काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – महिलाले गर्ने काम के हो ? एक वर्ष अघिसम्म कसैले यो प्रश्न सोधे सिराहाकी गुलाबदेवी महरा भन्नुहुन्थ्यो, ‘घरधन्दा, बालबच्चाको रेखदेख ।’ उहाँलाई लाग्थ्यो यो भन्दा धेरै महिलाले गर्न सक्ने केही छैन ।
किनकि हजुरआमाले त्यसै गर्नुभयो, आमाले पनि त्यही गर्नुभयो । आमा र हजुरआमाको मात्र के कुरा उहाँको समुदायमा हरेक महिलाले गर्ने यही हो ।
र त गुलाबदेवीलाई पनि लाग्थ्यो – ‘मैले पनि गर्ने यही हो ।’
बिहेअघि गुलाबदेवी माइती गाउँमा एउटा स्कुलमा काम गर्नुहुन्थ्यो । आफ्नै कमाइले आफ्नो खर्च पुर्याउनुहुन्थ्यो । तर जब बिहे भयो, तब पढाइ र जागिर माइती मै छुट्यो ।
श्रीमानले भने,‘म काम गर्दै छु, अब तिमीले काम गर्न पर्दैन ।’ त्यसपछि गुलाबदेवीको दैनिकी घरको चौकुना भित्रै बित्न थाल्यो ।
दुई बालबच्चा भए । जिम्मेवारी र खर्च बढ्यो । श्रीमानको एक्लो कमाइले खान, लाउन र बालबच्चाको रेखदेखमा कठिनाइ हुँदै गयो ।
घरको आर्थिक अवस्था सुधार्ने एक मात्र विकल्प वैदेशिक रोजगारी थियो ।
‘घरमा श्रीमान् हुँदा यता उता ज्याला मजदुरी गर्ने हो, तर त्यो काम सधैँ हुँदैन थियो, बच्चाहरू भएपछि त खान पुग्नै छाड्यो,’ गुलाबदेवी भन्नुहुन्छ,‘त्यसैले श्रीमान् कतार जानुभयो ।’
साहुको ऋण बोकेर परदेशिनेलाई सोचेजस्तो छैन परदेश । तर त्यो भन्दा गाह्रो त श्रीमानको अनुपस्थितिमा एक्लै घर चलाउन पर्छ श्रीमतीलाई ।
घर, बालबच्चा, आर्थिक, सामाजिक हरेक पक्षको ख्याल गर्नुपर्छ एक्लैले । अझ मधेसी समुदायमा परदेश गएकाको घरका महिलालाई अझ गाह्रो छ । तर जहाँ अप्ठेरो त्यही भेटिन्छन् उपायहरू पनि । गुलाबदेवीलेजस्तै ।
गुलाबदेवीको गाउँमा श्रीमान् परदेशमा हुनेहरूका लागि सुरक्षित आप्रवासन परियोजनाद्धारा वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । कक्षा विदेशबाट रेमिट्यान्स प्राप्त गर्नेहरूका लागि थियो । जुन कक्षाले गुलाबदेवीको जीवको बाटो नै फेरिदियो ।
कक्षामा नबस्दासम्म उहाँको आफ्नै न कुनै उद्देश्य थियो न त लक्ष्य । बस, श्रीमानले परदेशबाट पैसा पठाउने दिन कुर्नुहुन्थ्यो । त्यही पैसाले आफ्नो र बालबच्चाको आवश्यकता पुरा गर्नुहुन्थ्यो ।
कक्षामा बस्न थालेपछि गुलाबदेवीले बचत गर्ने, खर्च घटाउने, विदेशबाट पठाएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने र आफैँले पनि कमाउने उपायहरू सिक्नुभयो ।
भन्नुहुन्छ,‘बचत गर्न पर्छ, थोरै पैसाबाट पनि खर्च चलाएर बचत गर्न सकिन्छ भन्ने नै थाहा थिएन, जुन कुरा मैले कक्षामा बसेपछि सिकेँ ।’
पैसा नै यस्तो चिज हो जसले श्रीमानलाई परदेश धकेल्यो । गुलाबदेवीलाई एक्लै बनायो । यस्तो परिस्थितिका बिचमा कमाइ त हुन थाल्यो । तर जति कमायो, उति नै सकियो । गुलाबदेवीको यो समस्याको समाधान वित्तीय साक्षरता कक्षाले दियो । कक्षामा बस्न थालेपछि उहाँलाई पनि लाग्न थाल्यो ‘अब श्रीमानले मात्र कमाएर हुँदैन ।’
सोच्नुभयो अब म आफैँ कमाउँछु, म पनि काम गर्छु ।
गुलाबदेवीमा आफैँ कमाउँछु भन्ने हिम्मत बढ्नुको एउटै मात्र कारण थियो हातमा भएको सीप । जुन सीपलाई प्रयोग गरेर कमाइ गर्न सकिने ज्ञान उहाँलाई वित्तीय साक्षरता कक्षाले नै दियो ।
‘मलाई लुगा त सिलाउन आउँथ्यो, तर बिहेपछि सीप भए पनि काम गर्न पाएको थिइनँ,’ गुलाबदेवी सुनाउनुहुन्छ, ‘कक्षामा बस्दै गएपछि मैले सिलाइको काम गर्न थालेको हुँ ।’
आफूले सोचेर मात्र हुँदैन । घरबाट बाहिर निस्कन त हजार पटक सोच्नुपर्छ । गुलाबदेवीलाई लाग्यो, समाजको डरमा बस्यो भन्यो आफू र आफ्नो बालबच्चाको भविष्य पछि पर्छ ।
श्रीमानसँग सल्लाह गर्नुभयो । कक्षामा सिकेको कुरा सुनाउनुभयो । आफूले गर्न थालेको बचत र व्यवसाय गर्ने योजना पनि श्रीमानसँग साट्नुभयो । यसपालि भने श्रीमानको साथ पनि मिल्यो ।
‘मैले सबै कुरा बुझाए, कुरा बुझेपछि त उहाँले पनि नाइँ भन्नुभएन,’ गुलाबदेवी खुसी हुँदै भन्नुहुन्छ,‘गलत काम नगर, सही काम गर्न केही पछि नपर भन्नुभयो, त्यसपछि मैले एउटा सानो पसल खोलेँ ।’
२०७७ चैतको अन्तिम साता गुलाबदेवीले बाटो छेउमा एउटा सानो पसल खोल्नुभयो । एउटा सिलाई मेसिन र अन्य कस्मेटिक सामानहरू राख्नुभयो । जुन गुलाबदेवीको सपनाको पहिलो खुड्किलो थियो ।
सुरुवाती दिनमा लुगा सिलाउने मानिस आउलान् कि नआउलान् भन्ने डर थियो । गाउँका महिलाले आफूले गरेको काम मन नपराउने हुन् कि भन्ने दुविधा पनि । तर ‘त आँट म पुर्याउँछु’ भन्ने भनाइजस्तै गुलाबदेवीलाई नसोचेको साथ मिल्यो ।
गुलाबदेवीको कामबाट गाउँका महिलासमेत प्रेरित भए । ‘म पनि काम गर्छु तिमीजस्तै’ भन्दै सुझाव माग्न आउनेहरू बढे ।
त्यसपछि त गुलाबदेवीले लुगा सिलाउने मात्र होइन गाउँका अरू महिलालाई सिलाइको सीप समेत सिकाउन थाल्नुभयो ।
अहिले त गाउँका थुप्रै महिलाले पनि गुलाबदेवीबाट सिलाई सिक्न थालेका छन् । आफूलाई देखेर अघि बढ्न खोज्नेहरू कतिलाई त शुल्क नलिएरै पनि सिकाउनुहुन्छ गुलाबदेवी ।
‘मैले जानेको कुरा अरूलाई सिकाइदिँदा उनीहरूले राम्रो गर्छन् भने किन नसिकाउने जस्तो लाग्छ,’ गुलाबदेवी आफ्नो अनुभव सुनाउनुहुन्छ ।
आफैँले काम नथाल्दासम्म गलाबदेवीको जीवन श्रीमानको भरमा थियो । एक पैसाको आवश्यकता पनि श्रीमानकै कमाइले पूरा गर्न पथ्र्यों ।
‘एक पैसाको लागि तड्पिन पथ्र्यों, श्रीमानले पठाए, दिए त खाने, लगाउने हो नत्र भोकै बस्नु पर्ने अवस्था पनि थियो,’ आफूले आम्दानी नगर्दाको त्यो क्षण सम्झँदै गुलाबदेवी भन्नुहुन्छ,‘श्रीमानको कमाइले नपुग्दा खानकै लागि ऋणसमेत गर्न पथ्र्यों ।
गुलाबदेवी आफैँले पौरख गर्न थालेपछि परिस्थिति फेरिएको छ ।
बिहान बेलुका छोराछोरीको होमवर्कदेखि खानपिनको व्यवस्थापन आफैँ गर्नुहुन्छ । दिउँसोको समयमा पसल खोल्नुहुन्छ । सामान बेच्नुहुन्छ । लुगा पनि सिकाउनुहुन्छ । सिक्न आउनेहरूलाई सिलाइको काम सिकाउनु पनि हुन्छ । यी सबै कामबाट महिनाको पाँचदेखि सात हजार कमाउनुहुन्छ ।
आफैँले कमाएको रकमले उहाँ घर खर्चदेखि बालबच्चाको स्कुलको शुल्क, लुगाफाटोसम्म पुर्याउनु हुन्छ । उहाँले घरको खर्च पुर्याउँदा श्रीमानले विदेशमा कमाएको बच्छ ।
‘एक वर्ष भइसक्यो मैले श्रीमानको कमाइ चलाउन परेको छैन, ऋण तिरेर उब्रिएको रकम बचत गरिरहेको छु, अब घडेरी किन्ने हो,’ आफ्नो योजना सुनाउनुहुन्छ उहाँ ।
अहिले गुलाबदेवीको घर सरकारी जग्गामा छ । घरभन्दा पनि टाउको लुकाउने टहरो छ भन्नुहुन्छ उहाँ ।
अब आफ्नै नाममा जग्गा किनेर एउटा राम्रो घर बनाउने सपना बुन्नु भएको छ उहाँले । अब यो सपना पूरा गर्ने दिन त्यति टाढा छैन जस्तो लाग्छ गुलाबदेवीलाई ।
श्रीमतीले आफैँले कमाउँदै, घर चलाउँदै, बचत पनि गरेको देख्दा कतारमा रहेका श्रीमान् पनि खुसी छन् ।
भन्छन्,‘यस्तै इमानदार भएर काम गर्नु, बालबच्चाको ख्याल गर्नु ।’
आफ्नो मेहनतमा श्रीमानले पनि साथ दिँदा थप राम्रो काम गर्न हौसला बढ्छ गुलाबदेवीलाई पनि ।
एक्ली महिलाले कमाउँदै बचत बढाएको देख्दा नराम्रो नजर पनि लगाउँछ समाजले ।
‘कतिपयले त नराम्रो पनि भन्ने गर्छन्, तर मलाई श्रीमानको साथ छ, उहाँले मलाई नराम्रो भन्नुभएको छैन,’ उहाँ भन्नुहुन्छ,‘मलाई पनि अरूले के भन्छन् भन्ने कुराको वास्ता लाग्दैन, गाउँमा त राम्रो गर्नेहरूसँग जल्नेहरू हुन्छन् नि, तर म मेरो बच्चाको भविष्यका लागि काम गर्छु ।’ किनकि गुलाबदेवीले तय गरेको सुन्दर भविष्यको बाटोमा हिँड्नु छ गुलाबदेवीलाई ।
आजकाल गुलाबदेवीको महिला र महिलाले गर्ने काम बारे सोच्ने तरिका फेरिएको छ । आफूले काम गर्न थालेपछि महिलाले बालबच्चा र घर व्यवहार धान्ने मात्र होइन, कमाउन पनि सक्ने रहेछन् भनेर सोच्न थाल्नुभएको छ । यही सन्देश गाउँका थुप्रै महिलालाई दिनु भएको छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।