चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
पुष्पा थापा मगर/अक्ष्यक्ष, आमकास नेपाल
म ३० वर्ष पहिले वैदेशिक रोजगारीको लागि साउदी गएकी थिएँ । वि.स. २०५० साल भदौमा गएर २०५३ साल माघमा नेपाल फर्किएँ । त्यतिबेला र अहिले खाडीप्रति हेर्ने आम मानिसको दृष्टिकोण निकै बदलिएको जस्तो लाग्छ मलाई ।
हाम्रो पालामा त विदेश गएर फर्केर आएको भन्दा मान्छेको हेर्ने नजर नै फरक हुन्थ्यो । अहिले त सरकारले नै सहयोग गरेर अन्तर्राष्ट्रिय रुपमै दिवस मनाइरहेको छ । रोजगारीको लागि खाडी देशहरुमा गएर आएको मान्छेले म खाडीमा गएर आएको भनेर लजाउनुपर्ने अवस्था छैन ।
हाम्रो पालामा त खाडीमा गएर आएको भनेपछि चरित्रलाई नै हेरेर बोल्ने चलन थियो । खाडी गएको मान्छे कोही पनि सद्धे आउँदैन भन्ने गर्थे । त्यहाँ गएर फर्केकोले पनि खाडीबाट आएको भन्न लजाउँथे । अहिले त खाडीमै कति मानिस गइरहेका छन् । पहिले त्यहाँ जाने महिलाहरु सबै घरेलु कामदारमा जान्थे भने अहिले त सेल्स, क्लिनर, फ्याक्ट्री वर्करमा गइरहेका छन् । अहिले त खाडीमा घरेलु कामदारमा जानेहरु पनि खुल्लम खुल्ला घरेलु कामदारमा गएको भन्न सक्ने अवस्था छ ।
अहिले आप्रवासी श्रमिक दिवस भव्यताका साथ मनाइरहेका छन् । श्रमिकका हितमा अहिले निकै कार्यक्रम हुन्छन् । जनचेतना बढेको छ । विदेशमा पैसा कमाउन गएका हाैँ, सीप सिक्न गएका हौँ, त्यो सिकेर आएर नेपाललाई आर्थिक योगदान दिन सकेका छौँ भनेर गर्व लाग्छ । खुसी लाग्छ ।
त्यतिबेला साउदी जानुभन्दा पहिले वि.स. २०५० सालमा म होटल मस्र्याङ्दीमा काम गर्थेँ । मेरो घरसँगैको एकजना दाइको म्यानपावर थियो । उहाँले नै ‘साउदीमा अस्पतलमा क्लिनरको लागि थुप्रै नेपाली कामदार मागेको छ, जाने भए भन’ भन्नुभयो । मलाई भने नयाँ देशमा त्यो पनि खाडीमा कसरी जाने भन्ने डर थियो । तर त्यो म्यानपावरवाला दाइले मान्छेको सोच मात्र हो डराउनु पर्दैन, साउदीमा महिलालाई एकदमै सुरक्षित हुन्छ भनेर सम्झाउनुभयो । फेरि म एक्लै थिइनँ । २० जना नेपाली दिदीबहिनी थिए । अनि यहाँको जागिर छोडेर गएँ । त्यहाँ बंगाली र भारतीय पनि भेटिए । एउटै होस्टेलमा बस्ने हामी ५० जना थियौँ ।
म साउदीमा तीन वर्ष बस्दा कम्पनीमा काम गर्न जाने–आउने मात्र भयो । कुवाको भ्यागुत्तो कुवा भित्रै भनेजस्तो भयो । नेपालबाट सिधै हामी एअरपोर्टमा पुग्यौँ । त्यहाँबाट कम्पनीमा लगियो । कम्पनीबाट होस्टेलमा लग्यो । त्यसपछि अस्पतालको काम पाइयो । अस्पतालमा दुई वर्ष क्लिनरको काम गरेपछि फेरि मैले रियाद बैंकमा पनि काम गरेँ । तर हामीलाई बाहिर स्वतन्त्र प्रकारले हिँड्ने छुट थिएन । मार्केटमा जानुपरे पनि कम्पनीकै गाडीले लगिदिन्थ्यो । त्यो पनि बाहिर कसैसँग बोल्लान् भनेर सेक्युरिटी गार्ड राखेर लिन्थे । कम्पनीमा पनि त्यस्तै सुरक्षा थियो । होस्टेलबाट कम्पनी, कम्पनीबाट होस्टेल मात्रै भयो । होस्टेलबाट कम्पनीमा जाँदा पनि पालेले एकएक गरेर गाडीभित्र पठाउँथ्यो । कम्पनीमा पुगेपछि पनि सिधै महिला सेक्सनमा राख्थ्यो । लिनको लागि गाडी नआएसम्म बाहिर निस्किन पाइँदैनथ्यो ।
त्यतिखेर तलब पाँच सय रियाल थियो । नेपाली १० हजार रुपैयाँ हुन्थ्यो । त्यतिखेर धेरै घरेलु कामदारहरु पनि हुनुहुन्थ्यो । अस्पतालमा उपचार गर्न ल्याउँदा उनीहरुको रोजगारदाताले नेपाली साथी रहेछ, बोल भनेर हामीहरुसँग बोल्नको लागि छोडिदिन्थे । तर कुनै घरमा भने घरेलु कामदारलाई गाह्रो थियो ।
अहिले घरेलु कामदारमा जानेहरुलाई सरकारले रोक लगाएको छ । तर जानलाई रोकै लगाउनु त समस्याको समाधान होइन । अहिले स्वतन्त्रता छ । लैंगिक समानता भनिएको छ । त्यसैले पुरुष होस् या महिला एक ठाउँबाट अर्को ठाउँमा सजिलै जान पाउँछ । तर खाडी देशमा जाने दिदी बहिनीलाई भने सामान्य ज्ञान पनि नहुँदा अप्ठेरो हुने गर्छ । त्यसैले त्यहाँको भाषा बोल्न सक्ने बनाएर, सीप सिकाएर पठाउने गर्नुपर्छ ।
ट्वाइलेट प्रयोग गर्न नजान्ने, वासिङ मेसिनसम्म पनि चलाउन नजान्नेहरु त्यो ठाउँमा पुगिसकेपछि उनीहरुलाई अप्ठ्यारो हुन्छ । यही कारणले दुःख पाउनुपर्छ । अहिले त सरकारले सीप पनि सिकाइरहेका छ । तर सूचनाको अभाव छ । गाउँगाउँमा सूचना पुगेकै छैन । एजेण्टहरु भने गाउँगाउँमा छरिएका छन् । त्यसैले महिलाहरु उनीहरुको कुरामा फस्छन् । अनि उनीहरुलाई केही सीप नसिकाएरै घरेलु कामदारका रुपमा पठाइन्छ र दुःख पाउँछन् । जस्तो अहिले अनलाइन व्यवस्था त गरिदिएको छ तर आम श्रमिकलाई त्यो चलाउन आउँदैन । यस्ता समस्याले गर्दा उनीहरु एजेण्टकै भरमा परेर जान्छन् । त्यसैमाथि अहिले सरकारले घरेलु महिला कामदारमा जान रोक लगाएका कारण एजेण्टमार्फत नै अवैधानिक बाटो भएर जान बाध्य हुन्छन् । त्यसरी गएकाहरु गन्तव्य देशमा पुगेर केही समस्या भएमा नेपाल सरकारले ‘अनडकुमेन्टेड’ भन्दै खासै पहल पनि गर्दैन ।
परदेशमा भाषा नजान्दा त धेरै गाह्रो हुने रहेछ । आफूलाई लागेका कुराहरु भाषा नजान्दा पोख्न सकिन्न । सुरुमा हामी जाँदा खाना फ्री भनेको थियो, महिनाको पाँच सय रियाल भनेको थियो । तर तीन महिनासम्म तलब नदिँदा साहुलाई केही भन्न सकिएन । पछि तलब दिँदा त दुईसय रियाल भनेर दिएको थियो । अनि त बार्गेनिङ गर्नको लागि भाषा नजान्दा कुरा राख्नै नसकेर समस्या भयो । तर हामीहरु २० जना थियौँ । ठूलो समूह भएका कारण सबैले विरोध जनाउँदा हाम्रो माग सुनुवाइ भयो । त्यसैले जुनसुकै ठाउँमा गए पनि त्यहाँको भाषा जान्नुपर्ने रहेछ भन्ने मलाई लाग्छ ।
म तीन वर्ष साउदी बसेपछि नेपाल फर्केँ । फेरि जाउँजस्तो पनि लागेको थियो । दुबईतिर जाने सोचेको थिएँ तर भएन । त्यसपछि यतैतिर अवसरहरु मिले । अहिले सृजनशील पौरखी भन्ने सहकारी संस्था पनि छ, म त्यसको सचिवको साथै व्यवस्थापक पनि छु । अनि पहिला पौरखमीमै रहेर कार्यसमितिमा बसेर काम गरेँ । अहिले आमकासमा आबद्ध छु ।
सप्ताहव्यापी रुपमा आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीबारे सम्पूर्ण सूचनाको श्रमिकमाझ सजिलै पहुँच बनाउनुपर्छ । व्यापक प्रचार गर्नुपर्छ । श्रमिकहरुलाई भाषा र सीपयुक्त बनाएर मात्र पठाउनुपर्छ । त्यहाँबाट फर्केर आएपछि पनि फेरि वैदेशिक रोजगारीमै जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । उनीरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्छ । उनीहरुको सीप, क्षमता र दक्षताले देशमै उचित स्थान र मूल्य पाउनुपर्छ ।