भदौ १६ पछि नियमित र उद्धार उडानबाट फर्कंदै हुनुहुन्छ ? यी कुरा जान्नुहोस्

 भदौ ११, २०७७ बिहीबार १४:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भदौ १६ पछि विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि नियमित उडान हुँदैछ । सरकारले नियमित उडानको तालिकासमेत सार्वजनिक गरिसकेको छ । तर नियमित उडानबाट फर्कन त्यति सजिलो छैन । नियमित उडानबाट फर्कनेले पालना गर्नुपर्ने सर्तहरु थुप्रै छन् । नियमित उडान सबै देशबाट हुने पनि छैन । 

यी देशबाट हुँदैछ नियमित उडान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ गतेदेखि ८ देशबाट नियमित उडान हुने जनाएको छ । मन्त्रालयका अनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारबाट नियमित उडान हुनेछ । २ सेम्टेम्बरदेखि ३० सम्ममा ६० वटा नियमित उडान हुनेछ । त्यसको तालिका पर्यटन मन्त्रालयले सार्वजनिक पनि गरिसकेको छ । 

नियमित उडानमार्फत फर्कनेले पालना गर्नुपर्ने सर्तहरु

  • ​पीसीआर रिपोर्ट नेगेटिभ हुनपर्छ

​सरकारले पीसीआर जाँच सहज भएका देशबाट नियमित उडान सुरु हुने जनाएको छ । त्यसैले अब मलेसिया, यूएई, कतार, टर्की, दक्षिण कोरिया, जापान, चीन र हङ्कङबाट नियमित उडान हुनेछन् र यी देशबाट फर्कनेको साथमा पीसीआर जाँचको रिपोर्ट नेगेटिभ भएको अनिवार्य हुनपर्छ ।

पीसीआर जाँचको रिपोर्ट ७२ घण्टाभित्रको हुनुपर्नेछ । पीसीआर नेगेटिभ भएको रिपोर्ट दिएपछि मात्रै सम्बन्धित वायुसेवाले बोर्डिङ पास दिनेछन् । पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरु काठमाण्डौको होटल क्वरेण्टीनमा बस्न पर्दैन, सिधै घर जान पाइन्छ । 

  • नियमित उडानबाट पीसीआर रिपोर्ट नभएका आउन नपाउने 


नियमित उडानमा पीसीआर रिपोर्ट नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको सर्त पालना नगरी यात्रुहरु ल्याउन पाइने छैन । यस्ता यात्रु ल्याएमा  एअरलाइन्स कम्पनीलाई कारबाही हुन्छ भने यात्रुको होटल क्वरेण्टीनको खर्चसमेत एअरलाइन्सले नै व्यहोर्नु पर्नेछ । 

अनलाइन फारम 

अब नियमित उडानबाट आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।

यी देशमा हुनेछन् चार्टर्ड उडान

सेप्टेम्बर २ देखि ३० सम्ममा २७ वटा चार्टर्ड उडान हुँदैछ । चार्टर्ड उडान विशेषगरी कोरोनाको पीसीआर सहज नभएका देशहरु त्यसमा पनि खाडीका देशमा हुँदैछ । कतारको दोहा, साउदीको तीन राज्य रियाद, दमाम र जेद्धा, ओमान र कुवेतबाट चार्टर्ड उडान तालिका तय भएको छ भने अर्को उडान माल्दिभ्सबाट पनि हुनेछ । 

यी देशमा पीसीआर सहज नभएको कारण सरकारले नियमित उडानको साटो चार्टर्ड उडान गर्न लागेको हो । तर पीसीआरको नेगेटिभ रिपोर्ट हुनेहरु कतारबाट नियमित उडानमा आउन पाउनेछन् । पीसीआर नेगेटिभ भएका र जाँच नगरेका यात्रु एकै विमानमार्फत फर्कन नपाउने भएकाले पनि कतारको हकमा नियमित र चार्टर्ड दुवै उडान हुन लागेको हो । 

पहिले कतारमा पीसीआर जाँच त्यति सहज नभए पनि पछिल्लो समय केही सहज भएकाले सरकारले कतारमा पनि चार्टर्ड उडान नगरी नियमित उडान नै गर्न सकिने बताएको छ । कतारमा रहेको नेपाली दूतावासले कोरोना पीसीआर गर्ने सकिने अस्पतालको सूची पनि सार्वजनिक गरिसकेको छ । 

चार्टर्ड उडानबाट फर्कंनेले होटल क्वरेण्टीनमा बस्नु पर्ने

अब एउटै जहाजबाट पीसीआर नेगेटिभ आएका र परीक्षण नै नगरेका यात्रु ल्याउन एअरलाइन्सले पाउने छैनन् । चार्टर्ड उडानबाटै फर्किए पनि ७२ घण्टा नकटेको पीसीआर रिपोर्ट नेगेटिभ छ भने काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नु पर्ने छैन ।

तर पीसीआर रिपोर्ट छैन भने चार्टर्ड उडानमार्फत कुवेत, साउदी, कतार, ओमान र माल्दिभ्सजस्ता देशबाट फर्कनेले काठमाण्डौमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नु पर्छ । सात दिन होटल क्वरेण्टीनमा बसेपछि पीसीआर रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित जिल्ला वा होम क्वरेण्टीनमा जान पाइन्छ भने रिपोर्ट पोजेटिभ आएमा आइशोलेसनमा बस्नुपर्छ । 

होटल खर्च :

  • इकोनोमी वा पर्यटकस्तर होटल :

सात रात र आठ दिनको लागि बस्दा दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति एक मुष्ट ११ हजार रुपैयाँ लाग्ने छ । यो रकम फिर्ता हुँदैन । एक जना मात्र बस्ने कोठाका लागि एकमुष्ठ १७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यो रकम पनि फिर्ता हुने छैन ।

यो अवधिभन्दा बढी बस्न परेमा दुई जना बस्ने कोठाको प्रतिव्यक्ति एक दिनको थप १५ सय रुपैयाँ र एक जना मात्र बस्नको लागि २५ सय रुपैयाँ लाग्नेछ ।

  • स्टार बुटिक होटल :

यो होटलमा एक जना बस्ने कोठाको लागि चार हजार रुपैयाँका दरले सात दिन बस्नु पर्नेछ भने दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति २५ सयका दरले शुल्क लाग्ने छ । सबै स्तरका होटल शुल्कमा एअरपोर्ट, होल्डिङ सेन्टरबाट सम्बन्धित होटलसम्म पिकअप खर्च समेत समावेश हुन्छ । 

होटलको भौचर पनि साथमा राख्नुहोस्

उद्धार उडानबाट नेपाल आउनेले हवाई टिकटसँगै विभिन्न रंगको होटल भौचर पनि साथमा लिएर आउनु पर्छ । इकोनोमी, पर्यटक स्तरको होटमा बस्नेले हरियो रंगमा सिंङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउनु पर्छ । स्टार, बुटिक होटलमा बस्नका लागि निलो रंगमा सिंङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउन पर्छ ।

तीन तारा वा त्यो भन्दा माथिल्लो तारास्तरको होटलमा बस्नेले बैजनी –पिंक रंग भएको भौचरमा तीन, चार वा पाँच तारास्तर भनेर स्पष्ट खुलाई सिङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउनु पर्छ । होटललाई तिर्नु पर्ने शुल्क पहिले नै बुझाउनु पर्नेछ ।

यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ ।

नेपाल आउने सबैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने भएको छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै  निर्देशनसमेत जारी गरेको छ । वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलको सूची सार्वजनिक भइसकेको छ । 

होटल क्वरेण्टीनबारे थप जान्न यहाँ क्लिक गर्नुहोस्

 

2 Comments

  • Santakumarkewat

    Aug. 30, 2020, 6:24 p.m.

    कम्पनीमा काम नभएर २ महिना बसेको र खानाको पैसा नदिएको , अहिलेसम्म अरुको सहारामा खाँदै बस्दै छु , मेरो घरमा पनि समस्या छ /

  • राज पुन

    Aug. 30, 2020, 10:36 a.m.

    महोदय, जुन नियमित उडान र चार्टर उडान भनिएको छ नि यस्मा कुनै आपत्ती छैन, आपत्ती यो कुरामा छ कि यहाँ (कतार) भएका नेपाल एम्बेसिका कर्मचारीले कहिले पनि फोन रिसिभ गर्दैनन, हरेक मानिशको आ- आफ्नै सम्स्या हुन्छन आफ्नो समस्या बताउनको लागि पनि कति पय ब्यक्तिले फोन सम्पर्क गर्न खोज्छ्न तर फोन रिशिभ हुदैन, इ- मेल मार्फत सम्पर्क गर्न खोज्यो कुनै रिपलाइ आउदैन यो त अलि कर्मचारीको लापर्बाही भएन र? कृपया ध्यानाकर्षण होस.

तपाईको प्रतिक्रिया