युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले...
मंसिर १२, २०८१ बुधबार
मेरो छोरा शम्भु खत्री १९ वर्ष मात्रै लागेको थियो । एसएलसी (अहिलेको एसईई) पास गर्न नसकेपछि पढाइ रोकिएको थियो । घरमा यसै बस्नुभन्दा बरु विदेश गएर कमाउँछु बुवा भन्यो । विदेश जान पनि कहाँ सजिलो रहेछ र ! एक लाख ५० हजार रुपैयाँ ऋण काढेर पठाएको हुँ ।
२०७० सालमा छोरो विदेश गयो । मलेसियामा अरु देशको भन्दा त राम्रो हुन्छ भन्थे सबैले । आफू त झन् गाउँ छाडेर कहीँ गएको हैन । मलाई पनि राम्रो नै होला भन्ने लागेको थियो ।
मलेसिया पुगेर छोराले कति दुःख गर्यो होला, कति खायो, कति दिन भोकै बस्यो, उसैलाई थाहा होला । सबै कुरा त हामीलाई सुनाएन । तर हामी जे सुन्न चाहँदैन थियौं, त्यही सुन्न पर्यो ।
मलेसिया जाँदाको डेढ लाख रुपैयाँ ऋण तिरिसकेको थियो उसले । ऋण तिरेर ४० हजार रुपैयाँ हामीलाई घर खर्च भनेर पठाएको पनि थियो । तीन वर्ष जति भएपछि मैले 'बाबु अब त घर आइज, यतै यतिका वर्ष भयो' भनेको हो । उसले भन्यो ‘बुवा अलि कमाएर आउँछु, बल्ल त ऋण सकियो ।’
विदेश पुगेको छोराले कमाएर फर्किन्छु भनेपछि के भन्नु र मैले पनि हुन्छ नै भनेको थिएँ । तर अरु तीन वर्ष बित्दा पनि छोरा आएको थिएन् । गएको वर्ष भदौंमा भने बुवा म पैसा पठाइदिन्छु भनेर फोन गर्यो । मैले तँ नै आइज न बाबु भनेँ । ‘दशैँमा आउँछु बुवा भयो ।’
'दशैँमा आउने मान्छेले अहिले किन पैसा पठाउँछस् त' भनें । हामी त छोरो फर्किने दिन गन्दै थियौं । तर छोरो हैन्, उ जेल परेको खबर पो आयो ।
खै सुनाउनेले कोठामा झगडा परेर जेल परेको हो भनेर सुनाए । कारण के थियो त उनीहरु नै जान्लान् । त्यसपछि मलाई तपाईँको छोरा छुटाइदिन्छु भन्दै एक जना नेपाली भाइले नै फोन गरे ।
छोरा छुटाउन ३० हजार रुपैयाँ लाग्छ भने । अब अर्काको देशमा जेल परेपछि के होला कसाे होला भन्ने भयो । ३० हजार रुपैयाँ भन्दा ठूलो त त्यो बेला छोरा नै भयो नि । मैले गाउँमा ऋणपान गरेर पैसा पठाइदिएँ । त्यसपछि पनि तपाईँको छोरा बिरामी छ, ४० हजार रुपैयाँ पठाइदिनु भनेर फोन आयो ।
मैले त्यो बेलामा जेल परेको नेपालीको नाममा नेपालीले नै विभिन्न बहानामा ठग्दा रहेछन् भनेर थाहा पाइसकेको थिएँ ।
छोरो जेल परेको खबर सुनेदेखि घरमा सबैजना आत्तिएका थियाै । मेरो श्रीमतीले त झन छोरोलाई घर फर्काउन भनेर तिलहरी नै फुकालेर दिएकी थिइन् । तर मैले लिइनँ ।
मलाई छोरासँगै जेलमा परेर ठगीमा परेका झापातिरका उसका साथीहरुले फोन गरेर पैसा नपठाउनु भनेका थिए । त्यही भएर मात्र पैसा जाेगियाे । पछि छोरो फर्किने बेलामा भने ३४ हजार रुपैयाँको टिकट काट्नु पर्यो ।
म पनि नेपाली । मेरो छोरो पनि घरको दुःखले नै कमाउन गएको हो । मलाई फोन गरेर पैसा माग्ने पनि नेपाली नै थिए । तिनीहरुले किन त्यसो गरेका होलान् ?नेपाली भएर नेपाली दाजुभाइलाई पनि त्यसरी लुट्छन् त ?
ए छोराहरु ! तिमीहरुको पनि म जस्तै कोही बाउ होलान् । जो आफ्नो छोराले राम्रो काम गरोस्, भलो होस् भनेर दिनरात भगवानसँग प्रार्थना गरिरहेका होलान् ।त्यसैले अरुलाई ठग्ने काम नगर नगर । अर्काको देशमा आफ्नो दाजुभाइ ठग्ने काम गर्ने कसैलाई पनि भलो हुँदैन ।
हिजोआजका केटाहरु देशमा केही काम छैन, विदेश नै जाने हो भन्छन् । तर मलाई त यो विदेश जाने काम मन परेन । पहिले हाम्रो पालामा गाउँघरमै खेतीपाती गर्यो, लैनो भैसी पालेर दूध र घ्यू बेच्दा खर्च पुगिहाल्थ्यो ।
हामीले बास्तुभाउ, खेतीपाती र जंगल गरेरै जिन्दगी बितायौं । अर्काको देशमा गएर दुःख पाउनुभन्दा त यहीँ काम गर्दा पनि हुन्छ नि ! म त अब कुनै छोरालाई पनि विदेश जाउ भन्दिनँ ।