काठमाण्डौ उपत्यकामा ३ जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
बर्दिया – बर्दियामा पछिल्लो समय पाटे बाघ लगायतका वन्यजन्तुहरूको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जसँग जोडिएका सामुदायिक वन र खाता जैविक मार्ग क्षेत्रमा बाघको प्रवेश बढेको छ । बाघ बर्दिया निकुञ्जको पहिलो आकर्षक वन्यजन्तु भएको छ । निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा जैविक मार्ग क्षेत्रका वनबाट आएका बँदेल, निलगाई र बाँदरले किसानको अन्नबाली वर्षेनि नष्ट गरिरहेका छन् । बाघ र चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जङ्गली हात्तीले घरगोठ भत्काउने, अन्नबाली क्षति गर्ने क्रम पनि उस्तै छ ।
यी वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पनि बढेको छ । आक्रोशित स्थानीयवासीले बाघ र जङ्गली हात्ती मारेका घटना पनि त्यत्तिकै छन् । पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण मानिएको विश्वकै दुर्लभ वन्यजन्तु बाघ र मानवबीचको द्वन्द्वले संरक्षण क्षेत्रमा विभिन्न प्रश्न उठ्न थालेका छन् । बाघ संरक्षण र व्यवस्थापनमा नयाँ नयाँ चुनौतीहरू थपिँदै छन् ।
सन् २०१० देखि २०२२ बीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै पाटे बाघको सङ्ख्या दोब्बर बनायो । सन् २०२२ को गणनाअनुसार बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । जबकि सन् २००९ को गणनामा यसको सङ्ख्या १ सय २१ वटा मात्र थियो । सन् १९९५ को पहिलो गणनामा नेपालमा ९८ वटा मात्रै बाघ थिए । यसको सङ्ख्या बढाउन सरकार, समुदाय, विभिन्न साझेदार संस्था र संरक्षणकर्मीहरूले अनेक प्रयास गरे । बर्दियामा पाटे बाघको सङ्ख्या बढेर १ सय २५ पुगेसँगै ५ वर्षयता बाघको आक्रमणका घटनाहरू पनि बढेका छन् । यस अवधिमा बाघकाे आक्रमणबाट ३३ जना र जङ्गली हात्तीकाे आक्रमणबाट ११ जनाको ज्यान गएको छ ।
विशेषगरी कोरोना महामारी रोकथामका लागि देशभर लकडाउन भएपछि सामुदायिक वनमा मानिसको चहलपहल रोकियो । निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा यातायातका साधन ओहोरदोहोर शून्य प्रायः भयो । ती राजमार्गमा दिनहुँ बाघ देखिए ।
लकडाउन खुकुलो भएसँगै सामुदायिक वनभित्र मानिसको चहलपहल बढ्यो र निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा गाडी गुड्न थालेपछि बाघ आक्रमणका घटनाहरू बढ्न थालेका हुन् । निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना आवश्यक छ । वन्यजन्तु र मानिसका लागि अण्डरपास वा ओभरपासजस्ता सडक संरचना निर्माणमा जोड दिन थालिएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्रका राष्ट्रिय र सामुदायिक वन छेउछाउमा दिगो व्यवस्थापनका लागि तारबार लगाउनुपर्ने, वन्यजन्तु ओहोरदोहोर हुने सडक (करिडोर) क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र निकुञ्जभित्र पर्ने राजमार्गको दायाँबायाँको झाडी सफाइ गर्नुपर्ने माग उठिरहेको छ ।
निकुञ्ज तथा सामुदायिक वनमा निर्भर विपन्न समुदायका लागि विशेष कार्यक्रम ल्याई वनभित्र नजाने वातावरण वनाउन र सामुदायिक वनभित्रको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरूको जोड छ । ‘बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का झन्डै ५ हजार घरधुरीको दैनिकी डर र त्रासमा छ । निकुञ्ज आसपासका बासिन्दा सधैं बाघ र हात्तीकै त्रासमा हुन्छन् । घाँस, दाउराका लागि जङ्गलमा जान्छन् । जङ्गलभित्र जानेबित्तिकै बाघ, हात्ती र चितुवाले आक्रमण गरिहाल्छन्’ खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले भन्नुभयो, ‘वनजङ्गलमा जाँदा मात्रै होइन, घरआँगनमै पनि बाघ, हात्ती र चितुवा आउँछन् । राति घरबाहिरको शौचालयसमेत जान नसक्ने अवस्था छ ।’
पहिले पाटे बाघ, एकसिँगे गैँडा, हात्ती लगायतका वन्यजन्तु संरक्षण गर्न निकै चुनौती थियो । चोरीशिकार निस्तेज पार्ने काम चुनौतीपूर्ण थियो । वन्यजन्तु जोगाउन स्थानीय समुदायले निकै मेहनत गरे । सरकारी निकाय र सङ्घ–संस्थाहरूका कार्यक्रम सफल पार्नसमेत योगदान दिए । झन्डै तीन दशकदेखि स्थानीयवासी वन र वन्यजन्तु संरक्षणमा दत्तचित्त भएर लागे । समुदायकै सक्रियतामा वन र वन्यजन्तुको संरक्षण पनि भयो । संरक्षण क्षेत्रमा पहिलो चरणको काम पनि सकियो । वन्यजन्तुको सङ्ख्या पनि बढ्यो । तर अब यसैगरी कहिलेसम्म वन्यजन्तुको शिकार हुनुपर्ने हो भन्दै स्थानीय बासिन्दाले प्रश्न तेर्साउन थालेका छन् ।
संरक्षणकर्मी पनि भन्छन्, अब वन्यजन्तुका घटना धेरै बढ्न थाले, यसलाई रोक्ने योजना चाहियो । मानव र वन्यजन्तुबीचको सहअस्तित्वको सन्तुलन खोज्ने बेला आएको उनीहरूको ठहर छ । संरक्षणलाई अब कता र कसरी लैजाने ? भन्ने प्रश्न उठन थालेको छ । संरक्षणको परिमार्जित नीति खोज्न थालिएको छ । समयमै द्वन्द्व न्यूनीकरण हुन सकेन भने आउँदा दिनमा अझै चुनौती थपिने चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । निकुञ्ज र राष्ट्रिय वनका बाघ, जङ्गली हात्ती, चितुवालगायतका वन्यजन्तुबाट हुने जनधनको क्षति कम गर्ने विकल्पहरू खोजी भइरहे पनि ती सफल भएका छैनन् ।
हरेक वर्ष मान्छे मर्ने क्रम बढ्न थालेपछि स्थानीयवासीले संरक्षण नीतिमै प्रश्न गर्न थालेका हुन् । ‘मान्छेभन्दा ठूलो वन्यजन्तु हुन सक्दैन, त्यसैले मान्छे पनि जोगिने र वन्यजन्तु जोगिने खालको दिगो व्यवस्थापन गर्न खाँचो छ’, श्रीरामनगर उपभोक्ता समितिका पूर्वअध्यक्ष एवम् उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो ।
सन् २०११ मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा बाघ पाइने १३ वटा राष्ट्र प्रमुखहरूको भेलाले सन् २०२२ सम्ममा नेपालमा बाघको सङ्ख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । यो प्रतिबद्धता पूरा पनि भयो । तर अब के त ? भन्ने प्रश्न उठिरहेको छ । वन्यन्तुको सङ्ख्या बढेपछि खुशीसँगै व्यवस्थापनमा चुनौती रहेको वरिष्ठ प्रकृति पथप्रदर्शक रामबहादुर शाहीले बताउनुभयो ।
अघिकांश मानवीय क्षतिका घटना जङ्गलभित्र भइरहेका छन् । घाँस दाउरा, च्याउलगायतका दैनिक उपभोगका वस्तु खोज्न जाँदा यस्ता घटना हुन्छन् । बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गमा दुई दशकअघि एक जना पुरुषलाई मोटरसाइकलमै पाटे बाघले झम्टेर ज्यान लिएको थियो । दुई वर्षअघि पनि त्यही ठाउँमा बाघले मोटरसाइकलमा सवार एक महिलाको ज्यान लियो । त्यसपछि निकुञ्जले तत्काल मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगायो ।
‘मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने कार्यक्रम ल्याएर दुवैतर्फको क्षति कम गर्ने वैकल्पिक उपाय खोज्न र वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक छ’, बर्दिया निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले भन्नुभयो ।
सामुदायिक वन संरक्षण गरियो तर व्यवस्थापन गर्न सकिएन । जैविक मार्गमा मानव बस्ती राख्दा जीविकोपार्जनको पाटोलाई ख्याल नगरिएकाले अब घाँस दाउरासँगै च्याउ, साग, निउरो टिप्न जानुपर्ने स्थानीय बासिन्दाको अवस्था सुधार गर्न वैकल्पिक सीप तथा रोजगारीका अवसर प्रदान गर्नुपर्छ । धान, गहुँ, मकै जस्ता अन्नबाली वन्यजन्तुले मनपराउने गरे पनि कतिपय जडीबुटीजन्य तथा सुगन्धित तेलसँग सम्बन्धित बालीलाई वन्यजन्तुले नखाने भएकाले त्यस्ता खालका वैकल्पिक बालीनाली लगाउनेतर्फ प्रोत्साहन गरिनुपर्ने खाता सामुदायिक वन समन्वय समितिका पूर्वअध्यक्ष एवम् मधुवन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बलिराम चौधरीको भनाइ छ ।
सडक विभागले बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ ३१/३१ मिटर सडक खाली गराउँदै आएको छ । तर निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा यो काम गरिएको छैन । पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा भन्नुहुन्छ, ‘निकुञ्जभित्रको राजमार्ग किनारमा रुख, बिरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यहीँ घाँसमा बसिरहेका हुन्छन् । गाडीको आवाज सुनेपछि जनावर तर्सिन्छ अनि गाडीमा ठोक्किने र आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले दीर्घकालीन विकल्प वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, बिरुवा र घाँस तत्काल काट्न जरुरी छ ।’
बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा सन् २००९ मा बाघको सङ्ख्या १८ थियो । त्यसैगरी सन् २०१३ मा ५० वटा, सन् २०१८ मा ८७ वटा हुँदै सन् २०२२ मा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर बर्दियामा १ सय २५ वटा वयस्क बाघ पुगेको हो । आउँदाे वर्षमा यो सङ्ख्या अझै बढ्न सक्ने निकुञ्जकै अनुमान छ । सङ्ख्या बढेकोमा खुशीसँगै सावधानी अपनाउन राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे सुझाव दिनुहुन्छ ।
बर्दिया निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट यसअघि २ वटा बाघ मरे । अन्य वन्यजन्तु र गाडी ठोक्किने क्रम बढेको छ । डिभिजन वन प्रमुख प्रविन बिडारी र बर्दिया निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षबीचमा खाता जैविक मार्ग छ । यस मार्गबाट वन्यजन्तु ओहोरदोहोर गर्छन् । केही बाघले यही क्षेत्रलाई आफ्नो स्थायी बासस्थान समेत बनाइरहेका छन् । त्यसैले पछिल्ला वर्षमा यस क्षेत्रमा बाघको गतिविधि बढेको छ । खाता क्षेत्र र निकुञ्ज क्षेत्रमा मानवीय क्षति पनि बढिरहेको छ । बाघ र मानवबीच द्वन्द्व न्यूनीकरण गर्न डिभिजन वन र निकुञ्ज रणनीतिक योजना बनाएर अघि बढेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।
नरभक्षी ६ वटा बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा निकुञ्ज र डिभिजन कार्यालयले नियन्त्रणमा लिएर खोरमा राखेको छ । निकुञ्जको क्षमताभन्दा बढी सङ्ख्यामा बाघ भएपछि द्वन्द्व बढेको हुनसक्ने आंकलन पनि छ । बाघको सङ्ख्या बढेपछि बाघबीचमै पनि प्रतिस्पर्धा हुने र शारीरिक रूपमा कमजोर भएका बाघहरू गाउँबस्ती छेउका झाडी र स–साना जङ्गलमा आएर मान्छेलाई आक्रमण गर्ने गरेका छन् ।
बाघको आक्रमण बढ्न नदिन निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयबाट समुदायस्तरमा मानव व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन भइरहेको छ । ‘मुख्य कारण मानिसहरूको व्यवहार नै हो, बाघको स्वभाव बदल्न सकिँदैन तर त्यसको स्वभावलाई बुझेर मानिसले व्यवहार गर्ने हो भने समस्या कम हुन सक्छ । बाघ बिहान र बेलुका बढी सक्रिय हुने भएकाले त्यो बेला जङ्गल जान हुँदैन’, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामको सुझाव छ । वन्यजन्तुमैत्री संरचना निर्माणका लागि पनि विभागमा पहल भइरहेको उहाँको भनाइ छ ।
तराईको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ । यस्तै २० हजार ७ सय हेक्टर राष्ट्रिय वन क्षेत्रमध्ये ९ हजार २ सय ५० हेक्टर खाता जैविक मार्गको क्षेत्रफल रहेको छ ।
मान्छे मारेर बाघ र हात्ती किन संरक्षण गर्ने ? भन्ने प्रश्न उठ्न थालेको छ । यसका लागि सरकारले मानिसलाई बाघ लगायतका वन्यजन्तुसँग मिलेर बस्ने सीप सिकाउन र पर्याप्त आहारासहित जङ्गलभित्रै रोक्ने काम गर्न आवश्यक देखिन्छ । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति व्यहोरिरहेका स्थानीय समुदाय पछिल्लो समय बाघबाट त्रसित छ ।
जङ्गली हात्ती, पाटे बाघ लगायतका वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण आक्रामक बनेका हुन सक्छन् । वनप्रतिको स्थानीयवासीको निर्भरता कम गर्दै लैजानुपर्ने देखिन्छ । जङ्गल जानैपर्ने भएमा समूहमा सतर्कतापूर्वक जानुपर्ने अवस्था आएको छ ।
निकुञ्ज र वन छेउछाउमा व्यवस्थित तारजाली तथा पक्की पर्खाल आवश्यक छ । च्याउ, सागपात र घाँसदाउरा लिन जङ्गल प्रवेश गर्ने कार्य रोक्न वा वनप्रतिको निर्भरता कम गर्न वन छेउछाउका वस्तीमा रोजगारी सिर्जना गर्ने आयमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । संरक्षणको अबको बाटो कस्तो हुने र कस्तो नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने भन्ने कुरा निर्क्याेल अनिवार्य भइसकेको छ । अन्यथा मानवीय तथा भौतिक क्षति बढ्दै जाने र योसँगै नयाँ चुनौतीहरू पनि थपिँदै जाने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।