चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख गेटबाट सिधा अगाडि गएर दायाँ मोडिएपछि प्रस्थान कक्ष आउँछ । विदेश जानेहरु यहीँबाट प्रहरीलाई कागजात देखाएर टर्मिनलभित्र पस्छन् ।
यस्तै परदेशबाट फर्किनेहरुको लागि नयाँ आगमन कक्ष छ । जसलाई आईएमएस समूहले सञ्चालनमा ल्याएको हो । विमानबाट ओर्लेको दश मिनेटमै यात्रुहरु ट्याक्सी पार्किङ क्षेत्रमा आइपुग्छन् ।
अहिले हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी सुरु भएको छ । मौसम खुलेको छ । सयपत्री फूल फक्रिँदै छन् । दशैँको रौनकले विमानस्थललाई पनि छोएको छ । आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै यात्रुहरु आइरहेका छन् । उनीहरुमध्ये धेरै छन्, वैदेशिक रोजगारीबाट फर्किनेहरु । रोजगारीको लागि परदेश गएकाहरु दशैँको उमँगसँगै अनुहारमा खुसी लिएर फर्केका छन् ।
झापा बिर्तामोडका मोहनराज बिसी पनि तीन वर्षपछि घर फर्किनुभएको छ । परदेशमा भनेको बेला बिदा मिल्दैन । झन् दशैँकै बेला बिदा मिलाउनु ठूलै कुरा हुन्छ । लामो समयपछि त्यो पनि दशैँकै बेला घर फर्किन पाउँदा मोहनराज निकै खुसी हुनुहुन्छ । उहाँको खुसीको मुख्य कारण हो, उहाँको छोरी । मोहनराज साउदी जाँदा भर्खर जन्मिएकी छोरी अहिले फोनमा बाबा बाबा भन्ने भइसकिन् । छोरीको यही आवाजले तानिरह्यो मोहनराजलाई । एकदुई वर्षपछि फर्किने सोच हुँदाहुँदै पनि उहाँ यो दशैँमा घर नफर्कि रहन सक्नुभएन ।
‘ओर्लिने बित्तिकै म यति एक्साइटमेण्ट भएँ नि, अब कसरी भनुँ, खुसीले उडेजस्तै भएँ’, साथीलाई कुरेर बस्नुभएका मोहनराजले खुसीका आँसु खसाल्दै भन्नुभयो, ‘बालखा छोरी छाडेर गएको थिएँ, अहिले बाबा बाबा भन्ने भइन्,....’ बोल्दै गर्दा उहाँ भक्कानिनुभयो ।
यस्तै महोत्तरी, बर्दीवासका मन्दिप रावत पाँच वर्षपछि मलेसियाबाट घर फर्किनुभएको छ । मलेसियामा रहँदा त्यहाँको कोत्रा फर्मा मेडिसिन कम्पनीमा काम गर्नुहुन्थ्यो रावत । विदेशमा हुँदा दशैँतिहारको उमंग खासै हुँदैन । घरमा भिडियो कल गरेर चित्त बुझाउँछन् परदेशीहरु । तर मन्दिप रहेको कम्पनीमा भने सबै नेपालीहरु मिलेर खसी काटेर दशैँ मनाउँथे । यसले घरपरिवारसँगै दशैँ मनाएको जस्तो नभए पनि साथीभाइबीच रमाइलो हुँदा दशैँ खल्लो भने लाग्दैनथ्यो । तर यो दशैँको बेला भने मन्दिप नेपाल फर्किनुभयो ।
‘धेरैपछि साथीभाइ, परिवारसँग दशैँ मनाउन पाउँदैछु एकदमै खुसी लागिरहेको छ’, उहाँले भन्नुभयो, ‘एक दुई महिना दशैँतिहारमै बित्छ त्यसपछि आफ्नै बिजनेसमा प्रोसेस गर्नुपर्छ ।’
मन्दिप अब फेरि वैदेशिक रोजगारीमा नजाने गरि फर्किनुभएको हो । मुसुमुसु हाँस्दै ट्रलीमा अडेस लगाएर उभिरहनुभएका उहाँले भन्नुभयो, ‘मैले फिनिस नै गरेर आएको, अब गाउँघरमै केही गर्नुपर्छ ।’
मन्दिप देशमै केही गर्नुपर्छ भन्दै स्वदेश फर्किनुभएको हो । परदेशमै बुनेका दुई चारओटा व्यवसायको योजनामध्ये तत्कालको लागि उहाँ राइस मिल्ने खोल्ने सोचमा हुनुहुन्छ ।
वैदेशिक रोजगारीकै क्रममा दुबईबाट तीन वर्षपछि घर फर्किनुभएको छ, ललितपुर लेलेकी शान्तिमाया तामाङ । शान्तिमायाले पाँच वर्ष लेबनानमा रोजगारी गर्नुभयो । त्यसपछि फेरि उहाँ दुबई जानुभएको हो । अहिले उहाँ दुई महिनाको बिदामा घर आउनुभएको छ । दशैँमा कम्पनीबाट बिदा मिलेपछि घर फर्किन पाउँदा उहाँ पनि निकै खुसी देखिनुहुन्छ ।
‘मनाउन त उता पनि मनाइन्छ नि, तर घरपरिवार बुवाआमा, छोराछोरी, साथीभाइसँगै मनाएको जस्तो कहाँ हुन्छ र’, सुटकेश ट्याक्सीभित्र ठेल्दै भन्नुभयो, ‘दशैँ त आफ्नै गाउँघरमै ठिक हुन्छ के ।’
शान्तिमायाको घरमा सानी छोरी छिन् । अब छोरीलाई पनि समय दिउँ, घरपरिवारसँगै बसेर देशमै केही गरौँ भन्ने नलागेको होइन उहाँलाई । तर देशमै केही गरौँ भन्ने लागे पनि आफ्नो बाध्यताका कारण परदेशमै फर्किनुपरेको उहाँको भनाइ छ ।
भन्नुहुन्छ, ‘अहिले नै विदेश छाडेर आउन त सकिँदैन, हेराैँ अझै दुईतीन वर्ष बसेपछि अनि यतै सानोतिनो व्यवसाय गर्नुपर्छ ।’
मोहनराज, मन्दिप र शान्तिमायाजस्तै दैनिक हजारौँ नेपाली वैदेशिक रोजगारीबाट यसैगरि खुसी बोकेर आइरहेका छन् । तर यही बेला बाध्यताले कतिपय नेपालीलाई परदेशतर्फ धकेलेको छ ।
केही दुःखद घटनाका अपवादबाहेक परिवारको कुनै सदस्य वैदेशक रोजगारीमा जाँदा त्यहाँबाट हुने कमाइले परिवारको गर्जो मात्र टरेको छैन त्यो परिवारका सदस्यका रहरहरु पनि पूरा भएका छन् । वैदेशिक रोजगारीले गर्दा धेरै नेपालीहरुको भान्छामा खाना पाक्छ । धेरै नानीबाबुहरु राम्रो विद्यालयमा पढ्न पाउँछन् । बुढा बुवाआमाले उपचार पाएका छन् । चाडपर्वको बेला मिठो मसिनो खान पाएका छन् । राम्रो लाउन पाएका छन् । चाडपर्वहरुमा खल्लो महसुस हुनु परेको छैन । त्यसैले पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै छ । दैनिक दुई हजारको हाराहारीमा नेपाली युवा मलेसिया, खाडी लगायत श्रम गन्तव्य देशमा जाने गर्छन् । अहिले पनि चाडपर्व नभनेर दशैँको मुखैमा परदेश जान विमानस्थलसम्म पुगेका छन् । परदेशबाट फर्कनेहरु जस्तो उनीहरुको अनुहारमा खुसी देखिँदैन ।
मलेसिया जान गह्रुंगो झोलासँगै भारि मन लिएर लाइनमा उभिरहनुभएको छ काभ्रेपलान्चोकका सुजन न्यौपाने । १२ कक्षासम्मको पढाइ गर्नुभएका सुजनलाई दशैँको मुखैमा परदेशिन त रहर थिएन । तर घरको आर्थिक अवस्था र कमाउनुपर्छ भन्ने हुटहुटीले उहाँले विदेश जाने सोच बनाउनुभयो । त्यसैमाथि यतिबेलै भिसा आएपछि अहिले जाँदैन भन्ने अवस्था नै रहेन ।
‘के गर्ने, भिसा अहिले नै आयो, जानैपर्ने भयो, अहिले दशैँ छ म जान्न भन्यो भने लागेको भिसा पनि क्यान्सिल हुन्छ’, उहाँले भन्नुभयो, ‘सरकारले यतै रोजगारीका अवसर दिएको भए मजस्ता युवा यसरी परदेश जाने थिएनन् ।’
सुजनजस्तै कपिलवस्तुका महेन्द्र यादव पनि परदेश जाने लाइनमा हुनुहुन्छ । उहाँले सुजनको जति पनि पढ्नुभएको छैन । सुजनजस्तै पहिलोपटक वैदेशिक रोजगारीमा साउदी जान लाग्नुभएका महेन्द्रसँग सानो झोला र हातमा कागजातको फाइल छ । अहिलेसम्मका दशैँतिहारमा साथीभाइसँग रमाइलो गर्दै, घरपरिवार र मामाघरमा गएर दशैँ मनाउने महेन्द्र अब परदेशमा काममा खटिनुपर्ने छ । परदेशमा यस्तो रमाइलो हुन्न होला भन्ने लागिसक्यो उहाँलाई ।
‘आफ्नो देशमा जस्तो त अर्काको देशमा कहाँ होला र । सधैँ सुखैसुख पनि त हुँदैन’, विद्यालयमा धेरै नपढे पनि अभावले उहाँलाई पढाएको छ, ‘अब केही वर्ष दुःख गर्नुपर्छ भनेर जान लागेको हो, कमाएर आएपछि दशैँ मनाउँला नि ।’
यस्तै बाध्यता छ काभ्रे तिमालकी पुतली तामाङको पनि । अरु दशैं मनाउनको लागि विदेशबाट फर्किरहँदा उहाँलाई चाहिँ यहीबेला घरगाउँ छाडेर परदेशिनुपर्यो ।
सुजन र महेन्द्र जस्तै सयौँको भिड हुन्छ विमानस्थलमा दशैँको बेला परदेश जानेहरुको । त्यही भिडमा काभ्रे तिमालकी पुतली तामाङ पनि भेटिनुभयो । आफ्नो सानो बाबुलाई छाडेर परदेश जानुपर्ने बाध्यता आयो पुतली तामाङलाई पनि ।
एकतर्फ उहाँको अनुहारमा छोरालाई छोड्नुपर्दाको पीडा झल्किन्छ भने अर्कोतर्फ त्यही छोराको भविष्यको लागि कमाउन जाँदै छु भन्ने आशाको मसिनो घेरा पनि देखिन्छ ।
‘छोरालाई भविष्यमा राम्रो पढाउनुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘कमाउनु त पर्याे नि, हामीजस्तो नपढेको मान्छेलाई नेपालमा काम पाइँदैन, त्यसैले विदेश जानुपर्याे ।’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।