धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।
उहाँकाअनुसार सङ्क्रमितमध्ये तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहेको पनि कार्कीले बताउनुभयो ।
‘पछिल्लो समय सुरक्षा गार्डमा पनि सङ्क्रमण भएको भन्ने कुरा आएको छ, तर दूतावासमा आधिकारिक जानकारी आएको छैन’ उहाँले भन्नुभयो, ‘अहिले दूतावासमा जानकारी आएअनुसार २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।’
बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो ।
दूतावासले अनलाइनमार्फत सङ्कलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् । द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन ।
कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उहाँले अनुरोध गर्नुभएको छ । घर फर्कन नचाहनेले पनि आफ्नो समस्या टिपाउन सक्नेछन् ।
सबै जनाले आफूलाई परेको समस्या दूतावासमा राखेमा कसलाई के समस्या परेको छ भन्ने जानकारी दूतावासलाई हुने र पछि समन्वय गर्न सजिलो हुने कार्कीको भनाई छ ।
जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएकाहरु त्यहाँ लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन पाउनेछन् । मलेसियाले त्यहाँको लकडाउन सकिएको १४ दिनभित्र फर्कन सक्ने बताए पनि नेपालमा लकडाउन नखुल्दा नेपाली श्रमिकले यो समयमा नेपाल फर्कन पाउने या नपाउने भन्नेबारे कुनै निर्णय भएको छैन ।
मलेसियामा मे १२ अर्थात वैशाख ३० गतेसम्म लकडाउन छ । नेपालमा जेठ ५ गतेसम्म थप्दै जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय भएको छ । यसकारण मलेसियामा मे १२ पछि लकडाउन लम्बिएन भने पनि जेठ १८ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान नहुने भएकाले ओभरस्टे भएर बसेकाहरु यस अवधिमा फर्कन सक्ने सम्भावना कम छ ।
यसैबीच नेपाली श्रमिकलाई पर्ने असर र फर्कनुपर्ने बाध्यता लगायतका विषयमा सम्बन्धित मन्त्रालयलाई जानकारी गराइएको मलेसियामा रहेको नेपाली दूतावासले जाएको छ । यो समयमा भिसा सकिएर ओभरस्टे भएकाले स्वदेश फर्कंदा कुनै जरिवाना तिर्नु पर्दैन ।
मलेसियामै बस्न चाहने तर भिसा नवीकरण गर्नुपर्नेले भने लकडाउनको अवधि सकिएको एक महिनाभित्र मलेसियाको अध्यागमन कार्यालयमा गएर भिसा नवीकरण गर्न सक्नेछन् । यसरी भिसा नवीकरण गर्दा आफ्नो कम्पनीको आधिकारिक प्रतिनिधिलाई जानकारी गराउनुपर्नेछ ।
जनवरी १ भन्दाअघि नै भिसा सकिएर वा विभिन्न कारणले गैरकानुनी हिसाबले मलेसियामा बसिरहेका श्रमिक भने यो समयमा स्वदेश फर्कन पाउने छैनन् । पहिलेकै नियम अनुसार तोकेको जरिवाना र सजाय भोग्नपर्ने हुन्छ ।
यसरी अवैधानिक हुनेले मलेसियाको अध्यागमन नियमअनुसार बढीमा ३१ सय रिंगिटसम्म जरिवाना तिर्नुपर्छ । अदालत र कानुन अनुसार जेल सजाय पनि हुन सक्छ ।
दूतावासका द्वितीय सचिव कार्कीका अनुसार मलेसियाले आफ्ना नागरिकलाई लकडाउनको समयमा सरकार र विभिन्न निकायको समन्वयमा अनुदानको घोषणा गरे पनि विदेशी नागरिकलाई त्यो अनुदान कार्यक्रममा समावेश गरेको छैन ।
कतिपय श्रमिकले पारिश्रमक नपाएको विषयमा आएको गुनासो लिएर रोजगारदातासँग कुरा गर्दा पुरै पारिश्रमिक दिन नसकिनेसम्मको प्रतिक्रिया पाएकोपछि मलेसियाको मानव संशाधन मन्त्रालयलाई यसबारे पत्राचार गरिएको दूतावासले जनाएको छ ।
श्रमिकलाई पूरा तलब दिलाउनका लागि दूतावासले निरन्तर समन्वय गरिरहेको कार्कीको भनाइ छ । खान बस्न लगायत आफूलाई परेका समस्या हटलाइनमार्फत टिपाउन पनि दूतावासले अनुरोध गरेको छ । श्रमिकलाई परेका समस्या समाधानमा प्रयास गरिरहेको दूतावासको भनाइ छ ।