पूजा महताे आईसीसीकाे 'टिम अफ द टुर्नामेन्ट' मा
माघ २१, २०८१ सोमबार
यस्तै छ परदेशीको जिन्दगी
बिरामी हुँदा न आमाको काख पाइन्छ
न त समस्या पर्दा बुवाको साथ
केवल पसिना बगाएर अलिकति धन पाइन्छ ।
न पियारीको माया पाइन्छ
न हडबडाउँदा दाजुको ढाडस
न ठेस लाग्दा भाइको काँध पाइन्छ
न आँसु पुछ्ने दिदीको पछ्यौरी
न थकान बिर्साउने बहिनीको माया पाइन्छ
केवल सबैसँग टाढा भएपछि अलिकति धन पाइन्छ ।
न घ्याम्पे हान्न साथीको साथ पाइन्छ
न चौतारीमा बसी सुसेल्न अल्लारे बैँस पाइन्छ
न रोदीमा गाउन पाइन्छ
न बाजाको तालमा नाच्न पाइन्छ
केवल खुसीको सट्टा अलिकति धन पाइन्छ ।
न दशैंमा ठूलाबडाको आशिष पाइन्छ
न तिहारमा दिदीबहिनीको हातको टीका
न ककनी मेला भर्न पाइन्छ
न फागुको होली खेल्न
केवल इष्टमित्रको ठाउँमा अलिकति धन पाइन्छ ।
न योग्यता अनुसारको काम पाइन्छ
न आफ्नो देशमा जस्तो मान पाइन्छ
न भनेजस्तो गर्न पाइन्छ
न चाहेजस्तो रम्न पाइन्छ
केवल आत्मसम्मान गुमाइ अलिकति धन पाइन्छ ।
चर्को घामले पोलेको विदेशीको पीडा
अनि त्यो पीडा आफ्नाले नबुझ्दा
उदास लाग्छ जिन्दगी ।
हो यस्तै छ,
परदेशीको जिन्दगी ।।
प्रकाश गौतम, पर्वत / हाल कोरिया