने हो भने त नेपालमै धेरै गर्न सकिन्छ भन्ने लागेर म फर्किनँ । यहाँ आएर सुरुमा जिल्ला कृषि विकास कार्यालयको ड्राइभर भएर काम गरें ।
तर जिल्ला कृषि विकास कार्यालय नहरने भएपछि अहिले म डिभिजन वन कार्यालय रामेछापमा चालकको काम गरिरहेको छु । कमाइको हिसाब गर्दा त विदेशको जति छैन । तर पनि घरमै बस्न पाउनु, परिवारसँगै रमाउन पाउनु नै मेरा लागि परदेशमा हुने कमाइभन्दा धेरै छ । त्यसैले मलाई परदेशभन्दा देश नै बेस रहेछ भन्ने लाग्छ ।
अहिले मेरो जागिर करारको हो । यसले बेला बेला तनाव त हुन्छ । यसलाई सरकारले अस्थायीसम्म गरिदिए म मात्रै होइन म जस्तै धेरै नेपालीले विदेशका बारेमा सोच्दैनथे होला ।