के हो नेविसंघको विवाद ?

 मंसिर २, २०७५ आइतबार १२:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल विद्यार्थी संघको विवाद मिलाउन माउ पार्टी नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ । 

नेपाल विद्यार्थी संघको विधान अनुसार गएको साउनमै महाधिवेशन सक्नु पथ्र्यो । तर त्यो मिति टरेको ४ महिना बित्न लागिसकेको छ । अझैसम्म पनि संघको महाधिवेशन कहिले हुन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।  

संघका सभापति नैनसिंह महर नेतृत्वको दुई वर्षे कार्यकाल भदौमा नै सकिएको भए पनि महाधिवेशन गर्न तीन महिनाको समय थप गरिएको थियो । तर थप गरिएको तीन महिनामा पनि महाधिवेशन गर्न महर नेतृत्वको समितिले नसकेपछि संघ भंग गर्ने कि यही नेतृत्वलाई फेरि समय थपेर महाधिवेशन गर्न दिने भन्ने विषयले विवाद निम्त्याएको हो ।  

पछिल्लो पटक कात्तिक १६ गतेदेखि काठमाडौंमा १२ औं महाधिवेशन गर्ने भनिएको थियो । तर संघको संशोधन गर्न लागिएको विधानमा ३२ वर्षे उमेर हदमा विवाद बढेपछि महाधिवेशन स्थगित हुन पुग्यो ।  

केन्द्रीय समितिबाट संस्थापन पक्षले बहुमतका आधारमा उमेर हद ३२ वर्ष हुने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले त्यसमा असन्तुष्टि जनाउँदै आएको छ । उमेर हद हटाउनुपर्ने पौडेल पक्षको माग छ । 

२०७३ मा सम्पन्न ११ औं महाधिवेशनले नै १२ औँ महाधिवेशनबाट ३२ वर्षे उमेरहद लाग्ने विधानमै स्वीकृत गराएको थियो । ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि अनिवार्य र उपयुक्त रहेकाले ११ औँ महाधिवेशनले पारित गरेको थियो । 

अहिले पनि नेविसंघको नेतृत्व प्रौढ उमेरमा प्रवेश गरेकाहरुकै हातमा छ । अब भने ३२ वर्ष भित्रका युवालाई नेविसंघको नेतृत्व सुम्पने गरी ११ औँ महाधिवेसनले नै विधान पारित गरेको वर्तमान अध्यक्ष महर सम्झनुहुन्छ । वर्तमान अध्यक्ष महर स्वयं ४० पार गरिसक्नुभएको छ । 

विद्यार्थी संगठनको नेतृत्व युवामा नै रहनुपर्नेमा कांग्रेसका सबै नेताहरु सहमत छन् । तर उमेर हदका कारण आफ्ना मान्छे पाखा लाग्ने देखेपछि उमेर हद राख्न नहुने भन्दै पौडेल पक्षधर विरोधमा उत्रिएको हो ।  

नेपाली कांग्रेसको शनिबार हुने भनिएको बैठक पनि उमेर हद विवादकै कारण बस्न नसकेपछि सोमबारका लागि सरेको हो । सोमबार बस्ने बैठकले महाधिवेशन गर्न यही नेतृत्वलाई निरन्तरता दिने वा यसलाई भंग गरेर अर्को तदर्थ समिति बनाउने भन्नेमा निर्णय गर्ने कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताउनुभयो । 

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा छ । तर रामचन्द्र पौडेल पक्ष भने विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा छ । 

सोमबारको बैठकबाट कुनै एक निर्णय गर्नै पर्ने बाध्यता छ । अध्यक्ष महर नेतृत्वको संघको थपिएको समयावधि आजैदेखि सकिने भएकाले आज अर्को निर्णय गर्नै पर्ने बाध्यतामा कांग्रेस रहेको हो ।  
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया