अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगर...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको राहदानी विभागको भवन नयाँ र भव्य छ । तर त्यो भव्य भवन अगाडिको बाटो भने पानी परेपछि हिलाम्मे हुन्छ, घाम लाग्दा धुलाम्मे । त्यही हिलो र धुलो छल्दै दैनिक हजारौँ सेवाग्राही कार्यालयको बाहिर भित्र गरिरहेका हुन्छन् । बिहान सात बजे नै विभागमा आइपुग्छन् र पालो कुर्छन् । छिटै आएर लाइनमा बसे चाँडै पालो आउला र घर फर्किन पाइएला भन्ने ठान्छन् । यही सोचेर रुद्रपुर, कपिलवस्तुका गोपालजी चौधरी पनि बिहान चिया मात्रै पिएर आठ बजेतिर विभागमा आइपुग्नुभयो ।
उहाँलाई के थाहा, कुन लाइनमा लाग्ने हो भन्ने । किनकी त्यहाँ एउटा मात्र लाइन भए पो । एउटा मात्र गेट भए पो । मुख्य दुईटा गेट छन् भित्र छिर्ने । भित्र छिरिसकेपछि चारओटा लाइन हुन्छन् । रुजुको लागि प्रतिक्षा गर्ने लाइन । रुजु गराउनको लागि लाइन । केही बिग्रियो या सच्याउनुपर्ने भयो, अर्को लाइन । राहदानी लिने लाइन । फोटो खिच्ने, औँठाछाप लगाउने बायोमेट्रिकको लागि लाइन । कति हुन् कति ।
असार १६ गते राहदानी विभागमा भेटिनुभएका गोपालजी चौधरी त्यसको एक हप्ता अगाडि पनि विभाग पुग्नुभएको रहेछ । त्यो दिन प्रमाणपत्र रुजु गर्ने, बायोमेट्रिक र पैसा बुझाउने काम भयो । तर त्यो काम गर्न पनि उहाँले कम्ता दुःख पाउनुभएन ।
‘त्यो दिन यस्तो दुःख भएको थियो नि मलाई, म त बिहानै आएर अगाडिको गेटमा उभिएको दुई घण्टापछि मात्र थाहा भयो रुजु गर्ने काम उता हुँदो रहेछ, फेरि अर्को लाइनमा लाग्नुपर्यो’ उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
गोपालजीले कहाँ लाइन लाग्ने भन्ने पनि थाहा नहुँदा आफूले पाएको दुःख सुनाउनुभयो । त्यो दिन त दुःख पाइयो । अब त सबै काम भयो राहदानी हात पर्छ भनेर ढुक्क भएका गोपालजीलाई फेरि चिन्ता सुरु भयो ।
तीन दिनभित्र तपाईंको मोबाइलमा राहदानी बनेको म्यासेज आउँछ भनिएको थियो । तर चारपाँच दिन बित्दा पनि म्यासेज नआएपछि उहाँ असार १६ गते फेरि विभाग आएर सोधपुछको लाइनमा उभिनुभयो ।
वैदेशिक रोजगारीको खोजी गरिरहनुभएका गोपालजीले त्योबीचमा म्यानपावर चाहार्नुभयो । एउटा म्यानपावरमा त अन्तर्वार्ताको लागि दुई हजार रुपैयाँको फारम पनि भर्नुभयो । तर समयमै पासपोर्ट हात नपर्दा अन्तर्वार्ता दिन पाउनुभएन ।
‘आजै बोलाएको थियो अन्तर्वार्ताको लागि, पासपोर्ट लिएर आउनु भनेको थियो तर पासपोर्ट अहिलेसम्म बनेको छैन, मेरो अन्तर्वार्ता छुटिहाल्यो नि’, गोपाल जी भन्दै हुनुहुन्थ्यो, ‘पासपोर्ट बनेन के गर्ने होला भनेर म्यानपावरको दाजुलाई सोधेको थिएँ, पासपोर्ट नभए त अन्तर्वार्तामा बस्न मिल्दैन भन्नुभयो ।’
चाँडै पासपोर्ट बन्ला भनेर १२ हजार रुपैयाँ तिरेर इमर्जेन्सीमा पासपोर्ट बनाउन आउनुभएका गोपालजी रुजु गरेर पैसा तिरेको एक हप्ता बितिसक्दा पनि अझै पासपोर्ट हात पर्ने टुङ्गो नभएपछि निराश हुनुहुन्छ । ‘इमर्जेन्सीमा पासपोर्ट बनाउन पनि यति समय लाग्छ भन्ने थाहा भए त म जिल्लामै बनाइहाल्थेँ नि पाँच हजार रुपैयाँ तिरेर’ उहाँले भन्नुभयो ।
गोपालजीको भन्दा बेग्लै समस्या छ रौतहटका हरेन्द्र राय यादवको । विभागका कर्मचारीले नाम लेख्नमा गल्ती गरिदिएपछि उहाँको दुई दिनमै सकिने काम एक हप्तासम्म पनि सकिएको छैन । काठमाण्डौमै आयो भने छिटोछरितो काम बन्ला भनेर खर्च गेरेरै भए पनि टाढाटाढाबाट विभागसम्म आइपुग्छन् सेवाग्राही । तर कहिलेकाहीँ कार्यालयका कर्मचारीको गल्तीले काठमाण्डौमै अल्झाइराख्छ । तनावसँगै खर्च थपिँदै जान्छ । यस्तै भयो हरेन्द्र यादवलाई पनि ।
कागजात रुजु गराएर दर्ता गर्नेबेला कर्मचारीले नै नाम गलत टाइप गरिदिए । राय यादव एक ठाउँमा लेख्नुपर्ने । हरेन्द्र यादव राय लेख्दा उहाँलाई समस्या भयो । पासपोर्ट आउने दिन कुरेर बस्नुभएका हरेन्द्रको मोबाइलमा पासपोर्ट एप्लाई रिजेक्ट भयो भन्ने म्यासेज आयो ।
पहिले पनि वैदेशिक रोजगारीमा गएर आउनुभएका हरेन्द्र अहिले नवीकरण गर्न आउनुभएको हो विभागमा । एक पटक बनिसकेको पासपोर्ट पनि कर्मचारीका लापरबाहीका कारण रिजेक्ट भएकोमा उहाँ दुखेसो पोख्नुहुन्छ ।
‘पासपोर्ट छ भने त गल्ती नै हुँदैन नि, अफिसको गल्तीले मैले दुःख पाएँ’ काम नबनेर तनावमा रहनुभएका उहाँले भन्नुभयो, ‘अफिसमा बस्ने कर्मचारीलाई पनि मैले थर्काएँ, राम्रोसँग लेख्न आउँदैन भने किन बिगारेको भनेर पनि भनेँ, कहिलेकाहीँ यस्तो हुन्छ भन्छन् ।’
असार १६ गते विभागमा भेटिनुभएका हरेन्द्र आज त काम बन्छ कि भन्ने आशामा हुनुहुन्थ्यो । भोको पेट र निराश अनुहार लिएर बसेका उहाँले भन्नुभयो, ‘आज पाँच बजेसम्म बन्छ भन्नुभएको छ हेरौँ, आज त बन्नुपर्ने हो ।’
हरेन्द्र र गोपालजी राहदानी विभागमा पालो कुर्नुपर्दा, काम बिग्रिँदा, कहाँ जाने के गर्ने थाहा नपाउँदा दुःख पाएका प्रतिनिधि पात्र हुन् । राहदानीको लागि अनलाइन आवेदन भर्न उस्तै सास्ती हुन्छ ।
सबै सरकारी कामकाज अनलाइन प्रणालीमा जाने भनेर सरकारले भन्न थालेको धेरै भइसक्यो । कतिपय कार्यालयका काम अनलाइनबाटै सुरु भइसकेका पनि छन् । तर अनलाइन प्रणाली भनिए पनि लामो लाइनमा लाग्नुपर्ने बाध्यता अझै कायमै छ । अनलाइन प्रणाली चुस्त नहुँदा सेवाग्राही वाक्क हुन्छन् । यही समस्या राहदानी विभागको इनरोलमेन्ट लिँदा पनि हुन्छ ।
झापाका विनोद भट्टराईले विज्ञान विषयमा १२ कक्षा पास गर्नुभयो । उच्च शिक्षाको लागि अमेरिका जाने सोच्नुभयो । त्यसको लागि सर्वप्रथम त राष्ट्रिय परिचयपत्र बनाउपर्यो । त्यो उहाँले झापाबाटै बनाउनुभयो । यति भएपछि अब पासपोर्ट पनि बनाउनुपर्छ, टोफेल कक्षाहरु पनि लिनुपर्छ भनेर काठमाण्डौ आउनुभयो । विभागले राहदानीको लागि अनलाइन फारम भर्ने समय साढे चार बजे तोकेको छ । यहाँ आएको दिनदेखि राहदानीको लागि अनलाइन फारम भर्न अर्थात् अनलाइन प्रि इनरोलमेन्ट लिन उहाँ प्रत्येक दिन चार बज्ने बित्तिकै ल्यापटप खोलेर फारम भर्ने प्रयास गर्नुभयो । तर कहिले मिति नदेखाउने, कहिले आधा फारम भर्दै इरर भन्ने । कहिले वेबसाइट नै नखुल्ने हुँदा उहाँ दिक्क हुनुभयो र राहदानी विभागको बाहिर अनलाइन सेवा दिन बसेकाकोमा गएर फारम भर्नुभयो । साढे दुई सय रुपैयाँ तिरेर ।
‘म आफै आईटीमा रुचि भएको मान्छे, मलाई नै अनलाइन फारम भर्न यस्तो समस्या भयो, अरुलाई कस्तो भयो होला तपाईं आफै सोच्नुहोस्’, प्रमाणपत्र रुजु गर्ने लाइनमा उभिनुभएका उहाँले भन्नुभयो, ‘एक घण्टा भइसक्यो यहाँ लाइनमा लागेको, अहिले खाजा खाने समय भएको रैछ, हेर्नु न लाइन जस्ताको त्यस्तै छ ।’
पछिल्लो समय विभागले आफ्नो प्रणालीमा सुधार गरेपछि अनलाइन फारम भर्ने समस्या हटेको बताउँदै आएको छ । तर राहदानी विभागमा गएर सेवाग्राहीसँग बुझ्दा अनलाइन फारम भर्न ‘सजिलो छ’ र ‘अप्ठेरो छ’ भन्ने बराबरै भेटिन्छन् ।
यस्तै अर्का एक जना भेटिनुभयो, धादिङका भगत तामाङ । ब्रिटिश आर्मीमा भिड्नको लागि पासपोर्ट बनाउन विभागमा पुग्नुभएका उहाँको गुनासो पनि यस्तै छ ।
‘अनलाइन प्रणाली भनेको छ, तर सजिलै भर्न सकिने गरेर अनलाइन व्यवस्थापन गरेको खोइ त ?’, उहाँले भन्नुभयो, ‘अनलाइन प्रणाली भयो भन्दैमा सजिलो हुन्छ र ? त्यसलाई सबैले सजिलै पहुँच हुन सक्ने बनाउनुपर्यो नि ।’
राष्ट्रिय परिचयपत्र दिने राहदानी विभागले होइन । यो राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको काम हो । तर सरकारले विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राहदानी बनाउने प्रक्रियामै पर्न गयो परिचयपत्रको काम पनि । त्यसो त सबै जिल्ला प्रशासनबाट राष्ट्रिय परिचयपत्र बनाउन मिल्छ । जिल्लाबाट बनाउन सजिलो पनि हुन्छ । तर आफ्नै जिल्लामा जान नसक्ने तथा काठमाण्डौमै बस्दै आएका नागरिकको लागि भने यतै परिचयपत्र बनाउन सजिलो होस् भनेर ललितपुर/काठमाण्डौ जिल्लाप्रशासन र नारायणहिटीमा रहेको साविकको राहदानी विभाग गरि तीनवटा केन्द्र तोकिएका छन् । कर्मचारी र अति आवश्यक भएका व्यक्तिहरुका लागि सिंहदरबारभित्रै रहेको विभागबाट पनि परिचयपत्र बनाउन सकिन्छ । तर यति हुँदाहुँदै पनि परिचयपत्र लिन यी तीन वटा केन्द्रमा पुग्दा उस्तै भिडभाड देखिन्छ । बिहान पाँच बजेदेखि नै लाइनमा लाग्न आउँछन् सेवाग्राही ।
नारायणहिटीमा रहेको परिचयपत्र बनाउने केन्द्रमा असार १६ गते नै भेटिनुभएकी झापाकी शर्मिला राजवंशी बिहान ६ बजे नै त्यहाँ पुग्नुभयो । बिहानै टोकन लिनुभयो । उहाँको पालो दुई सय ८१ औँ नम्बरमा थियो । दिउँसो तीन बजेसम्म एक सय ७० औँ नम्बरको पालो चल्दै थियो । हातमा टोकन समातेर पालो कुरिरहनुभएकी शर्मिलाको अनुहार भोकप्यास र गर्मीले थकित देखिन्थ्यो ।
उहाँले हातमा समातेका कागजातले हावा हम्कँदै थकित स्वरमा भन्नुभयो, ‘हेर्नु न चाँडै आएर टोकन त पाइयो, पालो अहिलेसम्म आएको छैन । टोकन बोकेर कोठा जानुपर्ने रहेछ अनि यतिबेला आए पनि हुने रहेछ । तर पालो छुट्ला भनेर यहीँ बसेकी कतिबेला हो अब खै !’
पञ्जिकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र बनाउने समय लिनको लागि प्री–इनरोलमेन्ट र प्री–अपोइन्टमेन्ट दुई वटा विधि अपनाइएको छ । एउटा चाहिँ पूर्ण रूपमा अनलाइन छ । त्यसमा अनलाइनबाट नै समय लिन सकिन्छ । त्यो गर्दा तत्काल आवश्यकता नभएका व्यक्तिहरूले पनि पहिले नै समय लिइदिने हुँदा तत्काल चाहिएकाहरुले पाउन गाह्रो हुन्छ । त्यसैले अति नै आवश्यक परेकाहरुलाई राहदानी बनाउन अप्ठेरो नपरोस् भनेर टोकन दिने व्यवस्था गरिएको छ । तर पनि लाइन लाग्नुपर्ने समस्या उस्तै छ ।
‘बिहान गएर लाइन लाग्ने भनेको चाहिँ अनलाइनबाट लिन नसक्नुभएका अथवा टाइम नआएको हुनाले छिट्टै आवश्यक परेर होला’, पञ्जिकरण विभागका निर्देशक ललितकुमार बस्नेत भन्नुहुन्छ, ‘जो सेवा लिन आउनुहुन्छ उहाँहरूलाई छिटो र सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भनेर हामीले स्टेसनहरू थप्दै गइरहेका छौँ ।’
प्रि इनरोलमेन्टको लागि अनलाइन फारम भरेर राहदानी विभागमा आउनेमध्ये कतिपय तोकेकै मिति र समयमा आइपुग्छन् भने कतिपय चाँडै पुगे छिटै काम बन्ला भनेर तोकेको समयभन्दा अगाडि ।
विभाग भन्छ, ‘तोकेको समयभन्दा अगाडि नआउनुस्, साथीहरुलाई लिएर नआउनुस्, भिड बढ्छ, सेवाप्रवाहमा समस्या हुन्छ ।’
तर विभागको यो सल्लाह न सेवाग्राहीले बुझ्छन्, न त विभागले भनेजस्तै व्यावहारिक छ यो कुरा । किनभने यहाँ सेवा लिन आउने धेरैजसो वैदेशिक रोजगारीमा जानको लागि पासपोर्ट बनाउन आउनेहरु हुन्छन् । नेपाली भाषा राम्रोसँग बोल्न नजान्नेहरु पनि उत्तिकै हुन्छन् । अर्को जान्ने मान्छे नहुँदासम्म उनीहरुको काम हुन सक्दैन । धेरैजसो, अर्काको सहायतामा अनलाइन आवेदन भर्ने हुन्छन् । यस्तोमा उनीहरुले थाहा पाउँदैनन्, कतिबेलाको समय तोकेको छ भनेर । तर तोकेको समय भनेको कागजात रुजु गर्नको लागि हो । रुजु गरिसकेपछि फेरि बायोमेट्रिक लगायत अरु कामको लागि लाइनमा बस्नै पर्ने हुन्छ । यसरी लाइनमा लाग्दालाग्दै कार्यालयको खाजा खाने समय हुन्छ । त्यो एक घण्टाको अवधिमा सेवाग्राही घाम पानी सहँदै पालो कुर्छन् । भिड बढ्दै जान्छ ।
विभागमा भेटिनुभएका नुवाकोटका सुनिल सिटौलाको गुनासो थियो, ‘कमसेकम कर्मचारीहरुले आलोपालो गरेर खाजा खानु नि, हामी त एक घण्टासम्म उहाँले खाजा खाएकै पर्खेर बस्नुपर्ने ।’
विभागले कार्यालयको क्षमता भन्दा धेरै काम भएको दाबी गर्छ । कार्यालयको क्षमता दैनिक १५ सय जतिलाई सेवा दिने भए पनि विभागले २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खुलाउने गरेको विभागका प्रवक्ता तथा निर्देशक शरदराज आरण बताउनुहुन्छ । यस्तै सेवा लिन आउनेहरुको चाप बढी भएका कारण कार्यालय समय पनि बढाएको उहाँको भनाइ छ ।
‘अहिले राहदानी विभागमा दैनिक ६ हजार ५ सय पासपोर्ट प्रिन्ट भएको छ । दैनिक २४ सय आवेदन लिन्छौँ । त्यो भनेको ठूलो सङ्ख्या हो । हाम्रो क्षमता दैनिक १५ सय आवेदनको हो’, उहाँले भन्नुभयो, ‘अहिले हामीले हाम्रो क्षमताभन्दा पनि बढी बिहादेखि बेलुकासम्म सकेसम्म धेरै काम गरिरहेका छौँ । बिहान ९ बजेदेखि ६ बजेसम्म त कार्यालय खुला रहन्छ ।’
राहदानी बनाउने भनेपछि राहदानी विभागले नै हो भन्ने सोचका कारण पनि विभागमा भिड बढी हुनेगरेको उहाँको भनाइ छ । १७ इलाकासहित ७७ जिल्ला प्रशासन कार्यालयमार्फत अहिले विद्युतीय राहदानी जारी हुन्छ । उहाँका अनुसार राहदानी बनाउनको लागि राहदानी विभागसहित देशभर ९४ युनिट रहेको भए पनि सबै जना विभागमै आउँदा समस्या हुने गरेको हो ।
‘विभाग भनेको त इमर्जेन्सी परेकाहरूलाई मात्र सेवा दिने भन्ने कन्सेप्ट हो नि त । तर भइदियो के भने जिल्ला नगएर सबै यतै आउन थाले । अनि जिल्लामा क्षमता पनि नबढेको अवस्था । त्यसैले सबै जना यहाँ विभागमा आउने गर्दा भिड भयो । नागरिकलाई सेवा लिन समस्या भयो’, निर्देशक शरदराज आरणले भन्नुभयो । यस्ता समस्याको समाधानको लागि जिल्लामा क्षमता बढाउनै पर्ने उहाँ बताउनुहुन्छ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।