धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
अहिले एकातिर कोभिड १९ को डर त्रास अन्यौल भैरहेको छ भने सामाजिक रुपमा आएको अन्यौल अनिश्चितताले पनि मानिसमा एक प्रकारको डर चिन्ता बढेको छ। परदेशीहरुले पनि आफू बन्धनमा परेको जस्तो महशुस गरिरहेका छन् । जहाज नउड्दा चाहेर पनि घर आउन, जान पाएका छैनन् । अनि अर्कोतिर कतिबेला कोरोना लाग्ने हो, क्वरेण्टीनमा कति दिन बस्नुपर्ने हो, क्वरेण्टीनमा बसे पनि उपचार पाइने हो कि होइन जस्ता अन्यौल, अनिश्चितता पनि एकदमै बढेको देखिन्छ । जसले गर्दा मानिसमा एक किसिमको डर त्रास उत्पन्न भएको पाइएको छ ।
कतिपयले त आफ्नो परिवारसँग यी भावनाहरु व्यक्त गर्ने गर्छन् भने कतिजनाले सरकारले गरेको कतिपय निर्णयहरुमा पनि आक्रोश पोखेको देखिन्छ । परदेशमा धेरै जना अन्यौलमा हुनुहुन्छ ।
भिसा सकिएर बस्नुभएको छ, कति जनाले टिकट काटेर आउन पाउनुभएको छैन । यस्तै धेरै समस्याबाट गुज्रिएर अब कति समय विदेशमै बस्ने भन्ने भइरहेको छ । कतिपय देशहरुले निश्चित समय तोकेर यति समयभित्र देश छोड भनिरहेका छन् ।
त्यसले गर्दा पनि परदेशीमा निकै अन्यौल भएको छ । जसको कारण स्वदेशमा भएका परिवारका सदस्यहरु विशेषगरी श्रीमान श्रीमती, नजिकका परिवारका सदस्यहरुलाई पनि त्यस्तै खालको अन्यौल भइरहेको देखिन्छ । यस्तै उहाँहरुमा पनि मानसिक अवस्था असाध्यै कमजोर हुँदै गएको हामीले पाएका छौं ।
जस्तो एकजना महिला, उहाँको श्रीमानलाई विदेशमा क्वरेण्टीनमा राखेको छ भन्ने समाचार सुन्नेबित्तिकै उहाँको हातखुट्टा काँप्ने, लल्याकलुलुक हुने, खान मन नलाग्ने, राति निद्रा नलाग्ने, एकदमै दुःख बढेको छ भन्ने कुरा गरिरहनुभएको छ । धेरै परिवारमा यस्तो भइरहेको अवस्था छ ।
हुन त सबै जनालाई कोरोना भाइरसकै इन्फेक्सन भएको भन्ने होइन, तर क्वरेण्टीनमै बस्यो भन्दा पनि मानिसमा एकप्रकारको डर, त्रास, चिन्ता बढेको पाइन्छ ।
क्वरेण्टीनमा बस्दा होस् या कम्पनीको क्याम्पमै बस्दा, अनि परिवारका सदस्यहरु पनि घरमै बसेर विदेशमा रहनुभएका आफ्ना आफन्तको खबर लिंदा मनमा उत्पन्न हुने डर हटाउन लागि हामीले विभिन्न कुरा गर्न सक्छौं । कोरोना भाइरसकै कुरा गर्ने हो भने पनि हामीले सही सूचना पाएका छौं कि छैनौं र त्यही अनुरुप व्यवहार गरेका छौं कि छैनौ भन्ने पनि हुँदो रहेछ ।
कतिपय अवस्थामा ६०÷७० प्रतिशतमा पाएको समाचारभन्दा विपरीत कुराहरु गरिरहेको पाइन्छ अथवा बढी गरिरहेको पाइन्छ । जस्तै समाचारमा कुनै सामानबाट कोरोना सर्छ भन्ने सुनेको छ भने त्यो सामान छुँदा पनि डराउने, एकदमै तर्सिने, कुनै सामान ल्यायो भने धेरै दिनसम्म बाहिरै राख्ने गरेको देखिन्छ । जसले गर्दा मानसिक रोग थप हुन गइरहेको छ ।
यसले गर्दा चिन्ता थपिने गरेको छ । मानिसको नजिक गएर कुरा गर्यो भने कोरोना सर्छ भन्ने सुनेकाले त्यसो गर्न डराइरहेका छन् । पहिले हामी सर्प देख्यो भने जसरी भाग्थ्यौं अहिले मान्छे मान्छेसँगै त्यसरी नै डराइरहेको र भागरहेको अवस्था छ । तर यसौं नगरौं ।
त्यसैले आफ्नो मानसिक स्वास्थ्यलाई कसरी हेर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । आफूले गर्ने चिन्ता, डरका कारण मानसिक स्वास्थ्यमा असर पर्ने त होइन भनेर आफैसँग प्रश्न गर्नुपर्ने देखिन्छ ।
हामीले लकडाउनमै दुई महिना बिताइसक्यौं । त्यो लकडाउनको बेला पनि हामीमा कति धेरै समस्याहरु भए होलान् । कोरोना भाइरसको कारणले भन्दा पनि आफ्नै चिन्ताले गर्दा बढी समस्सा भएको हुनसक्छ । कोरोना भाइरसले प्रभाव नपारेको घरमा हिंसा बढेको छ, जसले गर्दा परिवार तहसनहस भएको अवस्था पनि छ । पहिले आफ्नो परिवारको सदस्यहरुसँग कुरा गर्दा खुसी लाग्थ्यो, मनमा आनन्द छाउँथ्यो भने अहिले अन्यौल र अनि
अनिश्चितता छाएको छ । अत्यास लाग्ने कुरा गर्दा त्यसले मानसिक स्वास्थ्यलाई असर गरेको हुन सक्छ ।
यी कुराहरुलाई हामीले समयमै बुझ्न महत्वपूर्ण हुन्छ । यतिखेर हामीले चाहेर पनि कुनै पनि कुरा नियन्त्रण गर्न सक्दैनाैं। जस्तो उदाहरणको लागि फ्लाइट, लकडाउन खोल्ने कुरा, ट्राफिकका कुरा यी सबै हाम्रो नियन्त्रण बाहिरका कुरा हुन् । हामी चाहेर पनि यी कुरामा नियन्त्रण गर्न सक्दैनाैं । यतिबेला हामीले अपनाउनुपर्ने मुख्य कुरा भनेको धैर्यता हो ।
हामी जहाँ छौं, त्यहीँ स्वस्थ तरिकाले कसरी बाँच्न सक्ने भन्ने कुरामा परिवारका सदस्यसँग छलफल गर्न पनि जरुरी छ । एउटा यस्तै घटना भएको छ । श्रीमान् श्रीमती दुवैजना परदेशमै हुनुहुन्थ्यो । श्रीमानलाई स्वास्थ्य समस्या थियो । १८ दिनसम्म स्वास्थ्य उपचार गर्न नपाएर उहाँलाईृ छटपटाहट भएको थियो भने यता परिवारमा पनि त्यस्तै छटपटी थियो । तर पछि आफैं निको भएर आएपछि उहाँले भन्नुभएको कुरा निकै महत्वपूर्ण छ ।
उहाँले अस्पताल नगएर पनि मलाई मेरो परिवारसँगको नियमित कुराकानीले बचाएको हो जस्तो मलाई लागेको छ, टाढै भए पनि म तिमीसँग छु है भनेर घरपरिवारले दिएको हौसलाले मनभित्र आत्मबल दिंदो रहेछ, ढिलो चाँडो भए पनि एक दिन निको हुन्छु भन्ने किसिमको आत्मबल बढाएको उहाँले बताउनुभएको थियो ।
त्यही भएर यस्तो बेला टाढै भए पनि एकअर्काले सहयोगी भावना देखाउनुपर्छ । तिमी मेरो जीवनको लागि महत्वपूर्ण छौ है भन्ने किसिमका कुरा गर्नुपर्छ । हामी टाढै भए पनि एकजुट छौं भन्ने खालको सन्देश प्रवाह गर्न महत्वपूर्ण हुन्छ ।
आफूमा कस्तो प्रकारको सोचाइ आएको छ ? सकारात्मक छ या नकारात्मक छ, आफैंले मूल्यांकन गर्नुपर्ने हुन्छ ।
कतिपय अवस्थामा आफूमा आएको आफूलाई मद्दत नगर्ने खालको सोचाइले झन स्वास्थ्य बिग्रिने, त्यस्तै खालको व्यवहार गर्न मन लाग्ने, झैझगडा हुन सक्ने, जाँडरक्सी खाने जस्तो बानी पर्ने देखिन्छ । त्यही भएर यस्तो बेला आफूमा आएका सोचाइहरु सकारात्मक हो या नकारात्मक हो भनेर आफैंले छुट्याउनुपर्छ । आफूलाई अलिकति विश्वास र सम्मान गर्ने हो भने यो समय विस्तारै पार लाग्छ ।
पहिले हामीले सबैभन्दा साधारण रोगको रुपमा रुघाखोकीलाई लिन्थ्यौं । क्यान्सरजस्ता रोगहरुलाई डरलाग्दो रोग भन्थ्यौं भने रुघाखोकीलाई सामान्य रोग भनेर टारिदिन्थ्यौं । तर जब कोरोना कोभिड १९ भन्ने भाइरस आयो, त्यसले धेरै मान्छेको ज्यान लगेको भन्ने भए पनि त्यो भन्दा धेरै गुना बाँच्न सफल हुनुभएको छ । त्यही भएर हामीले त्यो तथ्यांकलाई पनि बुझ्नुपर्ने हुन्छ ।
पहिले जसरी हामीले रुघा लाग्दा तातोपानी तताएर, बेसार अदुवा खाएर निको हुन्थ्यौं यसलाई पनि त्यही तरिकाले बुझ्नुपर्छ । त्यतिखेर हामीसँग आत्मबल हुन्थ्यो । अहिले पनि त्यही आत्मबलको खाँचो छ ।
यदि सङ्क्रमण भइहाल्यो भने उपचार कसरी गर्ने भनेर सोच्न एकदमै महत्वपूर्ण हुन्छ । समूहमा बस्दैमा सङ्क्रमण भइहाल्छ भन्ने पनि होइन । त्यसो हो भने त हामी परिवारमै पनि समूहमा बसिरहेका हुन्छौं । मानिस सामाजिक प्राणी हो त्यसैमा पनि विशेषगरी नेपाली झनै समूहमा बस्न रुचाउने हुन्छन् । यो बेला हामीले विशेषगरी डर शंका गर्ने, भविष्यमा के होला भनेर मात्र सोच्ने हो भने कोरोना भाइरस त थाहा छैन, मानसिक सम्बन्धी अरु रोग लाग्ने पक्का हुन्छ ।
त्यसैले अहिलेको समयमा आत्मबल कसरी बढाउने, मानसिक रुपमा कसरी स्वस्थ रहने भनेर ध्यान दिन एकदमै जरुरी छ ।
भोलि बाँचिने हो कि मरिने हो भन्ने खालको सोचाइ राख्यो भने पनि त्यसले हानी पुर्याउँछ । कतिपयले अहिले झन् बढी रक्सी पिएको, हानीकारक कुराहरु खाएको भन्ने कुराहरु पनि सुन्नमा आएका छन् । यसले कोरोना निको हुने होइन कि झन् बढी समस्या निम्त्याउँछ ।
केही भइहाले पनि साथीभाइ आफन्तसँग सल्लाह लिन जरुरी छ । तर आफैं आफैंबीचमा डराउने तर्सिने गर्दा झन् गाह्रो हुन्छ । परदेशमा त झन् धेरै समुहमा बस्ने गरेको हुन्छ । पहिले जसरी रमाएर, गफ गरेर बसिन्थ्यो अहिले पनि त्यसै गरी बस्नुपर्छ । काम छैन, भोलि के गर्ने भनेर चिन्ता लिने र त्यही बारे मात्र कुरा गर्ने गरेमा झन् बढी समस्या निम्त्याउने गर्छ ।
त्यहीभएर अहिलेको समयमा धैर्यता कामय गरी आफैंलाई र एकअर्कालाई सहयोगको भावनाहरु जुटाउन आवश्यक हुन्छ ।
हामीले दैनिक जीवनमा मृत्युको बारेमा सुनेको यो पहिलो घटना होइन । मोटरसाइकल दुर्घटना भएर ज्यान गयो भनेर हामी कति पटक सुन्थ्यौं, तर त्यसपछि हामीले मोटरसाइकल चलाउन त छाडेनौं नि । मैले पढेको थिएँ, संसारमा सबैभन्दा बढी डरलाग्दो किसिमले दुर्घटना हुने र बढी मानिस मर्ने भनेको नै मोटरसाइकलबाट हुँदो रहेछ ।
यसरी मर्ने क्रम त विभिन्न कारणले हुने गर्छ । केही दिन मान्छे मर्यो भनेर आफूमा असमान्य अवस्था आउनु भनेको त स्वभाविक नै हो । मानिसमा त्यो दुर्घटनाको मूल्यांकन गर्ने क्षमता हुन्छ । जसले गर्दा हामीलाई फेरि त्यही दुर्घटनाबाट जोगिन मद्दत गर्छ ।
तर त्यही कुराले लामो समयसम्म असर गर्यो दुईतीन हप्तासम्म असर गरिरह्यो भने त्यसले मानसिक रुपमा अस्वस्थता बढाउन सक्छ । त्यो अस्वस्था नबढाउनको लागि हामीले मानव जीवन अस्थिर हो, हाम्रो मृत्यु थाहा छैन भन्ने जस्ता कुरालाइ सोच्न र बुझ्न पनि महत्वपूर्ण हुन्छ ।
अहिले हामीले सक्नेजति आफूलाई सुरक्षित राख्ने हो । नियम, निर्देशनहरु पालना गर्ने हो , धैर्यता अपनाउने र छरछिमेका सकारात्मक कुराहरु बाँड्ने गर्नुपर्छ । तर एकजनाको मृत्यु हुँदा लामो समयसम्म त्यसले दिमागमा असर गरिरह्यो भने विशेषज्ञ सेवाको आवश्यकता नै पर्ने हुन्छ, होइन भने एकदुई दिन चिन्ता हुनु त स्वभाविक कुरा नै हो ।
(मनोविद कुँवरसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित । उहाँसँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ ।)
कुँवर मनाेविद् हुनुहुन्छ ।