चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
विदेश जाने, कमाउने र रमाउने सपना देख्दा निकै हन्डर खाएँ । आफ्नालाई विश्वास गर्दा धोका पाएँ । तर अरूको कुरामा भन्दा पनि हातको सीपमा विश्वास गर्नु पर्ने रहेछ भन्ने लाग्न थालेको छ आजकाल । उमेरले ३१ वर्षको भएँ ।
१२ कक्षा पास गरेपछि नै कमाइको बाटो समात्ने मेरो प्रयास सुरु भयो । जसको लागि म वैदेशिक रोजगारीमा जान चाहन्थेँ । विदेश गएर टन्न कमाउने सपना हर दिन जसो देख्थेँ । कमाउन चाहन्थेँ तर न हातमा कुनै सीप थियो न त विदेशको बारेमा ज्ञान नै ।
कहिले कोरियाको सपना देखेँ त कहिले जापानको । साथीभाइले भिसा मिलाएर पठाउने आश्वासन देखाए । विश्वासभन्दा ठुलो त कै नै छ र संसारमा । मलाई पनि होला झैँ लाग्यो ।
साथीभाइकै कुरामा विश्वास गरेर २/४ लाख रुपैयाँ फस्यो पनि । जब साथीभाइलाई गरेको विश्वासमाथि घात भयो तब मेरो आँखा खुले । कमाउँछु भनेर मात्र नहुने रहेछ । कमाउनका लागि कि त हातमा सीप कि त पढाइ हुन पर्ने रहेछ ।
अहिले त म पनि स्काफोल्डिङको सीप सिकिरहेको छु । यो सीप सिक्न पनि मलाई चिनेकै आफन्तले सुझाव दिनुभयो । उहाँले सीप भए पैसा कमाइ हुन्छ नत्र त विदेश नगए पनि हुन्छ भन्नुभयो ।
यतिन्जेल त विदेश जाने प्रक्रिया गर्दैमा बित्यो । अब सीप सिकेर मात्र विदेश जान्छु भनेर सीप सिक्न आएको हुँ ।
सीप सिक्न थालेपछि मेरो सोच र बिचारमा परिवर्तन आएको छ । आफूले आफैंलाई मूर्ख रहेछु भन्ने लाग्न थालेको छ । म पैसा कमाउन चाहन्थेँ तर सीप सिक्न इन्कार गरिरहेको थिए । वास्तवमा पैसा कमाउन सीप चाहिने रहेछ भन्ने कुराको अनुभव अहिले भइरहेको छ ।
विदेशको काम र कमाइको लोभ देखाएर यहाँ आफ्नैले फसाउने रहेछन् । विदेश जाने बेला आफ्नैको पनि विश्वास गर्नु गलत रहेछ । किनकि मैले पनि साथीभाइ र आफन्तको विश्वास नगरेको भए, सही तरिकाले विदेश गएको भए आजभन्दा चार पाँच वर्ष अघि नै म उडिसकेको हुन्थेँ । आजसम्म त मैले कमाइ पनि गरिसकेको उङ्थेँ । तर कहिलेकाहीँ हामीलाई समयले निकै घुमाउने रहेछ र त्यही समयले सबै कुरा सिकाउने रहेछ ।
सीप सिक्दै छु । अब स्काफोल्डिङकै काममा जानका लागि अन्तर्वार्ता दिन्छु । कहाँ पास हुन्छ त्यही देशमा जान्छु । तर दाइहरू कतारमा भएकाले कतारमा मिले हुन्थ्यो भन्ने लागेको छ । हेरौँ कसो हुन्छ ।
सीप सिकेर जाँदा त्यहाँ गएर भने अनुसार कै काम र दाम पाउँछु भन्ने विश्वास छ । त्यहाँ पुगेपछि मलाई भने अनुसारको काम भएन भने म यो कामका लागि आएको हुँ मलाई यही काम देऊ नत्र फर्किन्छु भन्न पनि हकले पाउँछु ।
टे«डको काममा जाँदा सबै कुरा राम्रो नै हुन्छ भन्ने विश्वास छ मलाई । यदि सीप नसिकी जाने हो भने त उसले जे काम लगायो त्यही काम गर्नु पर्ने हुन्छ । किनकि मसँग सीप छैन भने त मैले ठुलो कुरा गर्न पनि त मिलेन ।
सुरक्षित आप्रवासन परियोजना सामीमार्फत निःशुल्क सीप सिक्ने अवसर छ । खान, बस्ने व्यवस्थासहितको सीप तालिम लिन म जस्तै वैदेशिक रोजगारीको सपना देख्ने अरू युवालाई पनि म अनुरोध गर्छु । हातमा सीप छ भने विदेश जानु रहेछ नत्र त विदेशको सपना देख्नुको कुनै अर्थ छैन जस्तो लाग्छ मलाई त ।
म जहिले पनि घमन्ड गर्थेँ । सीप किन सिक्न पर्यो र जस्तो लाग्थ्यो । तर आज हातको सीप विदेशको कमाइभन्दा ठुलो रहेछ जस्तो लाग्न थालेको छ ।