धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
इलाम - दशैँकै टीका थियो तर हात आमाबाबुको थिएन । आर्शिवाद सधैँ ठूलोबाटै लिइनुुपर्छ तर, न त आफन्त न त सम्बन्धले ठूला । टीका थाप्ने पहाडी समुदायका राई र आर्शिवादसँगै जमरा लगाइदिने तराई मूलका सिंह । उमेरले ठूला भएकाले दशैको टीका लगाइदिने सिह, टीका थाप्ने राई । यसैगरी परदेशी भूमिमा दशैँ मनाउनुभयाे सन्यास राईले । तर उहाँले आमाबाबुको आर्शिवाद भने फोनबाटै लिनु भयो ।
नाताबिनाको दाजुबाट टीका थापे पनि फोनबाट आर्शिवाद लिँदा दुःखको आँसु बग्थ्यो इलाम माइजोगमाई गाउँपालिका–२, जोगमाईका राईको । दशैँ उस्तैगरी तीन वर्षसम्म बित्यो उहाँको ।
तर, यो वर्ष विदेशबाट फर्किएपछि आमाबाबुको हातबाट टीका थापेर उल्लासमय दशैँ मनाउँदै हुनुहुन्छ उहाँ । टीका थाप्नु बाँकी नै छ तर उमंग फरक लाग्दैछ उहाँ आफैलाई ।
‘घर र परदेशमा हुँदा दशैँ फरक हुन्छ’, परदेशको दशैँ सम्झँदै उहाँ भन्नुहुन्छ,‘परदेशमा सम्झनाको लागि मात्रै दशैँ हुन्छ, यहाँ दशैँ नहुुँदा पनि दशैँ भएजस्तो हुन्छ ।’
विदेशमा हुँदा ड्युटी सकेर चाड विशेष भेटमा साउदी, अरबी, बहराइन, बंगलादेश लगायतका आठ देशका नागरिकलाई आफ्नो देशको परम्परा रीतिरिवाज तथा सस्कार र संस्कृतिका बारेमा जानेसम्मको कुरा साट्ने मौका पाउनु भयो उहाँले । ‘अर्को वर्ष मैले पनि टीका लगाएदिएँ, परदेशमा आफूभन्दा सानालाई टीका लगाइदिँदा परिपक्व भएजस्तो हुँदोरहेछ ’, उहाँले अनुभव सुनाउनुभयाे ।
दशैँ मात्रै होइन तिहार पनि उस्तैगरी बित्थ्यो । तर साथीभाइसँग रमाइलो भने मज्जाले गर्नुहुन्थ्याे । ‘नेपालमा कहिल्यै नपोलेको सेल विदेशमा गएर पोलियो’,उहाँ भन्नुहुन्छ,‘सेल पकाउन अहिले पो रहर लाग्न थालेको छ ।’
होम बहादुरकाे कथा पनि उस्तै
इलामकै सन्दकपुर गाउँपालिका– २, माइमझुवाका होम बहादुर सुनुवारले अघिल्लो सालमा मलेसियामा नै सामुहिक रुपमा तिहार मनाउनु भयो । काम सकेपछि विभिन्न देशका सात सय जना कामदारबाट दश रिंगिट उठाएर सामूहिक तिहार मनाउनुभयाे, सँगै यहाँजस्तै देउसी भैलो खेलेर रमाउनुभयाे ।
परिवारलाई खुशी राख्ने सपना बोकेर विदेशिनु भएका उहाँको पाँच वर्ष उसैगरी बितेको थियो । ‘नेपालका हरेक चाडबाडको औधि याद आउँथ्यो, फोनमा चाडबाडमा आउने पाहुना रत्याउने सल्लाह हुन्थ्यो’, उहाँ सम्झनुहुन्छ,‘चाडबाडका बेला आफू विदेशमा भए पनि घरमा आएका पाहुनाको साह्रै याद आउने रहेछ ।’
पाँच वर्षको मलेसिया बसाइमा तेल भण्डारण गर्ने, पेट्रोल पम्पमा पाइप लाइनको स्थान निश्चित गर्ने, बाटोको दूरी पत्ता लगाउने र पोल गाड्ने ठाउँ पहिचान गर्नुपर्ने । पाँच वर्ष अघि विदेशमा पुग्नु भएका उहाँकाे यी काम गरेर महिनाको २८ हजार रुपैयाँ कमाइ हुन्थ्यो ।
ठाउँ परिवर्तन गरेर उहाँँले महिनाकाे ५९ हजार रुपैयाँसम्म कमाइगर्नु भयो, ओभरटाइम ड्युटीसम्म हिसाब गरेर । कमाइ राम्रो भए पनि पारिवारिक मिलनबाट टाढा रहँदा मन कम्ति पिरोल्दैनथ्याे उहाँकाे । ‘दशैँ तिहार मात्र कहाँ हो र, उधौली उभौलीको पनि खुबै सम्झना आउने नी ’, उहाँ सुनाउनुहुन्छ ।
उहाँकी श्रीमती विमकला राई सुनुवारलाई पनि श्रीमान् गएको वर्ष निकै पीडा भयो । ‘घरको मूली भएजस्तो हुन्न रै'छ, चाडबाडमा यादले औधि सताउँदो रहेछ ’, विमकलाले अनुभव सुनाउनुभयाे, ‘पाँच वर्षपछि सँगै दशै मनाउन पाएकोमा कम्ती खुशी लागेको छैन ।’
अहिलेसम्मको घरव्यहारको जिम्मेवारी जिम्मा लगाउन पाएकोमा उहाँ अझ खुशी देखिनुहुन्छ ।
विदेशको दुःख , दशैँको खुशी
सन्यासलाई घर छोडेर विमानस्थलमा पुग्दा गहभरी आसुँ रसायो, बिदाइका लागि उभिनेहरु देख्दा मन कुटुक्क खायो ।अमिलो मन पारेर विदेशिए पनि मनग्य कमाइ होला भन्ने लागेको थियो । तर, कमाई सोचे जस्तो थिएन, दुःख भने धेरै । यति मेहनत गरे त स्वदेशमै केही भइहाल्ला नि भन्ने आँट र साेचले उहाँ नेपाल आउनु भयो ।
उस्तै पीडा भोग्नुभएको थियो होमले पनि । ‘मलेसियामा ३६ घण्टा बस्दा एक रिंगिटमा पाइने पानीलाई १० रिंगिट तिरेर खानु पर्यो’, उहाँले भन्नुभयो,‘३६ घण्टासम्म कम्पनीको सम्पर्कबिना बस्नु पर्दा असह्य पीडा भयो नि !’
नेपाल हुँदा सम्झिएको मलेसिया र पुगेपछि भोगेको मलेसियामा आकाश-पातालको फरक हुने उहाँको अनुभव छ । ‘भाषा नजान्नु नै खास समस्या रहेछ, यहाँको सीपले पनि काम नदिँदो रहेछ ।’
स्वदेशकै सिप, स्वदेशकै रोजगार
२०७५ सालको चैतमा नेपाल आउनु भएका सन्यासले आफ्नै गाउँमा खाद्य सामग्रीको पसल सञ्चालन गर्नुभएको छ । गाउँमै चलाएको पसलले चार जनाको परिवारलाई धानिरहेको छ ।
विदेशमा हुँदाजस्तो धौ धौ छैन । होमले पनि तरकारीको व्यापार थाल्नु भएको छ । नेपाल आउँदै गर्दा पाउरोटी उद्योग खोल्छु भन्ने लागे पनि अहिलेकै व्यपार राम्रो हुँदै गरेकाले यसैमा रत्तिदै हुनुहुन्छ हाेम ।
‘श्रीमती विमकलाको पनि सक्दो सहयोग छ, दशैलाई मात्र १ घण्टा समय दिएर व्यापारै गर्ने हो’, उहाँले सुनाउनु भयो,‘पाँच वर्ष विदेश बस्दाकाे अपूरो सपना नेपालमै व्यापारबाट पूरा गर्छु भन्ने अठोट छ ।’