गोसाईंकुण्डमा तीर्थयात्री पुग्ने क्रम शुरु

 साउन २६, २०८१ शनिबार १८:३१:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

रसुवा – गोसाईंकुण्डमा स्नान गर्ने भक्तजन पुग्ने क्रम शुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि कुण्डमा स्नान गर्न भक्तजन जाने गरेका छन् । यस वर्ष स्नान मेला भर्न १५ हजार जना भक्तजन गोसाईंकुण्डमा पुग्ने अनुमान गरेको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको दिन भक्तजनको घुइँचोलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था, उपचार, खानेपानीलगायत विविध सेवाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

भगवान् शङ्करले बास लिनुभएको पवित्र कुण्डस्थलका रूपमा गोसाईंकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले लेक लाग्ने समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरेको समितिका अध्यक्ष डिएमले बताउनुभयो ।

गोसाईंकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । पर्याप्त सुरक्षा व्यवस्था मिलाएकाले निर्धक्क भएर यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाईंकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन सबैमा प्रमुख जिल्ला अधिकारी खनालको अनुरोध छ ।

गोसाईंकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी समस्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । ग्लुकोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।

घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाण्डाैबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा शुरू हुन्छ । बाटोमा ठाउँ–ठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताउनुभयो । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिंड्नका लागि काठमाण्डाैबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उहाँको सुझाव छ ।

फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, लठ्ठीको नाममा रूख बिरुवा नकाट्न, पैदल मार्गमा भेटिने जनावरलाई संरक्षण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले सबै यात्रीमा अनुरोध गरेको छ । यात्रीले प्रयोग गरेका निजी सवारीसाधन सुरक्षाका लागि गोसाइकुण्ड गाउँपालिका–६ को कार्यालय धुञ्चेले सःशुल्क पार्किङको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया