यूएईमा अलपत्र श्रीमानको उद्धारको गुहार माग्न दुई महिने छोरो च्यापेर कैलालीदेखि काठमाण्डौसम्म

 मंसिर १, २०७८ बुधबार १६:३५:५४ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – ‘हाम्रो यहाँ बिजोग भइसक्यो, जतिसक्दो छिटो हामीलाई नेपाल झिकाऊ ।’ 

कमाउन भनेर यूएई गएका श्रीमान् चन्द्रबहादुरले यसो भन्दा २५ वर्षे भागीरथी बोहोराको मन खङ्ग्रङ्ग भयो । 

कमाउला, जमाउला भन्ने सपना बाँडेर दुई लाख १० हजार ऋण काँधमा बोकी गरेका श्रीमानको बिजोग होला भन्ने कुरा भागीरथीको कल्पनाभन्दा बाहिरको थियो । लाखौँ रुपैयाँ तिरेर विदेश जाँदा राम्रो काम पाउनुको साटो अलपत्र परेको पहिलो चोटि सुन्नुभयो उहाँले । त्यो पनि आफ्नै श्रीमान्, भाइ, भिनाजु र आफ्नै गाउँका अन्य ।

विदेश जान्छु भन्दा पो पठाउनेहरू घरमै आइपुग्थेँ । अब विदेशमा अलपत्र परेका मानिसको उद्धार कसले गर्ला ? भागीरथीको दिमाग शून्य भयो ।

पठाउने एजेण्टले काम नलगाइदिए पनि नेपाल ल्याइ पो दिन्छन् कि भन्ने आसले फोन लगाउनुभयो । तर एजेण्टले फोन उठाएनन् । 

जाने कहाँ, भन्ने कसलाई, उद्धार कसरी हुन्छ ? कुनै पनि बाटो थाहा थिएन उहाँलाई । 

तर पनि थाहा छैन भनेर चुप लागेर बस्न सक्ने अवस्था रहेन । कमाउन गएका श्रीमानको रोडमा बस भएको छ । 

भागीरथीले श्रीमानलाई ढाडस दिँदै भन्नुभयो,‘तपाईँ नआत्तिई बस्नु, म अब काठमाण्डौ जान्छु र तपाईँलाई जसरी पनि नेपाल ल्याउँछु ।’

एजेण्टले दिएको आश्वासन

कैलालीको गौरीगङ्गा नगरपालिका १ हो भागीरथीको घर । दुई महिना अघिसम्म भागीरथीको घरको माहौल फरक थियो । श्रीमान् साथैमा थिए । सानोतिनो व्यापारबाट घर खर्च टरेकै थियो । तर उनीहरूको सानो संसारमा ठुलो आशाको दियो बालिदिए एजेण्ट राजीव क्षेत्री(वास्तविक नाम राजीव विष्ट)ले । 

राजीव भागीरथीका भाइका साथी हुन् । भाइसँग राजीवले कतारमा सँगै काम गरेका थिए । भाइको साथी भएका नाताले राजीवसँग फेसबुकमा कुरा हुन्थ्यो भागीरथीको  । कतारबाट फर्किएपछि एजेण्टको काम गरिरहेका राजीवले भागीरथीका श्रीमानलाई पनि राम्रो काममा विदेश पठाइदिने आश्वासन दिए । 

‘पहिला त उनले भने कि कतार पठाइदिन्छु राम्रो कामको अफर आएको छ,’ भागीरथी भन्नुहुन्छ,‘उसको कुरा हो जस्तो लाग्यो हामीले पनि उसले भनेअनुसार नै प्रक्रिया अघि बढायौँ ।’

‘यो भिसा पनि श्रम स्वीकृति जस्तै हो, कम्पनीको छाप हुन्छ, तपाईँहरू ढुक्क हुनुस् भने, काम तपाईँले पाउनुहुन्छ भनेपछि होलाजस्तो लाग्यो नि,’ दुःखी भावमा भागीरथी भन्नुहुन्छ ।

भागीरथीका श्रीमानसँगै एकै गाउँका अन्य ७ जना पनि विदेश जाने भए । ७ जनालाई नै राजीव क्षेत्रीले कतार पठाउने कुरा भयो । सुरुमा कतार भने पनि भिसा यूएईको आयो । भिसा भने भिजिट थियो ।

भिजिट भिसामा जाँदाको अप्ठेराबारे खास जानकारी थिएन उनीहरूलाई । 

भागीरथीका अनुसार एजेण्टले यूएई बेकरीको काम लगाइदिने बताएका थिए । 

‘यो भिसा पनि श्रम स्वीकृति जस्तै हो, कम्पनीको छाप हुन्छ, तपाईँहरू ढुक्क हुनुस् भने, काम तपाईँले पाउनुहुन्छ भनेपछि होलाजस्तो लाग्यो नि,’ दुःखी भावमा भागीरथी भन्नुहुन्छ ।

सातै जनाले प्रतिव्यक्ति दुई लाख १० हजार रुपैयाँ बुझाए । एजेण्टले फरइभर ह्युमन रिसोर्स सोलुसन प्रालि म्यानपावरबाट पठाउने हो भनेका थिए । एजेण्टकै भरोसामा दुई महिनाअघि भागीरथीका श्रीमान्, भाइ, भिनाजु र गाउँका अन्यसहित सात जना भिजिट भिसामा उडे ।

तर यूएई पुगेको एक साता पनि नबित्दै रोडको बास भयो भन्ने खबर सुनेपछि भने भागीरथीलाई आफूमाथि भइरहेको हरेक कुराहरू सपना झैं लाग्न थाल्यो । 

‘एअरपोट पुग्नासाथ समस्या भएछ, एजेण्ट लिनै आएनछन्, जसोतसो कता कता सम्पर्क गरेर कोठासम्म त जानुभएछ, तर त्यहाँ त उहाँहरूजस्तै ५०÷६० जना अरू पनि रहेछन् रे,’ श्रीमानले फोनमा भनेको कुरा सुनाउनुहुन्छ भागीरथी ।

कोठामा बसेको करिब एक हप्ता पछि झन् अर्को समस्या भएको खबर आयो । ‘ती एजेण्टहरुले भाडा नै तिरेका रहेन छन्, अनि त्यो कोठाबाट पनि उहाँहरूलाई निकालिदिए छ, हामी त रोडमा छौँ भन्दै फोन गर्नुभयो,’ भागीरथी भन्नुहुन्छ,‘ म त रुन पनि सकिनँ, केही भन्न पनि सकिनँ, सोझा मानिसलाई त एजेण्टले बेचेर खाने रहेछन् ।’

चार दिनसम्म रोडमै बित्यो । त्यसपछि भने अलपत्र परेका उनीहरूको खबर गैर आवासीय नेपाली सङ्घ एनआरएनएसम्म पुग्यो । भागीरथीका श्रीमानसहित सातै जनालाई गैर आवासीय नेपाली सङ्घ एनआरएनएले बास र गाँसको व्यवस्था गर्‍यो ।

एजेण्टले बोल्ने झुट 

श्रीमान् उता समस्यामा परेपछि भागीरथीले राजीव क्षेत्रीसहित रिता राई लगायतका आफूसँग सम्पर्कमा भएका एजेण्टलाई पटक पटक सम्पर्क गर्नुभयो । 

भएको के हो र अब गर्ने के भनेर सल्लाह लिन पनि खोज्नुभयो । तर एजेण्टले झुटो आश्वासन दिन छाडेनन् । 

कहिले एक दुई दिनमा काममा लगाइदिन्छु भन्ने त कहिले अब नेपालबाट नै मानिस गएर त्यहाँ काम लगाइदिनेसम्म आश्वासन दिए  ।

‘राजीव क्षेत्रीले त मलाई अर्को दीपावलीमा भाइटिका लगाउँछु बहिनीसम्म भन्यो, उता बुढोलाई अलपत्र परेको छ यहाँ मलाई बहिनी बनाएर टीका लगाउँछु भन्छन् एजेण्ट, कतिसम्म झुट बोल्न सक्छन् भन्ने त यहीबाट थाहा हुन्छ ।’

‘आज आज भन्ने, भोलि भोलि भन्ने, नानी, बाबु आज हुन्छ भोलि हुन्छ भन्ने, कुरा त यति मीठा गर्ने कि कुरै नगरौँ तर व्यवहारमा एउटा कुरा पनि नहुने,’भागीरथी एजेण्टले दिएको आश्वासन सम्झँदै भन्नुहुन्छ,‘राजीव क्षेत्रीले त मलाई अर्को दीपावलीमा भाइटिका लगाउँछु बहिनीसम्म भन्यो, उता बुढोलाई अलपत्र परेको छ यहाँ मलाई बहिनी बनाएर टीका लगाउँछु भन्छन् एजेण्ट, कतिसम्म झुट बोल्न सक्छन् भन्ने त यहीबाट थाहा हुन्छ ।’

बिस्तारै एजेण्टले गर्ने व्यवहार पनि फेरिँदै गयो । फोन उठाउन छाडे । केही समयपछि मोबाइल नै अफ गरे । कहिलेकाहीँ सम्पर्क भइहाले पनि छोटो कुरा गर्ने, सकेसम्म फोनमा भन्दा पनि म्यासेजमा कुरा गर्ने गर्न थाले एजेण्टले ।

काम भइहाल्छ भने भन्ने आशै आसमा दुई महिना बित्न लाग्यो । न काम न खाने बस्ने टुङ्गो । पासपोर्टमा लागेको एक महिनाको भिजिट भिसासमेत सकियो ।

त्यसपछि भागीरथीका श्रीमानले यूएईबाट आफूलाई नेपाल झिकाउने प्रक्रिया गर्न श्रीमतीलाई आग्रह गरे ।

एजेण्टले फोन उठान छाडेपछि भागीरथीले कैलालीमा बसेर श्रीमानको उद्धार गर्न सकिने देख्नुभएन । 

दुई महिने बच्चा बोकेर कैलालीदेखि काठमाण्डौसम्म

भौगोलिक दूरीका हिसाबले पनि कैलालीदेखि बस चढेर काठमाण्डौसम्मको यात्रा गर्न सजिलो छैन । अझ भागीरथी त दुई महिनाको सुत्केरी । काखमा दुई महिने छोरो छ । घरमा अरू स–साना दुई बालबच्चा पनि । 

अरूलाई पठाउ न त भन्दा पनि आइदिने कोही छैनन् । सासुससुरा बितेको १२ वर्ष भइसक्यो । भएको एक जना भाइ पनि यूएईमा अलपत्र । बुवा आमा वृद्ध । भागीरथीले सोच्नुभयो ‘जे सुकै होस् म आफैं काठमाण्डौ जान्छु ।’

काठमाण्डौ आएर न्याय माग्न जाने कहाँ हो पनि थाहा छैन । काठमाण्डौ कति टाढा छ भन्ने अन्दाज पनि थिएन भागीरथीलाई । तर परदेशी भूमिमा अलपत्र परेका श्रीमानको पीरले भागीरथीलाई यस्ता कुरामा अल्झन दिएन । 

‘सुत्केरी ज्यान, यति सानो बच्चा, चिसो मौसम अनि बसमा यात्रा सजिलो छ कहाँ भयो र, भात न पानी हुँदै छाद्दै रुँदै आइयो नि,’ भागीरथी आफ्नो बाध्यता सुनाउनुहुन्छ,‘अर्काको देशमा श्रीमान् अलपत्र छन्, खानै पाएको छैन भन्छन्, सुत्केरी छु भनेर मन कहाँ मान्छ र ।’

श्रीमानसँगै परदेशमा अलपत्र परेका गाउँका अन्यका परिवारलाई पनि न्याय माग्न काठमाण्डौ जाउँ भन्नुभयो । उहाँको कुरामा सबै जना सहमत भए । सबैले काठमाण्डौ आउने तयारी गरे ।

भागीरथीले पनि समूहबाट ४० हजार ऋण काढ्नुभयो । र दुई महिने छोरो च्यापेर गाउँका अन्य ६ जनासहित गएको बुधबार काठमाण्डौ आउने गाडी चढ्नुभयो । 

‘सुत्केरी ज्यान, यति सानो बच्चा, चिसो मौसम अनि बसमा यात्रा सजिलो छ कहाँ भयो र, भात न पानी हुँदै छाद्दै रुँदै आइयो नि,’ भागीरथी आफ्नो बाध्यता सुनाउनुहुन्छ,‘अर्काको देशमा श्रीमान् अलपत्र छन्, खानै पाएको छैन भन्छन्, सुत्केरी छु भनेर मन कहाँ मान्छ र ।’

काठमाण्डौको आएपछि चिनजानका एक जनाले वैदेशिक रोजगार विभागमा जान पर्ने बताए । त्यसपछि भागीरथीसहित सँगै आएका अन्य पनि शुक्रबार वैदेशिक रोजगार विभागको कार्यालयमा आए ।

वैदेशिक रोजगार विभागसँगै रहेको पिपल फोरमले निवेदन लेख्न र विभागमा दर्ता गर्न सघायो । निःशुल्क रूपमा यति सहयोग पाउँदा पनि निकै सहारा भएको छ भागीरथीलाई । 

पिपल फोरमले नै अब हुने बाँकी प्रक्रियाबारे सुझाएको छ, भने सहयोग गर्छौँ पनि भनेको छ । 

भागीरथी भन्नुहुन्छ,‘काठमाण्डौ आउँदा यति ठुलो सहरमा कहाँ जाने होला जस्तो लाग्थ्यो, तर अहिले त मनमा अलिकति पनि शान्ति मिलेको छ ।’

भागीरथीसहित उहाँका गाउँमा अन्य साथीहरू अहिले बसपार्कको एक होटलमा बसेर विभागको कार्यालय धाइरहनुभएको छ । 

एजेण्ट रिता राईको नाममा वैदेशिक रोजगारीका लागि भनेर रकम बैंकमार्फत हालिदिएको प्रमाण भएकाले पनि भागीरथीलाई न्याय पाइएला भन्ने झिनो आशा छ । 

विभागले फरइभर ह्युम्यान रिसोर्स सोलुशनसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । 

भन्नुहुन्छ ‘काठमाण्डौबाट श्रीमानसँगै कैलाली फर्कन पाए हुन्थ्यो भन्ने छ, हेरौँ अब के हुन्छ ।’

तर काठमाण्डौमा सानो बच्चा लिएर होटलमा बस्दै विभागको कार्यालयमा आउजाउ गरिरहन सजिलो छैन । 

उता श्रीमानको अवस्था सुन्दा निवेदन दिएर घर फर्किइहाल्न पनि मनले मान्दैन । 

छोरो बिरामी भएपछि भने भागीरथीलाई अर्को चिन्ता थपिएको छ । 

‘उता तातो थियो,यत्रो बसको यात्रा गरेर आउँदा यहाँ फेरि चिसो भयो, बाबुलाई रुघा खोकी र ज्वरोले सताइरहेको छ, अस्पताल त लगेको छु,’ भागीरथी भन्नुहुन्छ,‘यस्तो होला भन्ने त सोचेको भए त म विदेश पठाउने नै थिएन ।’

यति टाढा नआउनु आइसकेपछि श्रीमानलाई स्वदेश फर्काएर छाड्ने अठोट लिनुभएको छ उहाँले ।

नजानेरै एजेण्टको कुरामा विश्वास गर्दा भोग्न परेका दुःख र हैरानी सम्झँदा भागीरथीलाई पछुतो लाग्छ । अहिलेसम्म जे भए पनि अब राम्रोसँग श्रीमान् स्वदेश आइदिए हुन्थ्यो भन्ने कामना गर्नुहुन्छ । 

भन्नुहुन्छ ‘काठमाण्डौबाट श्रीमानसँगै कैलाली फर्कन पाए हुन्थ्यो भन्ने छ, हेरौँ अब के हुन्छ ।’

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया