कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
म युएईमा घरेलु कामदारको रुपमा कार्यरत छु । पाँच वर्ष भयो यहाँ काम गर्न थालेको । अब घरेलु कामदारले पनि विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति लिन पाउने खबर उज्यालोमा पढेर एकदमै खुसी लागेको छ ।
म राम्रो काम र कमाइ हुँदाहुँदै पनि सरकारले घरेलु काममा पठाउन रोक लगाएका कारण दुई वर्षदेखि नेपाल आउन पाएको छैन । दुई सालको दसैँ तिहार यहीँ मनाउनुपर्यो ।
अब श्रम स्वीकृति हुन्छ रे भन्ने खबर घरमा सुनाउँदा मेरा छोरीहरु पनि एकदमै खुसी भएका छन् ।
घरेलु काममा धेरै नेपाली दिदीबहिनीले दुःख पाएको सुनेको छु । तर मेरो कुरा गर्दा मलाई एकदम राम्रो छ । काम, सेवा सुविधा राम्रो कम्पनीमा काम गर्नेहरुको जति नै छ ।
महिनाको ६० हजार कमाउँछु । वर्षमा एक महिना छुट्टी हुन्छ । यो दसैँ तिहारमा पनि मलाई छुट्टी छ, तर आउन पाउँदिन । काम छाडेर आउ भने अहिलेको अवस्थामा मेरो लागि यो काम एकदमै ठूलो हो । पहिला म साह्रै गरीब थिएँ । खाना लगाउन पनि गाह्रो थियो ।
बालबच्चालाई पढ्न पठाउँदा एउटा चप्पल पनि किनिदिन सकेको थिइनँ । गरिबीले थलिएको बेला चिनजानका दाइले दुबईमा राम्रो काम भएको बताए । मलाई साहु साहुनीले नै भिसा र टिकटको पैसा हालेर बोलाउनुभयो । बालबच्चा छाडेर एउटी आमा परदेशिनु सजिलो थिएन । तर बाध्यताले आमाको मायालाई छोपिदियो ।
म विदेश आएर कमाएपछि मेरा छोरीहरुले राम्रोसँग पढ्न पाएका छन् । मेरा तीन छोरीमध्ये दुईवटी कलेज पढ्छन् । एउटी कक्षा दशमा पढ्छिन् ।
यहाँ आएपछि सबै राम्रो भयो, तर सरकारको नियमले घर फर्किन पाइनँ । बालबच्चासँग भेट्न पाइएन । म यहाँ रुँदै बसेको छु । चाडवाडमा आमा नहुँदा छोरीहरुलाई पनि नराम्रो लाग्छ होला । यत्तिकै आउँ भने फर्किन नपाइने । यो कुराले एकदमै तनाव हुन्छ ।
तर श्रम स्वीकृति पाउने खबरले मलाई एकदम खुसी लागेको छ । मेरो छोरीहरुसँग यही दसैँमा भेट्न पाउँ भन्ने कामना छ । मिल्ने भए सरकारले यो व्यवस्था जतिसक्दो चाडै लागू गरेदेखि म जस्ता धेरै महिलालाई फाइदा पुग्ने थियो ।
धेरै आमाहरुले आफ्ना सन्तानसँग भेट्न पाउने थिए । आफ्नो सपना पूरा गर्न पाउने थिए । सरकार यो नियम चाँडो लागू गर ।