रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे
मंसिर ६, २०८१ बिहिबार
मेरो जन्म तेह्रथुम जिल्लाको एक सामान्य परिवारमा भएको हो । गाउँमै जन्मिएँ, गाउँमै हुर्किएँ । अनि गाउँकै सरकारी स्कुल पढेकी हुँ । त्यसैले म सामान्य परिवारकी छोरी हुँ । मेरो विवाह पनि सामान्य परिवारमा सोलुखुम्बु जिल्लामा भएको हुनाले म सामान्य परिवारकी बुहारी हुँ । मेरो परिवारमा बुवासहित दुई जना दाजुहरु पनि सरकारी सेवामा नै हुनुहुन्थ्यो । त्यसैले पनि मलाई पहिलादेखि नै सरकारी जागिरप्रति रुचि थियो । अझै म जस्तो छोरी मान्छेका लागि घरपरिवार, बालबच्चा हेर्दै जागिर खान सजिलो हुने होला जस्तो पनि लाग्यो ।
नीजि क्षेत्रमा जागिर गर्दा अलि सुबिधा नहुने कुरा सुनेकी थिएँ । त्यहाँ सुत्केरी अवस्थामा कामबाट निकाल्ने, पदोन्नति नहुने, तलब पनि कम दिने आदि थुप्रै कुरा सुनेकाले पनि मलाई पहिलेदेखि नै सरकारी सेवा नै ठिक हो जस्तो लाग्थ्यो । त्यस्तै सरकारी जागिरमा कसैलाई भनसुन गर्न पर्दैन, निष्पक्ष हुन्छ, महिलाका लागि सुरक्षित र सजिलो हुन्छ भनेर नै मेरो सरकारी जागिरप्रति आर्कषण बढेको थियो ।
म काठमाण्डौमा आएर संर्घष गर्दा यहाँ मेरा नजिकको मान्छे कोही हुनु हुँदैनथियो । त्यतिबेला घरपरिवार, बालबच्चा, पढाई र जागिर सँगसँगै लैजानु पर्ने अवस्था थियो । अहिले पनि धेरै जना जागिरे महिला दिदीबहिनीहरुको अवस्था मेरो जस्तै हुनसक्छ । एउटा महिलाले सबै कुराको व्यवस्थापन गर्दै जाँदा पनि होला मेरो उपसचिव पनि अलि ढिलो भएको हो ।
पारिवारिक जिम्मेवारी, बच्चाहरु सानै भएका र नेपालमा एलएलएम पढाइ नहुँदा समयमा एलएलएम पढ्न सकिनँ । स्नातकोत्तर तह पढ्न ढिला भएकाले मेरो उपसचिव ढिलो भएको हो । कहिलेकाहीँ परिस्थिति प्रतिकूल पनि हुनसक्छ, तर धैर्यता आफूमा हुनुपर्छ । पछि मैले काठमाण्डौ स्कुल अफ लबाट एलएलएम पढ्न शुरु गरेँ ।
त्यतिबेला पनि मेरा दुई वटा बच्चा स्कुल जान्थे । उनीहरुलाई बिहानै तयार गर्नु पथ्र्यो । त्योबेलाको समयको मागअनुसार मैले एउटा बच्चालाई दुई वर्षसम्म होस्टल राखेर मिलाएँ । पछि घरमै ल्याएर पढाएँ । त्यसैले समयको मागअनुसार पनि चल्नु पर्ने रहेछ ।
शाखा अधिकृतदेखि मुख्य सचिवसम्म
म २०५२ सालमा निजामती सेवामा प्रवेश गरेकी हुँ । म त्यतिबेला कानुन मन्त्रालयमा शाखा अधिकृतको रुपमा काम गरेकी थिएँ । त्यहाँ झन्डै साढे १० वर्ष काम गरेपछि मात्रै मेरो पदोन्नति भयो । त्यतिबेला एलएलएमको डिग्री मसँग थिएन । नेपालमा एलएलएमको पढाइ हुँदैनथियो । विदेश पढ्न जान मौका मिलेन । त्यसैले पदोन्नति हुन ढिला भयो । पछि एलएलएम गरेपछि मेरो अगाडि बढ्ने बाटो खुल्यो ।
त्यसपछि मैले २०६९ सालमा सरकारी वकिलतर्फ सहसचिवमा नाम निकालेकी थिएँ । तर त्योबेला अन्तर्वार्ता राम्रो भएन । पछि २०७० सालमा परीक्षा दिएँ । त्यतिबेला कानुन समूह अन्तर्गत सहसचिवमा नाम निकाल्न सफल भएँ । मेरो सहसचिवको जागिर निर्वाचन आयोगबाट शुरु भयो । त्यहाँ मैले २० महिना काम गरेँ । म उपसचिव हुँदा विभिन्न मन्त्रालयमा काम गरेको छु ।
गृह मन्त्रालय, कानुन मन्त्रालय, तत्कालीन जलस्रोत मन्त्रालय, उर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र सिँचाई मन्त्रालयमा केही समय काम गरेँ । २०७७ साल कात्तिकमा मेरो सचिवमा पदोन्नति भयो । २०७७ साल कात्तिकदेखि २०८० साल भदौसम्म नेपाल कानुन आयोगमा सचिवको रुपमा कार्यरत रहेँ । २०८० साल भदौदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कानुनको विषय हेर्ने सचिवको रुपमा कार्यरत थिएँ ।
असारको १० गते निमित्त सचिवको रुपमा रहेर काम गरेँ। असार ३१ गते प्रधानमन्त्रीले कायममुकायम सचिवको रुपमा जिम्मेवारी दिनु भयो । साउनको १० गते म निमित्त भएको एक महिनाभित्र निमित्त, कायममुकायम र आधिकारीक मुख्यसचिव भएर काम गर्ने अवसर पाएँ । जुन मेरो लागि मात्रै नभएर सम्पूर्ण महिलाका लागि खुशीको कुरा हो ।
मुख्यसचिव हुन्छु होला भनेर सोचेकी पनि थिइनँ
मुख्यसचिव हुन्छ भनेर सपना त प्रायः कसैले पनि देख्दैन । अधिकृत तहसम्म पुग्दा जोकसैले पनि सचिवसम्म पुग्छु भनेर आश गर्ने हो । त्यही अनुरुप मेहनत पनि गर्ने हो, काम पनि गर्ने हो । तर बढुवा हुने विभिन्न किसिमका कानुनी प्रावधानहरु छन । कुन बढुवाबाट जाने भनेर आफूले आफूलाई खार्दै पनि लैजानु पर्छ । त्यसमा प्रतिस्पर्धा पनि गर्दै जाने हो ।
मुख्यसचिव भनेको सचिवहरुबाट लैजाने प्रकृया हो । त्यो पनि मुख्यसचिवको पद खाली भएको अवस्था भए मात्रै मुख्यसचिवको आश गर्ने हो । मैले पनि मुख्यसचिव हुन्छु होला भनेर कल्पना पनि गरेको थिइनँ । किनकी बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालकै ढेड वर्ष समय बाँकी थियो । दुर्भाग्य उहाँलाई असार ९ गते मुद्दा लाग्यो । मुद्दा लागेपछि मुख्यसचिव पद खाली हुन पुग्यो ।
त्यतिबेलादेखि म निमित्त मुख्यसचिव भएर काम गर्ने मौका पाएँ । मुख्यसचिव हुने कुरा सचिवमा पुगेपछि मात्रै बल्ल सोच्ने कुरा हो । मैले पनि सचिवसम्म मात्रै हुन्छु होला भन्ने सोचेको थिएँ । मुख्यसचिव हुन्छ होला भनेर कल्पनासम्म पनि गरेको थिइनँ ।
जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्न सक्ने आत्मविश्वास
म शाखा अधिकृत भएको दिनदेखि नै जुन तहको जिम्मेवारी आए पनि मैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्नसक्छु भन्ने आत्मविश्वास थियो । मैले अरु भन्दा अब्बल नै गर्नुपर्छ भन्ने सोच थियो । शाखा अधिकृत हुँदा पनि मैले लोकसेवामा एक नम्बरमा नै नाम निकालेर आएकी हुँ ।
त्यतिबेलादेखि नै मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म मैले शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव हुँदा पनि इमान्दारीतापूर्वक राम्रै काम गरेर आएकी छु भन्ने मलाई लाग्छ । जुन तहमा काम गरे पनि इमान्दारीतापूर्व काम गर्छु भन्ने आत्मविश्वास पहिलेदेखि नै थियो ।
शाखा अधिकृतदेखि मुख्यसचिवसम्म आउनका लागि धेरै जनाको सहयोग छ । सबैभन्दा पहिला घरपरिवारको सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कोही पनि सफल हुन सक्दैन । मलाई पनि विवाहअघि माइती र विवाहपछि घरको पूर्ण साथ/सहयोग थियो । मेरो परिवार पनि शिक्षित नै हुनुहुन्थ्यो । मेरो श्रीमानको पनि आफ्नै व्यवसाय थियो । मलाई जागिर खाने कुरामा कुनै रोकतोक थिएन ।
निजामती सेवामा महिलाको सहभागिता सुधार हुँदै
निजामती सेवामा पनि अहिले महिलाको उपस्थिथि सुधार हुँदै आएको छ । २०६५ सालदेखि सकारात्मक विभेदको प्रावधान कानूनमा लागू भएपछि झण्डै २८ प्रतिशत महिलाको सहभागिता छ । अहिले अधिकृत तहमा पनि राम्रो उपस्थिति छ । अधिकृत तहकै महिला कर्मचारी नै क्रमशः माथिल्लो तहमा जाने हो । अधिकृत तहबाट आफूलाई खार्दै उपसचिव, सहसचिव, सचिव हुने हो । तर अझै पनि पर्याप्त छ भन्ने अवस्था छैन ।
मैले जागिर शुरु गर्दा ६/७ प्रतिशत थियो भने अहिले २८ प्रतिशत आइपुगेको छ । यो क्रमशः बढ्ने कुरा हो । पहिला शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव हुँदै बल्ल मुख्यसचिव हुने हो । त्यसैले महिलाको पनि निजामती सेवा प्रतिनिधित्व राम्रै हुँदैछ । यसलाई अझै बढाउनु पर्छ ।
पहिला अधिकृत तहमा महिला नभएकाले नै माथिल्लो तहमा महिला नदेखिएका हुन । २०५२ सालमा दुई जना महिला अधिकृत तहमा प्रवेश गर्यौँ । त्यसपछि २०६५ सालमा मात्रै बल्ल हाम्रो मन्त्रालयमा महिलाहरु आउनु भयो । त्यो खाली ठाउँ कसरी पूर्ति गर्ने ? २०६५ सालमा सकारात्मक विभेदको प्रावधान लागू भएपछि बल्ल महिलाहरु आउन थाल्नु भयो ।
अहिले कानुनतिर अधिकृतमा पुरुषभन्दा महिला धेरै आउनु हुनुहुन्छ । पुरानोतर्फ पुरुष नै धेरै हुनुहुन्छ तर अहिले नयाँ आउनेमा ५० प्रतिशतभन्दा बढी महिलाहरु आउनु हुन्छ । महिलालाई अझै पनि हाम्रो पितृसतात्मक समाजमा केही न केही गाह्रो छ । महिला कर्मचारीमाथि विभेद झट्ट हेर्दा त देखिँदैन तर अदृश्य विभेद छ । यदि पुरुषको नेतृत्व छ भने पुरुषलाई दिनु हुन्छ । महिलाहरु कम प्राथमिकतामा पर्नु हुन्छ ।
महिलाको नेतृत्व स्वीकार्न, पत्याउन, विश्वास र अवसर दिन नै गाह्रो छ । अहिले विस्तारै यो कुरा सुधार हुँदै आएको छ । महिलाहरुको सङ्ख्या बढी भएपछि क्रमशः सहज हुँदै जान्छ । महिलाको प्रतिनिधित्व बढेपछि विभेद पनि कम हुँदै जान्छ ।
राजनीतिक दल निकट मान्छेले अवसर पाउँछन् भन्ने गरिन्छ तर बढुवामा त्यसो हुँदैन । बढुवा हुँदा कानुनी प्रकृया पूरा गर्ने हो । कहिलेकाहीँ सरुवामा राजनीतिक दलको प्रभाव पर्छ होला त्यो बेग्लै कुरा हो । सरुवा हुँदा कसैले राजनीतिक दलबाट फाइदा लियो भने त्यसलाई सामान्यकरण गर्नु हुँदैन ।
मैले २१ दिन निमित्त मुख्यसचिव भएर काम गरेँ। त्यसपछि कायममुकायम भएँ । त्यसपछि जुनदिन मलाई मुख्य सचिवको जिम्मेवारी आयो त्यस दिन मैले मेरो भुमिका के हो, मैले विवेक कसरी प्रयोग गर्नु पर्छ भन्ने कुरामा म सचेत थिएँ । म जे जति जान्दछु त्यो मैले इमान्दारीका साथ गर्छु । काम गर्न सहजै छ । मैले फरक र अप्ठ्यारो महसुस गरेको छैन ।
मुख्यसचिवमा मेरो प्रतिस्पर्धी कति हुनुहुन्थ्यो त्यो थाहा भएन । तर जति धेरै प्रतिस्पर्धी भयो त्यति खारिन्छ । त्यति नै राम्रो मान्छे आउँछ । त्यसैले प्रतिस्पर्धा हुनु स्वभाविक पनि हो । मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै मेरो कामको मूल्याङ्कन गरेर नै मलाई मुख्यसचिवको जिम्मेवारी दिनु भएको हो । उहाँ आफैँ पनि अनुभवी प्रधानमन्त्री हुनुहुन्छ ।
पहिलेका मुख्यसचिवहरुको काम गराई पनि देखिसक्नु भएको थियो होला । त्यस म पक्कै पनि खरो उत्रिन सक्छु भनेर मलाई यो जिम्मेवारी दिनु भएको होला जस्तो लाग्छ । मुख्यसचिव भन्ने पद सरकारले नै दिने पद हो । प्रधानमन्त्रीसँगै बसेर काम गनु पर्ने भएको हुनाले सरकारले नै काम गर्न सक्ने मान्छेलाई नै मुख्यसचिवको जिम्मेवारी दिन्छ ।
महिलाले पनि मुख्यसचिवको भूमिका निर्वाह गर्न सक्छन् भनेर उहाँले विश्वास गर्नुभयो । महिलालाई जिम्मेवारी दिइँदैन भन्ने भनाईलाई चिर्दिनुभयो । त्यसैले प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छु ।
अवसर पाएमा परिणाम देखाउन सकिन्छ
महिलाहरुको अझै पनि माथिल्लो पदमा प्रतिनिधित्व न्यून नै छ । त्यसैले महिलालाई अवसर दिनुपर्छ । अब सहभागिता पनि विस्तारै बढ्दैछ । त्यसैले महिलालाई अवसर र पद दिन नेतृत्वले पहल गर्नु पर्छ । सचिवले दिने ठाउँमा सचिवले महिलालाई अगाडि सार्दिनु पर्यो । मन्त्रीहरुले दिने ठाउँमा मन्त्रीहरुले पनि महिलालाई अगाडि सार्नु पर्यो । सरकारले नियुक्ति दिँदा पनि महिलाहरुलाई प्राथमिकतामा राख्नु पर्यो ।
अहिलेको प्रधानमन्त्रीले मन्त्रीहरुको विदेश भ्रमण हुँदा त्यहाँ महिला अनिवार्य हुनुपर्छ भनेर भन्नु भएको छ । अनिवार्य भनेपछि त्यहाँ महिला त छुट्ने भएननु नि । अवसर त पाउने भए । अवसर पाए मान्छेले परिणाम देखाउन पाउँछ । त्यसैले क्रमशः समय परिवर्तन पनि हुँदैछ । यसरी नै अगाडि बढ्दै जाने हो ।
मुख्यसचिव भएसँगै व्यस्तता पनि बढेको छ । मुख्यसचिवले संसदमा जाने विषयहरु, सम्पूर्ण प्रशासनिक कार्य र समन्वय गर्ने भूमिका बढी हुन्छ । अहिलेसम्म त काम गर्न सहज नै भएको छ । कुनै पनि काम कसरी पार लगाउने भनेर योजना बनाउनु पर्छ । काम गर्दै जाँदा अप्ठ्यारो भएमा त्यसलाई फुकाउँदै जानुपर्छ । कानुन बमोजिम नै काम गर्ने हो ।
७० वर्षको ईतिहासमा कुनै पनि महिला मुख्यसचिव नपुगेकोमा अहिले म पुगेकाले सबै जनाले मप्रति सद्भाव कायम गर्नु भएको छ । सबैले मलाई बधाई पनि दिनु भएको छ । राम्रो काम गर्नु भनेर आशीर्वाद पनि दिनु भएको छ । सबै जनाले सकारात्मक रुपले नै लिनु भएको महशुस गरेकी छु ।
महिलाले पनि अवसर पाए गर्न सक्छन भन्ने कुरालाई पुष्टी गराउन आफूले आफैँलाई समय, परिस्थितिअनुसार हरेक हिसाबले सक्षम बनाउनु पर्छ । जुन दिन जे जिम्मेवारी आउँछ, म त्यो दिन मेरो जिम्मेवारी पूरा गर्न सक्छु भन्ने तरिकाले आफूलाई अब्बल देखाउने गरी तयार हुनुपर्छ ।
म मुख्यसचिवमा रहेर काम गर्ने समय भदौ १४ गतेसम्म मात्रै हो । मसँग समय थोरै छ । अलि लामो समय भएको भए मैले हरेक महिनाको योजना बनाएर काम गर्ने थिएँ । तर अहिले मैले त्यसरी गरेको छैन । अहिले जे जति गर्छु अगाडि आएका कामहरु गर्छु ।
केही कामहरु म भन्दा पछि आउने मुख्यसचिवलाई सहज हुने गरी गर्छु । मपछि जो आउनुहुन्छ उहाँले मैले गरेका कामलाई महत्त्व दिएर अघि बढाउन मिल्ने वातावरण बनाइदिए हुन्थ्यो भन्ने लागेको छ ।
(मुख्यसचिव लीलादेवी गड्तौलासँग गरिएकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गड्तौला नेपाल सरकारको मुख्यसचिव हुनुहुन्छ ।