टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण शुरु हुँदै : उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्दै

 जेठ १९, २०८१ शनिबार १२:७:५० | एजेन्सी
unn.prixa.net

टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको रुपमा पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

आयोजक अमेरिका र क्यानडाबीचको उद्घाटन खेल नेपाली समयअनुसार भोलि बिहान सवा ६ बजे डालासमा शुरु हुनेछ । क्यानडाले पनि पहिलो पटक विश्वकप खेल्न लागेको हो । अर्को आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) भोलि बेलुका खेल्नेछन् ।

यसपटकको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्ग्लादेश, श्रीलङ्का, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्याण्डस र बङ्ग्लादेश रहेका छन् ।

नेपालले आउँदो मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो । सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया