धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – आफ्नो १८ लाख रुपैयाँ फसेपछि कसलाई निन्द्रा लाग्ला र ? त्यो पनि ऋण काढेर बुझाएको पैसा । बाग्लुङका महेन्द्र रोकायालाई निकै छटपटी हुन्थ्यो ।
‘कतैबाट सित्तैमा पाएको पैसा होइन । भान्जाले विदेश गएर केही गर्लान् भनेर मामाले ऋण गरेर दिनुभएको थियो,’ महेन्द्रलाई यही कुराले कति रात निन्द्रा नै परेन ।
महेन्द्रको यति ठूलो रकम ठगिएको घटना दुई वर्षअगाडिको हो । पोर्चुगल पठाइदिने भनेपछि महेन्द्र सामाखुसीमा रहेको न्यू जर्नी नाम गरेको म्यानपावर पुग्नुभयो । पत्रिकामा विज्ञापन देखेकै भरमा उहाँको सम्पर्क त्यो म्यानपावरसँग भयो ।
म्यानपावरको कार्यालय एकदमै चिटिक्क परेको र आकर्षक थियो । चिल्ला फर्निचर, महँगा कम्प्युटर, सुटबुटमा ठाँटिएका कर्मचारी । त्यसैले भरपर्दो म्यानपावर होइन भन्ने कुनै कारण थिएन । गएकै दिन म्यानपावरका सञ्चालक राज पाण्डे र प्रतिक शर्मासँग भेट भयो । उनीहरुले अनेक चिल्ला कुरा गरेर महेन्द्रलाई लठ्ठै बनाए । साथमै जानुभएका मामा त झन् भान्जाले युरोपेली देश जान पाउने भए भन्ने सोचेर हुरुक्कै हुनुभयो ।
सानैदेखि मामाघरमा हुर्किनुभएका महेन्द्रको अभिभावक भनेकै उहाँको मामा हुनुहुन्छ । मामा चाहिँ भूतपूर्व सैनिक । म्यानपावर पुगेको दुई दिनमै महेन्द्र पोर्चुगल जाने निर्णयमा पुग्नुभयो । भिसा लगाउन भनेर म्यानपावरले सुरुमा तीन लाख रुपैयाँ माग्यो ।
पोर्चुगलसम्म पुग्न जम्मा १८ लाख रुपैयाँ लाग्ने भनेको थियो । भिसा लागेपछि सबै पैसा बुझाउनुपर्ने सर्त थियो । दूतावासको बाँकी काम गर्नुपर्ने भन्दै म्यानपावरले २०७५ सालको वैशाखमा महेन्द्रलाई दिल्ली लग्यो । महेन्द्र त्यहाँ एक हप्ताजति बस्नुभयो । यसैबीचमा भिसा लाग्यो भनेर म्यानपावरको मान्छेले मोबाइलमा भिसाको फोटो पठाए र केही दिनमै फ्लाइट हुने भन्दै बाँकी पैसा पठाउन लगाए । भिसा आएको फोटो देखिसकेपछि कसलाई विश्वास नलागोस् र ! महेन्द्रलाई पनि विश्वास लाग्यो । अनि मामालाई भनेर म्यानपावरले जुन जुन बैंकका खातामा भन्यो ती सबैमा पैसा हाल्न लगाउनुभयो ।
मामाले ऋण गरेर सबै पैसाको व्यवस्था गरिदिनुभयो । महेन्द्रले खातामा पैसा हाल्ने बित्तिकै म्यानपावरको मान्छेसँग सम्पर्क हुन छाड्यो । त्यसपछि महेन्द्रलाई आफू ठगिएँ भन्ने लाग्यो । अनि निराश भएर उहाँ दिल्लीबाट नेपाल फर्किनुभयो । नेपाल आएर म्यानपावर पुग्दा त म्यानपावर नै थिएन । कार्यालयमा ताल्चा लागेको थियो । उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो ।
जाँदा त अफिस राम्रै थियो । निकै चल्ने म्यानपावरजस्तै देखिन्थ्यो । तर दिल्लीबाट आउँदा म्यानपावर नै छैन । महेन्द्रको लागि त्यो क्षण निकै तितो थियो ।
म्यानपावरबाट ठगिएकाहरुले न्याय माग्न जाने ठाउँ वैदेशिक रोजगार विभाग नै हो । महेन्द्रले आफ्नो ठगिएको पैसा फिर्ता पाउँ भनेर काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा निवदेन दिनुभयो । तर त्यहाँ पुगेपछि उहाँले थाहा पाउनुभयो, त्यो म्यानपवार त्यस विभागमा दर्ता नै नभएको रहेछ ।
महेन्द्रले म्यानपावर सञ्चालक भनिने प्रतिक शर्माको नागरिकताको फोटो खिच्नुभएको थियो । बुझ्दै जाँदा त्यो नागरिकता पनि झुटो निस्कियो । नागरिकतामा लेखिएको दाङ, तुलसीपुर भन्ने ठेगानामा गएर बुझ्दा नागरिकता त्यहाँबाट जारी नभएको र झूटो भएको प्रमाणित भयो ।
अब के गर्ने ? महेन्द्रको मनमा अनेकथरी प्रश्न उठ्न थाले । विभागले व्यक्तिगत ठगीको आरोपमा प्रहरीमा उजुरी दिन सुझायो । त्यसपछि महेन्द्रले महानगरीय प्रहरी महाशाखा, टेकुमा गएर उजुरी दिनुभयो । त्यहाँ पनि सोचेजस्तो भएन ।
‘के भइरहेको छ भनेर बुझ्न जाँदा जहिले पनि अनुसन्धान गरिरहेका छौँ मात्रै भन्ने, आशलाग्दो कुरा कहिल्यै नगर्ने’, उहाँ भन्नुहुन्छ, ‘प्रहरीमा धाउँदा धाउँदा म थाकिसकेको थिएँ ।’
महेन्द्रको दिमागमा १८ लाखको बोझ थियो त्यतिबेला । त्यसमाथि प्रहरीले केही गरिदिन्छ कि भन्ने आश मर्दै थियो । महिना दिन बितिसक्दा पनि ती दुई ठगको बारेमा केही पत्तो लाग्न सकेको थिएन ।
अब के गर्ने ? ‘त्यसपछि रातभरि टाउको दुख्नेगरी सोचेँ, मन्थन गरेँ । अनि एउटा उपाय सुझ्यो’, सबैबाट दिक्क भएपछि महेन्द्रले नयाँ जुक्ति निकाल्नुभयो, ‘जुनजुन खातामा आफूले पैसा पठाएको थिएँ, ती सबै खाता बन्द गर्न लगाउने ।’
तर ती खाताबाट पैसा झिकिसकेको भए ? नझिकेको भए पनि बैंकले अर्काको खाता बन्द गर्न मान्छन् कि मान्दैनन् ? यस्तै यस्तै प्रश्नले महेन्द्रलाई तर्साउन थाले । तर हार मान्ने कुरै थिएन । १८ लाख रुपैयाँ ठगिएको पीडा जो थियो ।
त्यसपछि उहाँ सुरुमा ओम् डेभलपमेन्ट बैंकमा जानुभयो ।
‘गल्तीले मेरो पैसा यो खातामा गएछ, हेरिदिनुन भनेर बिन्ती गरेँ । सुरुमा त मानेनन् । पछि हेरिदिनुभयो । जे होस् पैसा निकालेको रहेनछ’ यो कुराले निकै खुसी हुनुभयो महेन्द्र ।
त्यसपछि उहाँ अन्य बैंकमा पनि गएर बुझ्दा पैसा जस्ताको त्यस्तै थियो । सबै बैंकमा गएर त्यहाँका मान्छेलाई ‘कन्भिन्स’ गराएर अर्काको खाताको पैसा हेर्न लगाउनु चानचुने कुरा थिएन । तर महेन्द्रले त्यो काम गर्नुभयो । कतै झुटो बोल्नुभयो त कसैलाई भावनामा बहकाउनुभयो ।
‘सायद वास्तविक कुरा बताएको भए हेरिदिने थिएनन् होला’, महेन्द्र भन्नुहुन्छ, ‘त्यही भएर आफूले गल्तीले पैसा अर्काको खातामा जम्मा गरेँजस्ता अनेक बहाना गर्नुपर्यो ।’
तीन वटा खातामा आफूले पठाएको पैसा जस्ताको त्यस्तै रहेको थाहा पाएपछि महेन्द्रमा अलिकति आशा पलायो । तर अझै गर्नुपर्ने धेरै थियो । अर्काको खाताको पैसा आफ्नो हातमा ल्याउनु थियो ।
त्यसपछि उहाँ फेरि महानगरीय प्रहरी महाशाखा, टेकु जानुभयो । तर यसपालि उहाँ अलि बढी विश्वास र आँट लिएर जानुभएको थियो । बाहिर सेवाग्राहीको सुनुवाइको लागि बसेका प्रहरी हवल्दार र असइसँग उहाँले महाशाखाको प्रहरी प्रमुखसँग कुरा गर्न चाहेको भन्ने कुरा राख्नुभयो ।
‘तर कसैले पनि मेरो कुरा सुनेनन् । केही काम भए हामीलाई भन, कहाँ तिम्रो लागि हाकिमलाई बोलाइन्छ भनेर थर्काए ।’ महेन्द्रले भन्नुभयो । तर निकै बिन्ती गरेपछि एसपीसँग भेट्न पाएँ ।
‘उहाँको नाम मलाई याद भएन । तर अरुभन्दा बुझ्ने र ज्ञानी हुनुहुन्थ्यो । उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो’, त्यो प्रहरी अधिकारीको व्यवहारले महेन्द्रमा आशा जगायो, ‘खाताबाट पैसा झिकेर मलाई दिन नमिले पनि अहिलेलाई खाताबाट पैसा झिक्न नमिल्ने बनाइदिनुस् भनेर बिन्ती गरेँ ।’
त्यसपछि प्रहरी अधिकारीले म्यानपावरको मान्छेलाई पैसा पठाएको कागजातदेखि फेसबुक च्याट र फोन रेकर्डजस्ता सबै प्रमाण महेन्द्रबाट मागे । महेन्द्रले सबै कुरा सम्हालेर राख्नुभएको थियो । महेन्द्रले निवेदनसँगै ती सबै बुझाउनुभयो । त्यही आधारमा प्रहरीले कारबाही थाल्यो । त्यसपछि सम्बन्धित बैंक तथा राष्ट्र बैंकमा प्रहरी र महेन्द्रले दुई दिनसम्म दौडधुप गरेपछि बल्ल तीन वटै खाताहरु बन्द गरिए ।
म्यानपावरको मान्छेले भनेकै ओम् डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डौ र प्राइम बैंकका खाताहरुमा महेन्द्रले पैसा जम्मा गर्नुभएको थियो ।
ओम् डेभलपमेन्ट बैंकमा कास्कीकी भगवती कोइरालाको खातामा तीन लाख, प्राइम बैंकबाट सनलाइट क्रेडिट एण्ड कोअपरेटिभ सेभिङमा १० लाख र यूएसमा व्यवसाय गर्ने ह्यान्डीक्राफ्ट कारोबारी श्याम पाण्डेको नाममा बैंक अफ काठमाण्डौको खातामा ५ लाख रुपैयाँ पठाउनुभएको थियो ।
तीन वटै बैंकका खाता रोक्का हुनेबित्तिकै सुरुमा प्राइम बैंकको खातावाला सनलाइट क्रेडिट एण्ड कोअपरिटिभ सहकारीको मान्छे आए । एउटा सहकारीको लागि दश लाख रकम पनि ठूलै हुन्छ । प्रहरीले के कारण खुलाएर त्यति ठूलो रकम जम्मा गरेको भनेर खोजतलास गर्नुभयो । कुनै पनि कारण नखुलाएको पाइएपछि त्यो ठगीको मनसाय भएको भन्दै प्रहरीले महेन्द्रसँग भएका पर्याप्त प्रमाणको आधारमा खाताको पैसा महेन्द्रलाई फिर्ता गर्न लगाए ।
त्यही दिन श्याम पाण्डे पनि आइपुगे । उनले आफ्नो ठगीको मनसाय नभएको र आफ्नो खातामा त्यो पैसा कसरी आएको भन्ने थाहा नभएको भन्दै आफ्नो खाता सुचारु गरिदिन आग्रह गरे । महेन्द्रले उनको खातामा जम्मा गर्नुभएको पाँच लाख रुपैयाँ पनि पाउनुभयो ।
अब बाँकी रहयो भगवती कोइरालाको खातामा पठाएको तीन लाख रुपैयाँ । खाता त बन्द भयो तर खातावाला मान्छे नआइकन पैसा नपाइने भयो । कुन ठाउँका हुन् भन्ने केही थाहा भएन । बैंकमा भएको विवरणअनुसार भगवती कोइरालाको ठेगाना र फोन नम्बर पत्ता लाग्यो । तर फोन गर्दा नम्बर परिवर्तन भइसकेको रहेछ ।
त्यसपछि महेन्द्र पोखरा जानुभयो । त्यहाँ गएर पनि कहाँ जाने, कसरी खोज्ने ? उहाँले त्यहाँ विभिन्न मान्छेसँग भेट गर्दा एउटा वंशावली भेटाउनुभयो । त्यही वंशावलीलाई पछ्याएर जाँदा बल्ल भगवती कोइरालाको घर भेट्नुभयो । भगवती आफू भने तिर्थयात्रामा भारत जानुभएको थियो । उहाँको दाइमार्फत भगवतीसँग कुरा भयो । उहाँसँग प्रमाणसहित सबै कुरा राखेपछि र प्रहरीसँग कुरा गर्न लगाएपछि बल्ल उहाँको दाइले तीन लाखको चेक दिनुभयो । महेन्द्रले चेकबाट पैसा निकाल्नुभयो र काठमाण्डौ फर्किनुभयो ।
एक महिनाको दौडधुपपछि महेन्द्रले आफ्नो सबै पैसा फिर्ता पाउनुभयो । त्यसपछि ती पैसा मामाको खातामा हालिदिनुभयो । पैसा फिर्ता भएपछि पनि म्यानपावरको मान्छेसँगको रिस कहाँ मर्नु र ! तर म्यानपावरवाला नै सम्पर्कविहीन भएपछि गर्न नै के सकिन्थ्यो र !
‘मेरो पैसा फिर्ता ल्याइसकेँ, ठग्नेलाई समात्ने त प्रहरीको काम हो’, महेन्द्र भन्नुहुन्छ, ‘मान्छेले खल्तीमा म्यानपावर बोकेर हिँडिरहेका छन् । सरकारले के हेरेर बसेको छ ?’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।