उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
कमाउन परदेश जानेहरुको कमाइले उसको घर मात्रै होइन, देशकै अर्थतन्त्र धानेको छ । वैदेशिक रोजगारीकै कारण दुर्गम गाउँठाउँका बासिन्दाको शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ । तर वैदेशिक रोजगारीको सकारात्मक पाटा मात्रै छैनन्, नकारात्मक पाटा पनि उत्तिकै छन् । श्रमिकको मृत्यु, अपाङ्गता, परिवारिक विखण्डन, पारिवारिक झगडा, लामो समयसम्म छुटेर बस्दा सम्बन्धमा तनाव लगायतका असर एकातिर छन् भने अर्कोतिर, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले विभिन्न सामाजिक लाञ्छना खेप्नु परेको छ ।
पुरुषजस्तै महिला पनि यदि कमाउन वैदेशिक रोजगारीमा गइन भने उनीमाथि कुनै न कुनै खालको हिंसा तथा दुव्र्यवहारमा भएको हुन्छ भन्ने नकारात्मक सामाजिक धारणा रहेको छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीले रेमिट्यान्सको दुरुपयोग गरेको, फजुल खर्च गरेको भनेर टिका टिप्पणी गर्ने, परपुरुषसँग सम्बन्ध कायम गरेको भन्ने जस्ता लान्छना कतिपय महिलाले भोग्न परेको छ ।
रेमिट्यान्सको सही प्रयोग र यसले देश विकासमा पु¥याएको योगदानको चर्चा भए पनि वैदेशिक रोजगारीसँग सम्बन्धित नकारात्मक सामाजिक धारणा कम गर्ने विषयमा भने त्यति ध्यान पुग्न सकेको छैन ।
परिवारका सदस्यहरु त्यसमा पनि विदेशमा रहेका श्रमिकका श्रीमतीहरुलाई श्रीमान विदेशमा हुँदा आएको रेमिट्यान्स दुरुपयोग गरे भनेर समाजमा कुरा काट्ने गरिन्छ । त्यसले गर्दा उहाँहरु नयाँ लुगा लगाएर बाहिर निस्किँदा समेत धेरै सोचेर हिँड्नुपर्ने । योसँगै परपुरुषसँग लागेको आरोप पनि खेप्न पर्छ कतिपयले ।
विदेशमा श्रीमान हुँदा घरमा छाना बिग्रियो भने पुरुष कामदार ल्याएर, त्यसको सहयोगमा छाना बनाउँदा पनि उसैसँग जोडेर लाञ्छना लगाइदिने गरेको पाइन्छ । यस्तै कसैसँग केही कामले सँगै हिँडेको देख्दा, बोल्दा मात्रै पनि परपुरुषसँग लागेको आरोप लाग्ने गरेको छ । यस्ता कुराहरु नै सामाजिक लाञ्छना हुन् । यसले गर्दा समाजमा एकदमै नकारात्मक असर परेको छ ।
एकआध घटनालाई लिएर सबै महिलाहरु यस्तै हुन्छन्, सबै विदेशमा बसेका पुरुषका श्रीमतीहरु यस्तै हुन्छन् भन्ने दृष्टिकोणले परिवारमा एकदमै नकारात्मक असर परेको छ । त्यसले परिवार विखण्डन हुने अवस्थाहरु सिर्जना भएका छन् । महिलालाई यस्तो आरोप आउँदा श्रीमानले पनि बोल्न छाडिदिने, श्रीमानले त्यसरी नबोलिदिँदा एक्लो महसुस हुने । विस्तारै श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिन थाल्छ । विदेशमा रहेका श्रीमानले त्यसपछि फोन गर्न छाडिदिने, पैसा पठाउन छाडिदिने गरेको पाइन्छ । जसले गर्दा छोराछोरीको स्कुल खर्च, घरपरिवारको दैनिक खर्च पुर्याउन गाह्रो हुँदा महिलाहरुलाई मानसिक तनाव परेर निन्द्रा नलाग्ने, खान मन नलाग्ने हुन्छ । यतिमात्रै नभएर यस्ता आरोपले महिलामा आत्महत्याकै सोच समेत आउने गरेको, परिवार नै बिथोलिएको पाइन्छ ।
श्रीमान श्रीमतीको सम्बन्धले बच्चामा पनि नराम्रो असर पर्न जान्छ । तिम्री आमा त कस्ती रैछिन, जस्ता निकृष्ट कुराहरु सुन्नुपर्दा उनीहरुको बालमस्तिष्कमा पनि नराम्रो असर पर्छ । त्यसले गर्दा उनीहरुको शिक्षामा, हुर्कामा विभिन्न बाधा ल्याउँछ ।
यस्ता प्रकारका लाञ्छना महिलालाई मात्र नभएर पुरुषलाई पनि लाग्ने गरेको छ । हाम्रो नेपाली समाज पितृसतात्मक छ । महिलाहरु विदेश जानुलाई राम्रो मान्दैन । महिलाहरु विदेश गए बिग्रिन्छन्, हिंसामा पर्छन्, गर्भवती भएर फर्किन्छन्, बच्चाहरु लिएर फर्किन्छन् भन्ने किसिमको नकारात्मक सोच छ । यस्तै श्रीमती विदेशमा गएकाका श्रीमानले पनि त्यस्तै आरोप खेप्न बाध्य हुन्छन् । उहाँहरुलाई पनि समाजले श्रीमतीलाई विदेश पठायो, श्रीमतीको कमाइ खाएर बस्यो भन्ने जस्ता आरोप लाग्ने गरेका छन् । यसले गर्दा पनि उनीहरुमा मानसिक असर परेको देखिन्छ । उनीहरुलाई पनि मनोसामाजिक परामर्शको आवश्यकता पर्छ ।
सामाजिक लाञ्छनाका विभिन्न कारणहरु छन् । मुख्य त पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक छ, त्यो एउटा कारण हो । श्रीमान् विदेशमा हुँदाखेरि महिलाहरुले बजार जानुपर्ने, सरकारी कार्यालय धाउनुपर्ने, बैंक धाउनुपर्ने, पुरुष कामदारको सहयोग लिनुपर्ने जस्ता कुरा नपचेका कारण यस्ता लाञ्छनाहरु लागेका हुन् । महिलाहरुलाई यस्तो लाञ्छना लाग्दा कानुनी सेवाहरुको कमी छ । कहाँ गएर उजुरी दिनुपर्ने भन्ने थाहा हुँदैन । यस्तो सामाजिक लाञ्छना लाउनु अपराध हो भन्ने कुराको ज्ञानको पनि कमी छ ।
यस्ता लाञ्छनाबाट बच्न सबैभन्दा पहिला त घरपरिवारबाटै बुझ्नुपर्ने हुन्छ । कसैलाई लाञ्छना लागेको छ भने त्यो सही हो या होइन, त्यसमा विवेकपूर्ण बझुाइ हुनुपर्छ । हल्लाकै पछि दौडेर परिवार बिथोल्नु हुँदैन । परिवारको आड भरोसा चाहिन्छ महिलालाई । सासुससुरा, देवर, देउरानी, जेठाजु को को हुनुहुन्छ, उहाँहरुले बुझिदिनुपर्यो । माइती पक्षले पनि बुझिदिनुपर्यो । यस्तै सरकोकारवाला निकाय, नागरिक समाजले पनि यसलाई मुद्दाको रुपमा लिनुपर्छ, यसको विरुद्ध आवाज उठाउनुपर्छ । स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले पनि यो मुद्दालाई कम गर्नको लागि दह्रो रुपमा लैजानुपर्छ ।
मिडियाहरुले पनि यसको विरुद्धमा बोल्नुपर्यो । महिलालाई आक्षेप लाग्ने गरि समाचार पेस गर्नुभएन । मिडियाले कहिलेकाहीँ ‘श्रीमान विदेशमा श्रीमती चक्करमा’ खालका लाञ्छनालाई नै प्रोत्साहन गर्ने किसिमका शीर्षक दिएर समाचार लेख्ने गरेका हुन्छन् । त्यस्तो गर्नुभएन । सकारात्मक कुराहरुलाई अगाडि ल्याउनुपर्यो ।
श्रीमानको अनुपस्थितिमा घर व्यवहार स्याहारेर बस्नु ठूलो काम हो, त्यसको कदर हुनुपर्यो । धेरै महिलाहरुले श्रीमानले पठाएको रकम बचाएर यता व्यवसाय सुरु गरेको, आम्दानीको बाटो अंगालेको छ । आर्थिक, सामाजिक रुपमा परिवारलाई योगदान दिएका छन् ।
विदेशमा जाँदा सल्लाह गरेर जानुपर्यो । घरव्यवहार कसरी चलाउने भन्ने घरसल्लाह गर्नुपर्छ । कामको व्यवस्थापन कसरी गर्ने, विदेशबाट पैसा कसलाई पठाउने भन्ने सल्लाह गर्नुपर्छ । यहाँ के हुन्छ भने, श्रीमतीलाई पैसा पठाउँदा परिवारका अरु सदस्य खुसी नहुने र अरुलाई पठाउँदा श्रीमती खुसी नहुने हुन्छ । त्यसले गर्दा पनि पारिवारिक माहोल बिग्रिन्छ ।
यो विषयमा अध्ययन अनुसन्धानको असाध्यै कमी छ । त्यसकारण एक जनाको गल्तीले सबैलाई आरोप लाग्ने गरेको छ । रेमिट्न्स भाडियो, परपुरुषसँग लाग्यो भन्ने आरोप आउँछ । तर अध्ययन भएको छैन । सन् २०१९ मा नाइसर भन्ने संस्थाले स्विस सरकारको सहयोगमा सामी परियोजनाको सहकार्यमा सर्लाही, सप्तरी र धनुषामा अध्ययन गरेको थियो । त्यसमा महिलाले रेमिट्यान्स कसरी खर्च गर्दा रहेछन् भन्ने विश्लेषण गरिएका थियो । त्यो अध्ययनले विदेश गएका श्रमिकका श्रीमतीहरुले रेमिट्यान्सको पहिलो प्राथमिकता ऋण तिर्नलाई, दैनिक खर्च, बच्चाको पढाइ र छोरीहरुको विहेलाई प्राथमिकता दिएको पाइयो । रेमिटेन्स भाडियो भन्ने जुन आरोप छ त्यो आरोप अध्ययनमा पुष्टि भएन ।
रोनी प्रधान सुरक्षित आप्रवासन परियोजना सामीमा आप्रवासी स्रोत केन्द्र तथा मनोसामाजिक परामर्श कार्यक्रम संयोजक हुनुहुन्छ ।