परदेशमा छैन सुरक्षित बास, छिटै स्वदेश फर्किने धेरैको आश

 वैशाख २७, २०७७ शनिबार ९:२६:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारको ४० डिग्रीको गर्मी । बाहिर हेर्दा पनि आँखा तिरमिराउँछन् । पहिले त दिनभरी काम गरेर समय बित्थ्यो । अहिले काम पनि छैन, समय बिताउने अरु बहाना पनि छैनन् । कम्पनी बन्द भएपछि एक महिनादेखि कोठाभित्रै थुनिएका समिर खड्का भित्तामा झुण्ड्याएको क्यालेण्डरमा दिन गन्दै बस्नुहुन्छ ।

उहाँले काम गर्ने रेष्टुरेन्ट बन्द भएको ठ्याक्कै एक महिना भयो । काम हुँदा खानाको समस्या थिएन, रेष्टुरेन्टले नै खाना दिन्थ्यो । तर रेष्टुरेन्ट बन्द भएपछि भने समिरलाई खाना खर्च आफैले जुटाउनुपरेको छ । 

यति मात्र होइन, उहाँलाई तलब नपाइने चिन्ताले पनि पिरोलेको छ । रेष्टुरेन्ट सञ्चालकले काम नभए तलब दिन नसक्ने संकेत गरेपछि चिन्ता झनै थपिएको हो ।

त्यही भएर यस्तोबेला आफूसँग भएको पैसा सकिएपछि के गर्ने, कहाँ बस्ने होला भनेर उहाँ कहिले आफूसँग भएको पैसा गन्नुहुन्छ, कहिले कति दिन पुग्ला भनेर भित्तामा झुण्ड्याएको क्यालेण्डर हेर्नुहुन्छ ।

समिरजस्तै वैदेशिक रोजगारीमा खाडी तथा मलेसियामा रहेका धेरै नेपालीहरुले यस्तो समस्या भोगिरहेका छन् । कतिपयको जागिर नै गुमेको छ भने कतिपय जोखिम मोलेर काम गरिरहेका छन् । कसैको करार तथा भिसाको म्याद सकिएको छ भने कसैलाई पारिवारिक समस्याका कारण नेपाल फर्कनैपर्ने बाध्यता छ ।

यूएईमा रहेका रघुनाथ सिम्खडा आमाको उपचार गर्नको लागि नेपाल जान नपाउँदा पीडामा हुनुहुन्छ ।

‘आमाको मुटुको भल्भको शल्यक्रिया गर्नुपर्ने भएकाले जसरी भए पनि घर जानुपर्ने थियो, तर जान नपाइने भयो’ उहाँ भन्नुहुन्छ, ‘यस्तो समस्या त बुझ्नुपर्ने हो नि सरकारले ।’

अहिले उहाँको काम पनि छुटेको छ । भिसा पनि सकिने क्रममा छ । कम्पनीले दुई महिनासम्मको तलब नदिने भनेर हस्ताक्षर गर्न लगाइसकेको छ । यस्तो बेला के गर्ने, कसलाई भनेर आफ्नो समस्या समाधान हुन्छ भन्नेमा उहाँ आफै अलमलमा हुनुुहुन्छ ।

नेपाली श्रमिकको मुख्य गन्तव्य खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । जोखिमबाट बच्न ती देशहरुले लकडाउन थपिरहेका छन् ।कतिलाई लकडाउन कहिले खुल्ला र काममा फर्किन पाइएला भन्ने लागेको छ । यस्तै लकडाउन खुल्नेबित्तिकै नेपाल फर्किन पाइन्छ भनेर आश गरेर बस्नेहरु पनि धेरै छन् । 

गैरआवासीय नेपाली संघ, एनआरएनएले गरेको सर्वेक्षणअनुसार यूएईबाट मात्रै १० हजारभन्दा बढी श्रमिक स्वदेश फर्कने पर्खाईमा छन्  । 

काम बन्द नहुँदा पनि चिन्ता

धेरै देशमा लकडाउनका कारण अत्यावश्यक सामग्री उत्पादन गर्नेबाहेक अरु कम्पनी बन्द छन् । त्यस्ता अत्यावश्यक सामाग्री उत्पादन गर्ने कम्पनी र सुरक्षा गार्डमा कार्यरत नेपालीहरु कोरोना सङ्क्रमणको जोखिममा रहेका छन् । 

‘हाम्रो कम्पनीमा काम चलिरहेको छ बिरामी पनि धेरै भएका छन्, खाने बेला र काम गर्ने बेलामा पनि दूरी कायम छैन’ कुबेतबाट चन्द्र शर्मा भन्नुहुन्छ, ‘नजिकै लाइनका बसेर खानु पर्छ, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढ्दै छन् । कम्पनीमा परीक्षणको कुनै व्यवस्था छैन ।’

यस्तै काम भएर पनि तलब नपाएकाहरु पनि धेरै छन् । यस्तो बेला काम गर्दा हुने जोखिमको चिन्ता छुट्टै हुन्छ । त्यसैमाथि काम गरेको तलब नपाउँदाको पीडा ।
यूएईमा हरि भण्डारीले पनि यस्तै समस्या भोगिरहनुभएको छ । उहाँ दुबईमा रहेको जुमेराह लेक टावर भन्ने ठाउँको रेष्टुरेन्टमा जेनेरल कुकमा काम गर्नुहुन्छ । काम नियमित चलि नै रहेको छ । तर दुई महिनादेखिको तलब नपाउँदा भने उहाँलाई अत्यास लागेर आएको छ ।

‘दुई महिना भयो तलब नपाएको, खान र बस्न त दिएको थियो, त्यो पनि अब सकिंदैन भन्छ, घर जाउ भन्दै दबाब दिन थालेको छ’ उहाँले समस्या सुनाउनुभयो । त्यहाँको सरकारले होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने श्रमिकको अनिवार्य कोरोना परीक्षण गर्नु भनेको भए पनि कम्पनीले आफ्नै पैसाले परीक्षण गर्नु भनेको छ । नत्र घर फर्किनु भनेर कम्पनीले धम्की दिइरहेको उहाँको गुनासो छ ।

परदेशमा अर्काको धम्की सुन्नुभन्दा जुनसुकै अवस्थामा भए पनि आफू नेपाल फर्किन चाहेको उहाँ बताउनुहुन्छु ।

साउदीमा बढ्दो सङ्क्रमणले नेपाली चिन्तित

खाडी र मलेसियामध्ये सबैभन्दा धेरै कोरोना सङ्क्रमित साउदीमा छन् । त्यहाँको सरकारले कोरोना नियन्त्रणको लागि विभिन्न प्रयास गरे पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । 

अहिलेसम्म साउदीमा ४६ जना नेपालीसहित ३३ हजारभन्दा बढीलाई कोरोना सङ्क्रमण भइसकेको छ । यसले गर्दा त्यहाँ रहेका नेपाली श्रमिकहरु पनि चिन्तित छन् । 

‘हामी यहाँ बस्नु भनेको कोरोनालाई निम्तो दिनु सरह नै हो’, साउदीबाट एसपीआर पुन भन्नुहुन्छ, ‘हामी धेरै नेपाली यहाँ बिना काम फसेका छौं, न हाम्रो यहाँ कम्पनी छ, न तलब आउला भन्ने नै छ ।’

आफूजस्तै रोजगारी पनि गुमेका र तलब पनि नपाउनेहरुलाई नेपाल सरकारले तत्कालै उद्धार गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

यस्तै साउदीबाट बाबुराम आचार्यको गुनासो पनि यस्तै छ । बढ्दै गरेको कोरोनाको सङ्क्रमणले चिन्ता थपेको उहाँ बताउनुहुन्छ । ‘कम्पनीले भिसा रद्द गरेर राखेको छ । काम पनि छैन र खाने, बस्ने केही व्यवस्था छैन । हामी कति दुःखमा छौं भन्ने कुरा सरकारले बुझिदिनुपर्यो’ उहाँ भन्नुहुन्छ । 

उहाँजस्तै खाडी र मलेसियामा रहेका धेरै नेपाली सरकारले छिटै स्वदेश फर्काउने बाटो खुलाइदिन्छ भन्ने आशमा छन् । 

 

 

1 Comments

  • रेशम रुम्बा

    May 12, 2020, 12:56 a.m.

    हामी आबुधाबि माछु न काम न दाम हामी नेपाल छिटो लाईजाउ नत्र केपी टोपि जाल खेरो

तपाईको प्रतिक्रिया