चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
यतिबेला जताततै चर्चा भिजिट भिसाको छ । नेपालीहरू ठगिएको, समस्यामा परेको, सरकारले समिति गठन गरेको यस्तै खबरहरू बारम्बार आइरहेका छन् ।
हो विदेशिनु हाम्रो बाध्यता जस्तै भएको छ । हर कोहीको आ–आफ्नै बाध्यता छ । बाध्यतामा फसेकाहरूलाई जतिसक्दो छिटो विदेश पुगिहाल्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।
त्यही हतारोको एउटा माध्यम अहिले भिजिट भिसा भएको छ ।
म पनि यही बाटो समाएर यहाँ आइपुगेको हुँ । मेरो पनि आफ्नै कथा थियो विदेशिन पर्ने । बाध्यतामा परेकाहरूलाई एजेण्टले जान्न भन्दा पनि छाड्ने वाला थिएनन् ।
राम्रो कमाइ हुन्छ भनेर उनीहरूले दिने गफ र आश्वासनले सबै हो झैँ बनाउने रहेछन् । म पनि त्यही गफ र आश्वासनमा विश्वास गरेर केही वर्षअघि यूएई सरमा टेकेको हुँ ।
झट्ट हेर्दा युरोपको झल्को दिने यूएई सुन्दर छ । हामीजस्ता सामान्य मानिसका लागि यो सपनाको सहर हो । हेर्दा जति सुन्दर देश छ त्यति नै सुन्दर नियम, कानुन, र यहाँको परिवेश पनि छ । यहाँ भिज्न थालेपछि लाग्छ म परदेशमा होइन आफ्नै देशको कुनै सहरमा छु ।
खाडी भनेपछि हेला गरिहाल्ने हाम्रो नेपाली समाज छ । तर राम्रो सीप भएका र पढेलेखेकाहरूका लागि यूएई कुनै युरोप अमेरिका भन्दा कम रहेनछ भन्ने अनुभव गरेको छु मैले ।
मानिसहरू कोरिया, युरोप, जापान, अस्ट्रेलिया गएको देख्दा मलाई पनि नेपालमा हुँदा खाडी देश पनि के जानू र भन्ने लाग्थ्यो । तर यहाँ आएपछि राम्रोसँग बुझ्ने अवसर मिल्यो । कमाउनका लागि राम्रो देश मात्र होइन आफ्नो हातमा सीप पनि चाहिने रहेछ ।
एउटा कामदारले हजारमा तलब खाएको सुनेको मैले यही आएपछि तीन चार लाख रुपैयाँ सजिलै कमाएको पनि आफ्नै आँखाले देखेँ । तर देखेर मात्र हुँदैन त्यो कुरा हासिल गर्न आफ्नो हातमा सीप, दक्षता र क्षमता त चाहिन्छ नै ।
तर अहिले भिजिट भिसामा यस्ता मानिसलाई पठाइन्छ जसले पढाइको नाममा एसइई पनि पास गरेको छैन । अङ्ग्रेजीको नाममा आफ्नो नाम पनि भन्न जान्दैन । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न जान्दैन । हातमा कुनै सीप छैन । छ त केबल राम्रो काम लगाइदिन्छु भन्ने एजेण्टको आश्वासन मात्र । अनि दुःख त त्यसै भइहाल्छ नि ।
हातमा सीप र दक्षता हुनेलाई यहाँ अवसर धेरै छ । ६ महिनापछि कम्पनी परिवर्तन गर्न सक्ने यूएई सरकारको नियम छ । राम्रो काम र अवस आयो भने कम्पनी फेर्न पनि सकिन्छ । आफैँले काम खोजेर, आफैँले अप्लाइ गरेर पनि जागिर खान सकिन्छ ।
आफ्नो क्षमताले अन्तर्वार्ता पास गरेर जागिर खादा कुनै शुल्क लाग्दैन । तर यहाँ त एजेण्टहरु हुन्छन् । उनीहरूले पैसा खाने मौका कुरेर बसेका हुन्छन् । हो हामी उनीहरूको जालमा फस्न हुँदैन ।
यहाँ आउने सबैले बुझ्न पर्ने कुरा के हो भने काम आफ्नो दक्षताले पाउने हो न कि कोही एजेण्टले भनेर पाउने होइन ।
सीप छैन, अङ्ग्रेजी पनि जान्नुहुन्न भने यूएईमा भिजिट भिसामा आएर काम गर्छु भन्नु ठुलो मूर्खता हुनसक्छ । भाग्यले राम्रो काम र कम्पनी पर्यो भने फरक कुरा हो । नत्र दुःखको भुमरीमा त तपाईँ निश्चित पनि पर्नुहुन्छ ।
किनकि यहाँ हरेक कामको लागि अन्तर्वार्ता दिनपर्छ र त्यो अन्तर्वार्ता विशेष गरी अङ्ग्रेजी भाषामा हुने गर्छ । आफूमा भाषाको दक्षता नभएपछि तपाईँ त्यही कमजोर साबित हुनुहुन्छ । दुई तीन महिनाको भिजिट भिसामा आउँदा घुम्न जान सकिँदैन । यो समयमा काम पाइएन भने कि त नेपाल नै फर्कन्न पर्यो कि त फेरि एजेण्टको जालमा फस्नु पर्यो । त्यसको अर्को विकल्प हुँदैन ।
घर फर्कन्न पनि समस्या हुन्छ । नेपालबाट आउँदा दुई चार लाख फसेको हुन्छ । थोरै तलबमा काम गर्न मनले दिँदैन । घर फर्कन्न साहुको ऋणले दिँदैन । तपाईँ यदि भिजिट भिसामा यूएई आउँदै हुनुहुन्छ भने यो कुरा बुझ्न जरुरी छ।
तपाईँसँग सीप छैन र भाषाको पनि ज्ञान छैन भने नआउँदा नै राम्रो हुन्छ । तर यदि सीप छ र भाषामा पनि ज्ञान छ भने तपाईँले आफूले आफूलाई प्रमाणित गर्ने थलो बन्न सक्छ यूएई । तर एजेण्टको भरमा भिजिट भिसामा गएर काम गर्छु भनेर सोच्नु चाहिँ गलत नै हुन्छ ।
प्रेम
Jan. 29, 2022, 3:02 p.m.काम गर्ने सोच राखेर भिजिट भिसामा जानू नै गल्ती हो । गल्ती भएपछि दुख पाइन्छ। दुख पाएपछि मेनपावर र सहयोगी लाई दलाल भन्ने गरिन्छ। दलालहरु हुदैन भन्न खोजेको होइन । दलालहरुको धेरै बिगबिगी छ। हरेक जनता ले अरुलाइ बिश्वास देखाएर काम गर्छन् र काम गरे बापत पैसा लिने गर्छन् । आफुले बिश्वास दिलाएको मान्छे र आफुले बिश्वास गरेको मान्छे बिच राम्रो सम्बन्ध राखेर काम गर्दै जादा अचानक आफुले बिश्वास गरेको मान्छे बाट बिश्वास घात हुन्छ तब आफुले बिश्वास दिलाएको मान्छे लाई गरेको बाचा पुरा गर्न धेरै कठिन हुन्छ या त पूरा गर्न पनि सकिदैन किनभने मलाई पनि कसैले घात गरेको हुन्छ। अनि आफुले बिश्वास दिलाएको मान्छेको नजरमा म एक दलाल नाम ले चिनिन्छु बास्तबिकतामा म जानी जानी दलाल भएको हुदिन मलाई कसैले घात गरेको कारण त्यस्तो अवस्था आउन सक्ने हुन्छ। हामी यस्ता वैदेशिक रोजगारको घटनामा संलग्न व्याक्तीहरुलाइ मात्र दलाल भन्छौं । तर हाम्रो देश भित्र कति ठुला ठुला दलाल छन त्यस्ता लाई चै नमस्कार गरेर फर्केका छौं । हामी मात्र यति बुझेको छौ कि हाम्रा दाजुभाइ बिदेशमा काम नपाएर अलपत्र परे तर कसरी परे त अलपत्र भन्ने चै बुझ्न खोज्दैनौ । यदि बुझे पनि दलालले अलपत्र पार्यो भनेर बुझ्छौ। वास्तवमा वैदेशिक रोजगारमा लानेहरु दलाल होइन यिनिहरु त पात्र मात्र हुन। वास्तविक दलाल त हाम्रो देशको राजनीति खेल हो। स्वदेशमा नै रोजगार नभएपछि बिदेश भासिनु पर्ने रहर होइन बाध्यता हो। वैदेशिक रोजगारमा ८०% ले राम्रो काम पाएको छन या त आफुले भनेर गएको काम पाएको छन भने २०% अलपत्र छन या त आफुले भनेको काम नपाएको छन् । यसको मतलब एक एजेन्डले आफुले पठाएको मान्छेहरू मध्ये ८०% ले भनेकै काम पाएका छ्न। तर हाम्रो देशको राज नेताहरु ले भने बमोजिम १०% काम पनि गरेको छैनन् यो सबैलाई थाहा छ। अब भन्नुहोस् दलाल को हो?