धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – ‘चीनमा कोरोना आयो, मलेसियामा त के आउला !’ मलेसियामा कार्यरत दोलखाका हरि थापा ढुक्क हुनुहुन्थ्यो । तर चीनको वुहानबाट सुरु भएको कोरोना संसारका २१३ देशमा डढेलोजस्तै गरी फैलियो । संसारका विभिन्न देशहरु धमाधम लकडाउन हुन थाले ।
मलेसियामा पनि केही सङ्ख्यामा सङ्क्रमण पुष्टि भयो । मलेसिया सरकारले लकडाउन गरिदियो । म्यानुफ्याक्चर कम्पनीमा कार्यरत हरिको पनि काम रोकियो ।
परिस्थिति यस्तो भयो कि काम भन्दा ज्यान प्यारो भयो । ४२ दिनसम्म त उहाँ कोठामै बस्नुभयो । परदेशीका सपना एक हैन हजार हुन्छन् । परदेशीसँग परिवारका अरु सदस्यको पनि सपना जोडिएका हुन्छन् । तर कोरोनाले हरिजस्तै धेरै परदेशीलाई कोठामै थुनिदियो ।
‘त्यतिका दिन त, अब के हुने हो, घरै पनि जान नपाइने हो कि जस्तो लाग्यो,’ हरि भन्नुहुन्छ, ‘त्यतिका दिन कोठामा बस्दा त हामी डिप्रेशनमा पुगेका थियौं ।’
तर कम्पनीले ४२ दिनपछि विस्तारै कामहरु सुरु गर्यो । आलोपालो ड्युटी समय मिलाइदियो । काम खुल्दै गएपछि भने तनाव पनि थोरै भए पनि कम हुँदै गयो ।
अहिले त मलेसियाको जनजीवन सामान्य बन्दैछ । स्वास्थ्य सुरक्षाका लागि कडा नियम लागू गरिएको छ ।
‘कम्पनीमा पनि स्यानिटाइजरदेखि मास्क, पञ्जा लागयत सुरक्षाका उपायहरु अपनाएका छौं, हामी पनि अहिले त कोरोनाको बारेमा जानकार भएकाले होला डर कम हुँदै गएको छ ,’ जोखिमकै बीचमा काम गर्दा पनि हरि अहिले ढुक्क हुनुहुन्छ ।
मलेसियाबाट घर फर्कन तयार रहेका नेपालीबाहेक अरु सबै जना काममा जान थालेका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे बताउनुहुन्छ । मलेसियामा होटल रेस्टुरेन्ट, होटलको क्लिनिङ्को काम गर्ने केही नेपालीको भने रोजगारी गुमेको छ । तर अरु क्षेत्रमा भने अहिले काम सुरु भएको राजदूत पाण्डेले जानकारी दिनुभयाे ।
मलेसियाबाट झण्डै १२ हजार जनाले घर फर्कनका लागि दूतावासमा निवेदन दिएका छन् । उनीहरुमध्ये हिजोसम्म ५ हजार ९५७ जना स्वदेश आइपुगेका छन् । अब फर्काउनैपर्ने अवस्थामा पाँच हजारको हाराहारीमा रहेका छन् ।
तर यो कोरोना महामारी सुरु भएपछिको अवधिमा धेरैको करार सकिएको छ भने कतिपय भिसा क्यान्सिल गरेर घर फर्कन खोज्ने पनि छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । तर अब मलेसियामा कोरोना सङ्क्रमण घट्दै जानु र बजारहरु खुल्नुले पनि थप नेपालीको रोजगारी गुम्ने सम्भावना कम छ ।
खाडीको देश साउदी क्षेत्रफलको हिसाबले पनि ठूलो छ । यहाँ तीन लाख ५० हजारभन्दा धेरै नेपाली कार्यरत छन् । उनीहरुमध्येबाट समस्यामा परेर घर फर्कनका लागि लगभग १७ हजार जनाले दूतावासमा निवेदन दिएका छन् । उनीमध्येमा पनि सरकारले तोकेको प्राथमिकताको आधारमा छनोट गर्दा झण्डै ११ हजार जना मात्र घर फर्काउनुपर्ने अवस्थामा छन् ।
जम्मा कार्यरत नेपालीको सङ्ख्याको आधारमा घर फर्कन चाहने नेपालीको सङ्ख्या हेर्दा बाहिर देखिएजस्तो अवस्था नरहेको साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत बताउनुहुन्छ ।
अहिले त साउदीमा पनि बिस्तारै लकडाउन खुकुलो हुँदै गएको छ । उद्योगहरु खुल्न थालेका छन् । विस्तारै काम बढ्दैछ । अवस्था सामान्य हुँदै जाँदा घर फर्कन तयार रहेका श्रमिकहरु पनि साउदीमै बस्ने सोचमा पुगेको राजदूत सिंह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नेपालमा पनि जोखिम छ, यहाँ त अब विस्तारै अवस्था सुध्रदैछ, त्यसकारण पनि होला धेरै नेपाली साथीहरु बरु अलिक समय यहीँ कुर्ने र काम गर्ने भन्ने सोचमा समेत पुग्नुभएको छ ।’ त्यसले श्रमिकलाई विस्तारै यतै बसौं भन्ने सोच्न थालिसकेका छन् ।
साउदीमा कार्यरत नेपालीहरु पनि काममा फर्कन थालेका छन् । साउदीले नेपालीको उपचारमा कुनै कमी नराखेको र स्वास्थ्य सुविधा सबै देशका नागरिकलाई समान हिसाबले दिएको राजदूत सिंहले जानकारी दिनुभयो ।
साउदीमा रोजगारी गुम्दै नगुमेको अवस्था भने होइन । सुरुवाती दिनहरुमा साउदीमा मनोवैज्ञानिक त्रास थियो । सङ्क्रमण पनि बढिरहेकै थियो । तर पनि कलकारखाना कहिले पनि पूर्ण रुपमा बन्द भएनन् ।
तर होटल, पसल, सैलुन लगायतका क्षेत्र भने प्रभावित भए । उत्पादन क्षेत्रहरुले पहिलेको उत्पादनलाई कसैले ५० प्रतिशत त कसैले २५ प्रतिशतमा झारेर भए पनि उत्पादनलाई जारी राखे । कोही बन्द पनि भए । तर मझौला र ठूला उद्योग पूर्ण तरिकाले बन्द भने भएनन् ।
होटल, रेस्टुरेन्टजस्ता क्षेत्रमा केही नेपालीको रोजगारी गुमे पनि अन्य क्षेत्रमा नेपालीहरुले काम गरिरहे र अहिले केही समय बन्द भएका क्षेत्रहरु पनि खुल्न थालेका छन् ।
धेरै नेपालीको रोजगारीको गन्तव्य खाडीको अर्को देश कतारमा भने सङ्क्रमित नेपालीको सङ्ख्या पनि धेरै छ । एनआरएनएको स्वास्थ्य समितिको तथ्याँकअनुसार त्यहाँ झण्डै २१ २२ हजार नेपाली सङ्क्रमित भएका छन् । तर उनीहरुमध्ये २१ हजारभन्दा धरै निको भइसकेका छन् ।
सङ्क्रमण बढे पनि निको हुने नेपालीको सङ्ख्या पनि बढ्दो छ । तर विस्तारै कतार पनि खुल्दैछ । अगष्ट १ देखि उडानहरु पनि खोलेको छ कतारले । कतार खुल्दै गएपछि त्यहाँ कार्यरत नेपालीहरु पनि काममा फर्कन थालेका छन् । कोरोनाको जोखिम छ । जोखिमका बीचमा काममा जाँदा डर पनि छ ।
तर कोठामै बसेर परदेशमा चल्दैन । काम नगरी घरको चुलो पनि त बल्दैन । काममा जाँदा जोखिम छ । तर जोखिममा पनि केही खुसी मिलेको छ धेरैलाई । कतारमा कार्यरत अर्घाखाँचीका रामप्रसाद पराजुलीको कम्पनीले भने लकडाउनकै बीचमा पनि कोठामै बसेर काम गर्ने व्यवस्था मिलाइदियो ।
‘कम्पनीले श्रमिकको सुरक्षालाई ध्यानमा राखेर जुन नियम ल्यायो त्यसले महामारीका बेलामा हामीलाई निकै नै फाइदा पुग्यो,’ रामप्रसाद भन्नुहुन्छ ।
यूएईमा श्रमिकहरु विभिन्न तरिकाले पुग्छन् । कोही भिजिट भिसामा गएर काम खोज्ने छन् त कोही अन्य विभिन्न देशमा जाने भन्दै यूएई पुगेर अलपत्र पर्नेहरु छन् । यूएईमा यस्तै विभिन्न कारणले समस्यामा परेर अलपत्र हुने नेपालीको सङ्ख्या ठूलो छ ।
उनीहरुबाहेक कम्पनीसँग आवद्ध रहेका श्रमिकको भने काम सुरु भइरहेको छ । सेक्युरिटी, सर्भिस, औद्योगिक लगायतका क्षेत्रमा कोरोना महामारीका बेलामा पनि काम चलि नै रह्यो । होटल, रेस्टुरेन्ट लगायतका क्षेत्रमा केही नेपालीको रोजगारी गुमेको छ भने केही कम्पनीले श्रमिकलाई लामो बेतलबी बिदासमेत दिएका छन् ।
कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् । उनीहरुमध्ये महामारीका बेलामा घर फर्कन झण्डै १० हजार नेपालीले दूतावासमा निवेदन दिएका छन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर झण्डै ३ हजार जना स्वदेश फर्किएका छन् भने अहिलेसम्म आफ्नै खर्चमा त्यति नै संख्यामा घर आइसकेका छन् ।
अब घर फर्कनै पर्ने अवस्थामा लगभग चार हजार नेपाली रहेका छन् । बाँकीको भने काम सुरु भएको छ । कुवेतमा कतिपय घरेलु कामदारको रोजगारी गुमेको छ भने अन्य क्षेत्रमा साना होटल, रेस्टुरेन्ट, व्यूटी सैलुन लगायतका क्षेत्रमा कार्यरत श्रमिकको रोजगारी भने पूर्ण रुपमा बन्द भएको छ ।
यी क्षेत्रमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या सानो भए पनि अहिले ठूला कम्पनीहरुले पनि कोरोनाको कारण कर्मचारी कटौतीको नीति लिएकाले थप नेपालीको रोजगारी गुम्ने अवस्था छ भन्नुहुन्छ, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद राजदूत भण्डारी ।
अब रोजगारीको सम्भावना नै हुँदैन भनेर सोच्न नहुने बताउनुहुन्छ, साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत । अहिले पनि साउदी, कतार, कुवेत बहराइन जस्ता देशको श्रम बजार वैदेशिक श्रममा आधारित छन् । त्यसैले पनि साउदीजस्तो देशमा श्रमिकको माग भइरहन्छ ।
राजदूत सिंह भन्नुहुन्छ, ‘साउदीमा अहिले पनि तीन लाख ५० हजारभन्दा धेरै श्रमिकमध्ये जम्मा १७ हजार मात्र जान खोज्छन् भने, अहिले पनि यहाँ काम भइरहेका छ र अवस्था बाहिर देखिए जस्तो छैन भन्ने प्रमाण हो र भोलिका दिनमा पनि यहाँ माग छ र छिट्टै कामको अवसरहरु आउनेछन् ।’
अहिले सबै कम्पनीहरु खुलिसकेका त छैनन् । तर त्यसो भन्दैमा रोजगारीको अवसर नै छैन र अब फेरि रोजगारी नै नपाइने भन्ने अवस्था नरहेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण नियन्त्रणमा साउदीले चालेको कदम प्रशंसनीय रहेको र छिट्टै नै साउदीको अर्थतन्त्र पूर्ववत अवस्थामा फर्कने विश्वास उहाँको छ ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल पनि कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख रहेको र श्रम बजार पनि खुल्दै गएकाले विस्तारै नेपालीको रोजगारी पहिलेकै अवस्थामा पुग्ने बताउनुहुन्छ ।
यूएईले कोरोनासँगसँगै अर्थतन्त्रलाई पनि अघि बढाउन विभिन्न प्याकेजसहित योजना ल्याएको छ । पर्यटकका लागि यूएई खुलेको लगभग एक महिना पुग्न लागेको छ ।
कुवेतले पनि विभिन्न चरणमा लकडाउन र कर्फ्यु खुलाउँदै लगेको छ । अगष्ट १ देखि व्यवसायिक उडान खुलेको छ । तर नेपालसहित ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएकाले कुवेतको जान खोज्नेले अझै कुर्नपर्ने भएको छ । बहराइनले त नयाँ वर्क परमिट विदेशी नारिकलाई पनि दिने भनेको छ । अगष्ट १ देखि श्रम बजारमा आप्रवासी श्रमिकले पनि अवसर पाउनेछन् ।
कोरोनाको कहर सुरु भएसँगै भैरहेको काम एकाएक बन्द भयो । सुरुसुरुमा सबैलाई लाग्यो, दुई चार दिन बन्द होला, त्यसपछि कोरोना हट्छ र काम पनि पहिले जसरी चल्छ ।
तर त्यो दुई चार दिन त के, दुई चार महिना बितिसक्दा पनि अवस्था पहिलेजस्तो भएको छैन । तर पनि महिनौंपछि खाडीका देश र मलेसियाका कम्पनीका ढोकाहरु खुल्न थालेका छन् । कोठामा थुनिएका नेपालीहरु काममा फर्कन थालेका छन् ।
कम्पनी खुल्दा, काम हुँदा र कमाइको बाटो खुल्दा महिनौंदेखि कोठामा थुनिएको तन र मन शान्त भएको छ । रोजगारी गुम्ने पो हो कि, रित्तो हात घर फर्कन पर्ने हो कि भन्ने चिन्ता त कम भएको छ ।
तर कोरोना सङ्क्रमणको जोखिम भने झन बढेको छ । समस्यामा परिसकेका नेपाली श्रमिक भने सरकारले उद्धार गर्ने दिनको पर्खाइमा खाडीको चर्को घाम सहेर बसिरहेका छन् ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।