यूएईमा कोरोना जितेका नारायण भन्नुहुन्छ : मर्न डराइनँ, त्यसैले कोरोनालाई जितें

 वैशाख २४, २०७७ बुधबार १२:३५:८ | मेरो कथा मेरो भोगाई

नारायण थापा/उदयपुर, हाल दुबई ।

मलाई कोरोना सङ्क्रमण भएको पहिलो दिन निकै डर लाग्यो । के होला, के नहोला सोच्न सक्ने अवस्था थिएन । तर डर त्यतिबेलासम्म लाग्दो रहेछ, जबसम्म मर्न डर डराइन्छ । मैले कोरोना लागेपछि मृत्युको डर मनबाट हटाएँ । मर्न पनि डराइनँ र मर्छु भनेर पनि सोचिनँ, त्यही मेरो आत्मविश्वासले नै कोरोनालाई जितें ।

दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि अहिले म १४ दिनको क्वारेण्टीनमा छु । यतिबेला घर परिवारबाट टाढा परदेशमा हुने कसले सोच्न सक्छ र आफूलाई कोरोना पोजेटिभ देखिएको दिन ?

तर सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना पोजेटिभ देखियो । सुरुको दिनमा म धेरै आत्तिएँ । कतै म पनि मर्ने त होइन भन्ने डर लाग्यो । घाँटी असाध्यै दुख्थो, टाउको दुख्थ्यो । सुत्न सक्दिनँ थिएँ ।

ज्यान कमजोर भएका बेला मन पनि कमजोर भयो भने रोगले मलाई जित्छ भन्ने मलाई थाहा थियो । त्यसैले ज्यान गले पनि मन गल्न दिइनँ ।

मेरो नाक पूर्ण रूपमा बन्द भएको थियो । खोकी लाग्थ्यो । जोर्नीहरु असाध्यै दुख्थ्यो । तीन दिन त होइन कि झैं लाग्यो । यताउता गर्दै बसेँ । तर तीन दिनको राती सुत्न सकिनँ । अस्पताल गएर जाँच गराएँ । रिपोर्ट पोजेटिभ आयो । अब कोरोनासँग लड्नुबाहेक बिकल्प पनि त रहेन ।

ज्यान कमजोर भएका बेला मन पनि कमजोर भयो भने रोगले मलाई जित्छ भन्ने मलाई थाहा थियो । त्यसैले ज्यान गले पनि मन गल्न दिइनँ । अस्पतालमा बस्दा पनि केही समय सास फेर्न असाध्यै गाह्रो भयो । राती सुत्दा झन सास फेर्न गाह्रो हुन्थ्यो । उठेर लामो लामो सास लिन्थें । 

घरीघरी दिमागमा मानिस कोरोना लागेर मर्छ भन्ने कुरा आउँथ्यो । तब म भने ‘मर्दिनँ’ भन्ने शब्द लगातार १० मिनेटसम्म उच्चारण गर्दै बस्थें । यसले गर्दा मेरो आत्मबल बढ्थ्यो । हरपल मैले मलाई केही भएको छैन भन्ने सोचाइ राखेँ ।

कोरोना जित्न यसो गरेँ

कोरोनासँगको लडाईं लडिरहँदा मैले मृत्युसँगको डर हटाएँ । मर्छु कि भनेर कति पनि डराइनँ । मृत्युसँग नडराउनु भनेको आफूले आफूलाई बाँच्नका लागि दिएको औषधि बराबर हुँदोरहेछ । दोस्रो भनेको आत्मबल कमजोर हुन दिइनँ ।

त्यसका लागि आफूलाई मन लागेका हरेक कुरा गरें । शारीरिक व्यायाम गरें । योग गरें । कोरोनासँग सम्बन्धित समाचार हेर्न छाडें । तातोपानी प्रशस्त पिएँ । खाना, फलफूल प्रशस्त खाएँ । दिनमा दुई पटक तातोपानीको बाफ लिएँ ।

विभिन्न कमेडी खालका सिररियलहरु हेरेँ । जुन हेर्दा म हाँस्न सक्थें र पीडाहरु भुल्थें । आफूलाई मनपर्ने कुराहरु गुगल सर्च गरेँ, हेरेँ र पढेँ पनि । आफूलाई व्यस्त राख्न गीत बजाएँ र गीतसँगै नाचेँ । धेरैजसो समय परिवारको सम्पर्कमा रहेँ । 

कोरोनासँगको जितमा मेरो परिवार आफन्त, साथीभाइ, मित्रहरु सबैको हौसलाले ठूलो काम गरेको छ । उहाँहरुले मलाई आँट दिनुभयो । म उहाँहरुकै आँट र भरोसाले डराइनँ । मलाई केही हुन्छ भनेर कहिल्यै सोचिनँ । मन दह्रो बनाएँ ।

तर मैले सबै कुरा मेरो आफन्त, दाजुभाइ दिदीबहिनीलाई भनेको थिइनँ । मेरो पीडा उहाँहरुलाई सुनाउँदा मलाई मात्र होइन, उहाँहरुलाई पनि थप पीडा हुन्थ्यो । तर मैले म ठिक छु, मलाई केही भएको छैन भन्दा साँच्चै मलाई केही भएको छैनझैं लाथ्यो । मलाई थप उर्जा मिल्थ्यो ।

कोरोनासँगको जितमा मेरो परिवार आफन्त, साथीभाइ, मित्रहरु सबैको हौसलाले ठूलो काम गरेको छ । उहाँहरुले मलाई आँट दिनुभयो । म उहाँहरुकै आँट र भरोसाले डराइनँ । मलाई केही हुन्छ भनेर कहिल्यै सोचिनँ । मन दह्रो बनाएँ ।

कुनै पनि औषधि खाइनँ । सबैको हौसला र मेरो आत्मबलले अहिले पीसीआर रिपोर्ट दुई पटक नेगेटिभ आएपछि डिस्चार्ज भएर अहिले म १४ दिनको क्वरेण्टीनमा बसेको छु । 

अहिले ठिक छु । म मेरो परिवार र आफन्तदेखि सबैलाई धन्यवाद भन्न चाहन्छु । किनकी मैले तपाईँहरुकै साथका कारण कोरोनालाई जितें । मलाई आशा छ, यो बेला कोरोनाको डर हुने र कोरोनासँग लडिरहनुभएका दाजुभाइ दिदीबहिनीहरुलाई मेरो यो अनुभव र भोगाइले कोरोनासँग लड्न आत्मबल दिनेछ ।

(थापाले सन्जिता देवकोटासँग सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साट्दै नाम र तस्बिरसहित प्रकाशनका लागि अनुमति दिनुभएको हो ।)

 

तपाईको प्रतिक्रिया