सहकारीको रकम हिनामिना गरेर विदेश गएका १८ जनालाई नेपाल फर्काउन गृहमन्त्रीलाई निर्देशन

 साउन १४, २०८१ सोमबार १५:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी दिनुभयाे । उहाँले सानोपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राईलाई स्वदेश फर्काउन निर्देशन दिएको बताउनुभयाे ।

यस्तै समितिले सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई स्वदेश फर्काउन निर्देशन दिएको छ । यसैगरी सूर्यदर्शन सहकारीका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन र थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, सानो पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा सहकारी र सुप्रिमका सुवास केसी, कान्तिपुर सहकारीका प्रेमध्वज लामा र मेगाड्रिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन पनि समितिले निर्देशन दिएको छ ।

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरूको नाम पनि गृहमन्त्रीलाई बुझाएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया