धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – धादिङका सुजन आचार्य साउदी अरेबियाबाट शनिबार नेपाल फर्किनुभयो । सञ्चारमाध्याममा खबर आएझैँ उहाँले विमानस्थलमा एकदमै कडाइ होला भन्ने सोच्नुभएको थियो । स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाउला र त्यस्तै परे टेकु अस्पतालमै पो राख्ला भन्ने लागेको थियो उहाँलाई । तर उहाँ जब त्रिभुवन विमानस्थलमा ओर्लिनुभयो । उहाँलाई निधारमा मेसिन लगाएर ज्वरो नाप्नेबाहेक केही गरिएन । उहाँ अचम्ममा पर्नुभयो ।
‘मैले त के के न होला भन्ने सोचेको थिएँ । मेसिन निधारमा लगाएर पठाइदियो । यस्तो पनि कतै स्वास्थ्य परीक्षण हुन्छ, त्यो पनि कोरोना भाइरसको’, उहाँले मुख बङ्ग्याउँदै भन्नुभयो, ‘यसरी त कोरोना सङ्क्रमित कति मान्छे नेपाल भित्रिसके होलान् ।’
नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई आजबाट दुई हप्ता घरमै क्वारेन्टाइनमा राख्ने भनेर घोषणा गरेको छ । तर कोही घरमै क्वारेन्टाइनमा बसेको, नबसेको कसरी थाहा पाउने भन्ने कुनै संयन्त्र छैन । न त वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा बस्नेबारे परामर्श नै दिने गरिएको छ ।
‘क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने समाचार त पढेको थिएँ । तर हामीलाई त एयरपोर्टमा कसैले केही पनि भनेन’, कतार एयरवेजबाट शनिबार ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लिनुभएका महोत्तरीका रमेश यादवले भन्नुभयो ।
यस्तै वैदेशिक रोजगारीबाट नेपाल आउन लाग्दा मलेसियाको विमानस्थलमा पनि आफूलाई परीक्षण नगरिएको बताउनुहुन्छ सिन्धुपाल्चोकका धिरज मगर । ‘ज्वरो नाप्ने र स्प्रे छर्किने काम मात्रै भयो र ओके भनेर पठायो । खासै अरु परीक्षण भएन’ उहाँले भन्नुभयो, ‘क्वारेन्टाइनमा बस्नुपर्नेबारे पनि हामीलाई केही भनिएको छैन ।’
यस्तै, मलेसियाबाट फर्किनुभएका रामेछापका सहदेव भण्डारी नेपालले केही पनि सतर्कता नअपनाएको गुनासो गर्नुहुन्छ ।
‘मलेसियाबाट आउँदा उताको एयरपोर्टमा पनि परीक्षण गरेन । यता पनि निधारमा मेसिन लागउनेबाहेक केही पनि गरेन । यसले कसरी कोरोना नियन्त्रण हुन्छ र ?,’ उहाँ भन्नुहुन्छ, ‘कोरोनाको कारणले आफूलाई डर त लागेको छ । तर मास्क लगाउनबाहेक हामी के नै गर्न सक्छौँ र ?’
उहाँहरुजस्तै वैदेशिक रोजगारीबाट धेरै युवा नेपाल फर्किँदै छन् । वैदेशिक रोजगार विभागले जनाएअनुसार वैदेशिक रोजगारीबाट फर्केकाहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भनिए पनि विमानस्थलमा कोरोना परीक्षणको लागि कुनै प्रभावकारी उपाय नअपनाइएको रोजगारीबाट फर्किनेहरुको गुनासो छ ।
चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण खाडी देशहरुलगायत विश्वका १२४ देशमा फैलिसकेको छ । कतारमा २६२ जनालाई कोरोना सङ्क्रमण भएको छ । कुवेतमा १०० जना, बहराइनमा २१०, कतारमा २६२, यूएईमा ८५, साउदीमा ६२ र मलेसियामा १९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
अहिले नेपालीको श्रमको प्रमुख गन्तव्य देशहरुमा पनि कोरोनाको जोखिम बढ्दो छ । यूएईमा दुई नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । कतारले नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ ।
यस्तै कतारमा कार्यरत श्रमिकहरु बिदामा नेपाल फर्किएका छन् भने प्रतिबन्ध नखुल्दासम्म नफर्किन कतारको गृह मन्त्रालयले अनुरोध गरेको छ । साउदी अरबले पनि कोरोना सङ्क्रमण फैलिएको भन्दै दुई हप्तासम्मको लागि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।
अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरु कोही काम विशेषले त कोही कम्पनीको छुट्टीमा घर फर्किरहेका छन् । कम्पनीमा काम गर्ने क्रममा विभिन्न देशका नागरिकसँग उठबस र विमानस्थलमा पनि त्यस्तै सम्पर्क हुन्छ । तर दुइटै देशका विमानस्थलमा उचित परीक्षण नहुँदा कोरोना सङ्क्रमित व्यक्ति नेपाल भित्रिने सम्भावना रहन्छ ।
त्यसकै लागि भनेर सरकारले १४ दिनको ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने घोषणा गरेको छ । तर विमानस्थलमा त्यसबारे जागरुकता बढाउनको लागि सरकारले कुनै तयारी गरेको देखिँदैन ।