धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कैलाली – कैलालीको जानकी गाउँपालिका – ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसल्समा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उहाँको मासिक आम्दानी दुई लाख ५० हजारभन्दा बढी थियो ।
त्यो आम्दानी छोडेर स्वदेश फर्किएको झण्डै ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै एक करोडभन्दा बढी कमाएर फर्किनुभएका उहाँले अहिले स्वदेशमै त्यो लागनी लगाउनुभएको छ ।
स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको रकमको ठूलो हिस्सा उहाँले भैँसीपालनमा लगाउनुभएको छ । एक वर्षदेखि आफ्नै गाउँमा भैँसीपालन थाल्नुभएका विनोदको नमुना भैँसी फर्म छ । उहाँका अनुसार भँसीपालनमा अहिलेसम्म ८५ लाख खर्च भइसकेको छ ।
‘विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन, उहाँले भन्नुभयो, ‘विदेशमा १८ घण्टा काम गर्छौ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाई चाही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’
दिनमा ६० लिटरसम्म दूध बेच्नुहुन्छ भने उहाँले चार जनालाई रोजगारी पनि दिनुभएको छ ।
आफू पनि स्वरोजगार भएर अरुलाई पनि रोजगारी दिन पाउदा दंग हुनुहुन्छ विनोद । परदेशबाट देशमै केही गर्ने योजना लिएर फर्कनुभएका उहाँ परदेशमा लाखमा भन्दा गाउँमा आफ्नै परिवारको काँखमा खुसी हुनुहुन्छ ।
‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ,’ बिनोद भन्नुहुन्छ ।
टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्य गिरीले पनि पाँच वर्ष मलेसियामा रोजगारी गर्नुभयो । तर कमाएर सुन्दर भविष्य सजाउन परदेशिनुभएका उहाँको सपना पूरा हुन पाएन । मलेसियामै बिरामी पर्नुभयो । हातखुट्टा चल्न छोड्यो र काम गर्न नसक्ने भएपछि उहाँ स्वदेश फर्किनुभयो ।
पैसाको बिटो ल्याउने सपना बोकेर परदेशिनुभएका हिरण्य हालखुट्टा नचल्ने भएर फर्कनुभयो तर उहाँले हार भने मान्नुभएन । केही समयको उपचारपछि निको भयो । ज्यान सद्दे भएपछि उहाँले नेपालमै केही गर्ने योजना बनाउनुभयो । गाउँमै बङ्गुरपालन शुरु गर्नुभयो ।
झण्डै २२ लाख लगानीमा शुरु भएको ‘टप एग्रिकल्चर बङ्गुर फार्ममा’ अहिले ४५ बङ्गुर छन् । बङ्गुर फार्मबाट बच्चा उत्पादन गरेर बिक्री गर्ने उहाँको उद्देश्य छ । अहिले बङ्गुर फर्ममा पाठा उत्पादन हुन थालेका छन् । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ । तर अझै पाठा बेच्ने बेला भने आइसकेको छैन । ‘विभिन्न जिल्लाबाट किसानले माग गर्न थालेका छन्’
उहाँले भन्नुभयो, ‘थोरै मात्रामा बेच्न शुरु गरे पनि अहिल्यै बेचिसकेको छैन, जुन माग अहिले छ त्यसअनुसार उत्पादन हुनसके विदेशमा बिरामी भएर र यसै बिताएको समयको पनि म नाफा निकाल्न सक्ने अवस्थामा पुग्छु ।’ उहाँको चारजनाको परिवार बङ्गुर फार्ममै संलग्न छ ।
जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी पनि मलेसियाबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।
उहाँसँग पनि वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । २०६७ मा रोजगारीका लागि मलेसिया छिरेका प्रेमराज २०७१ सालमा स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि उहाँलाई के गरौँ र कसरी केही आयआर्जन गरौँ भन्ने कुनै अन्योल भएन । थोरै रकम कमाएर फर्किएका प्रेमराजको अढाई बिघा खेतबारी छँदै थियो । त्यसैले उहाँले तरकारीखेती शुरु गर्नुभयो ।
उहाँले शुरुआतमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पुर्याउने गर्नुहुन्थ्यो । त्यही तरकारी खेतीबाट भएको आम्दानीबाट केही समयपछि मोटरसाइकल किन्नुभयो र अहिले त्यही बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउनका लागि उहाँसँग मिनि ट्रक पनि छ ।
उहाँको चारजनाको परिवार तरकारी खेतीमा संलग्न छ । दुई जनालाई प्रेमराजले वर्षभरि नै रोजगारी दिनुभएको छ भने उहाँको तरकारी फार्ममा दैनिक ज्यालादारीमा काम गर्नेको सङ्ख्या पनि छ ।
उहाँको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनै बेला रोजगारीका लागि मलेसिया भासिनुभएका प्रेमराज अचेल गाउँमै रोजगारदाताका रुपमा चिनिनुभएको छ भने अहिले उहाँकै सिको गर्दै कैयौँ युवा तरकारी खेतीमा आकर्षित भएका भएका छन् ।
उहाँले गाउँमा उत्पादन भएको अन्य व्यवसायीको तरकारी समेत किनेर बजारसम्म पुर्याउनुहुन्छ ।
बारीमा यतिबेला बोडी, लौका, करेलालगायतका तरकारी टन्न फलेको छ । कोरोना महामारीका कारण देशमा केही समयअघि भएको लकडाउनका कारण भने उहाँको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन् । बारीमा फलेको तरकारी खपत हुनसकेको छैन । ‘लकडाउनले केही हदसम्म असर पारेको छ,’ उहाँले भन्नुभयो– ‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भइरहेको छ ।’
टीकापुर नगरपालिका–५ नुक्लीपुरका प्रकाश ओड यूएईको दुबईमा एक होटलको राम्रो जागिर छोडेर फर्किनुभयो । सन् २०१५ मा दुबई पुग्नुभएका ओड २०१९ मा स्वदेश फर्किनुभयो ।
उहाँले अहिले गाउँमै बाख्रापालन थाल्नुभएको छ । बाख्राबाट राम्रो आमदानी हुने भन्दै व्यावसायिक बाख्रापालनमा लाग्नुभएका उहाँले विदेशमा होटलको कामबाटभन्दा बाख्रापालनबाटै राम्रो आम्दानी गरिरहनुभएको छ ।
‘लोकल जातको बाख्राको नश्ल सुधारको कामको थालनी भइसकेको छ र यसका लागि दुई लाख ५० हजार खर्च गरेर अष्टे«लियाबाट बोयर जातको बोका ल्याएको छु’ उहाँले भन्नुभयो, ‘थप १५ ओटा बोयर जातको बाख्रासमेत मगाएको छु, केही दिनभित्रै आइपुुग्छ, मासु उत्पादन र बिक्री गर्ने मेरो लक्ष्य छ ।’
वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरण पात्र मात्रै हुन् । गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् र उनीहरुले विदेशमाभन्दा राम्रो आम्दानी र अझ त्योभन्दा पनि राम्रो सन्तुष्टि आर्जन गर्न सफल भएको देख्न सकिन्छ । उनीहरुमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।