अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
संखुवासभा – शिक्षा शास्त्र अन्तर्गत अंग्रेजी विषय लिएर स्नातकोत्तर गरेपछि धेरैको सोचाइ हुन्छ, शिक्षक बन्ने । शिक्षण पेशा गर्ने । विद्यालयमा, क्याम्पसमा पढाउने । तर संखुवासभाका दिपेन लिम्बूलाई भने शिक्षण पेशाले लोभ्याउन सकेन । 'मास्टर्स डिग्री' हातमा लिनुभएका दिपेनको मन कृषिले तान्योे ।
चैनपुर नगरपालिका–१ नुकढाकीका दिपेन र प्रदीप लिम्बूको दैनिकी बाख्रासँगको उठबसमै बित्छ । दुई जना साथीहरु मिलेर संयुक्त रुपमा व्यावसायिक बाख्रा पालन गर्नुभएको छ ।
प्रदीपले आफ्नो पढाइलाई अगाडि बढाउन सक्नुभएन । उहाँको पढाइ दश कक्षामै सिमित रह्यो । दिपेनले भने धनकुटा बहुमुखी क्याम्पसबाट शिक्षा शास्त्र अन्तर्गत अंग्रेजी विषय लिएर स्नातकोत्तर गर्नुभएको छ । केहि समय स्थानीय विद्यालयमा अस्थायी करार सेवा शिक्षण पेशा समेत अँगाल्नुभयो । तर शिक्षणमा दिपेनको मन लागेन । आफ्नै उद्यम गर्नुपर्छ भन्ने भावनाले उहाँलाई कृषितर्फ डोर्यायो ।
‘पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने हाम्रो समाजको मान्यताअनुरुप चल्न सकिएन’, दिपेन भन्नुहुन्छ, ‘सानो ठूलो जे भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोचेर बाख्रापालन थालेका हाैँ ।’
दिपेनको शिक्षण पेशामा मन जमेन । प्रदीपले भनेजस्तो काम पाउनुभएन । अनि दुवैजनाले वैदेशिक रोजगारीको लागि खाडीको तातो घाममा केही वर्ष पसिना पनि बगाउनुभयो । तर परदेशको बसाइ पनि त्यति फापेन । दुवैजना दुई वर्षमै स्वदेश फर्किनुभयो ।
नेपाल फर्केर अब आफ्नै पेशा गर्नुपर्छ भन्ने सोच थियो । त्यही अनुसार २०७५ सालमा जडिबुटे बोयर बाख्रा फर्म दर्ता गरि दुवै जनाले संयुक्त रुपमा बाख्रापालन शुरु गर्नुभयो ।
दुई साल पहिले जगतपुर बोयर फर्म चितवनबाट १ वटा बोयर बोका, २ वटा पाठा र १० स्थानीय खरी जातका माउ बाख्रा खरिद गरेर ल्याई व्यवसाय शुरु गरेको दिपेन लिम्बु बताउनुहुन्छ ।
अहिले जडिबुटे बोयर बाख्रा फर्ममा १० वटा खरी बाख्रा बढेर एक सय ५० वटा भन्दा बढी पुगिसके । ६० वटा वर्णशंकर र १० वटा शुद्ध बोयर जातका बोका र अन्य पाठापाठी छन् । बाख्राको लागि भनेर ४० रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका उन्नत घाँस पनि रोपेका छन् ।
दिपेनका अनुसार बाख्राको खोर निर्माण र माउ खरिद लगायत सबै जोड्दा करिब २० लाख रुपैयाँ जति लगानी लाग्यो । अहिले लगानी अनुसारको आम्दानी पनि राम्रै भएको दिपेन बताउनुहुन्छ । ‘व्यवसाय थालेको पहिलो वर्षमै आशा लाग्दो परिणाम पाएका थियौं, अहिले पनि सबै खर्च कटाएर वार्षिक रुपमा आम्दानी सरदर ६ लाख रुपैयाँ हुन्छ नै ।’
दुवैजना व्यवसायमा सन्तुष्ट हुनुहुन्छ । आफ्नै व्यवसाय गर्दा आनन्द पनि हुने र मेहेनत गरे चाहेको आम्दानी पनि लिन सकिने भएकाले व्यवसायलाई विस्तार गर्दै लैजाने उहाँहरुको भनाइ छ ।
‘भविष्यमा तीन सय वटा शुद्ध बोयर जातका बाख्रापालन गर्ने र व्यवसायलाई अझै बढाउने सोच रहेको छ’, दुवैजनाले आफ्नो भावी योजना सुनाउँदै एकै स्वरमा भन्नुभयो, ‘बाख्रा फर्मलाई संखुवासभा जिल्लाको नै नमूना स्रोत केन्द्रको रुपमा विकास गर्ने सोचेका छौं ।’
अहिले गाउँघरमा पढेलेखेका युवाहरु कोही काम नपाएर बेरोजगार बसेका छन् कोही कामको खोजीमा विदेशिएका छन् । नेपालमा केही अवसर नै नदेख्ने गरेको अवस्थामा दिपेन र प्रदीप लिम्बू भने उदाहरणीय बन्नुभएको छ ।
विदेशमा दुःख गरेर कमाउनुभन्दा स्वदेशमा अवसर खोजेर त्यही अनुसार मेहेनत गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिनेमा दुवैजना विश्वस्त हुनुहुन्छ ।
‘खाडीको ५० डिग्री भन्दा माथिको तातो गर्मीका जोतिनु भन्दा स्वदेशमा नै काम गर्न गर्व छ’ उहाँहरु भन्नुहुन्छ, ‘मिहेनत गर्ने र जाँगर चलाउने हो भने गाउँघरमा नै सुन फल्न सक्छ, मेहनती र स्वाभिमानी बनौं ।’
विदेशमा १६ घण्टा काम गरेर ३० हजार कमाउनु भन्दा आफ्नो क्षमता र सीप विकास गरी स्वदेशमै बेरोजगारी हटाउँदै प्रशस्त आम्दानी गर्न सकिने उहाँहरुको भनाइ छ ।
कृषि क्षेत्रमा संभावना धेरै छन् । चुनौति पनि उत्तिकै छन् । तर मन लगाएर काम गर्ने हो भने सरकारी सहयोग तथा अनुदान पनि प्राप्त गर्न सकिन्छ । दिपेन र प्रदीपको मेहेनत देखेर विभिन्न निकायले सहयोग गरेका छन् ।
हालसम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा र भोजपुरबाट उनीहरुलाई तीन दिने बाख्रापालन तालिम, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाबाट बाख्रा फर्मकाे लागि खोर सुधार कार्यक्रममार्फत दुई लाख रुपैयाँ अनुदान पाइसक्नुभएको छ ।
यसरी क्षमता देखाएर आउनेहरुलाई सरकारी निकायबाट पनि सजिलै सहयोग मिल्ने केन्द्रका प्रमुख हिमालय पोख्रेल बताउनुहुन्छ । दिपेन र प्रदीपको मेहेनत र लगनशीलताबारे प्रशंसा गर्दै पोख्रेल भन्नुहुन्छ, ‘यी दुई युवा संखुवासभा जिल्लामा नै नमूना सावित भएका छन् । अहिलेका बेरोजगार युवाहरुले उनीहरुको प्रगति देखेर सिकुन् भन्ने लाग्छ ।’
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।