खोज तथा उद्धारको काम छिटो सक्ने र एकद्वार प्रणालीमार्फत राहत वितरण हुने

 असोज १६, २०८१ बुधबार ९:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम छिटो सकेर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पत्रकार सम्मेलन गरेर ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गर्दै विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाउनुभएको छ ।  घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको ठाउँमा अस्थायी आवास बनाउन दिने सरकारको कार्ययोजना छ ।

अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको सरकारले जनाएको छ । सरकारले खोज तथा उद्धारमा ३० हजार भन्दा धेरै परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण शुरु भइसकेको सरकारको भनाइ छ ।

विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि अनुगमन टोली खटाइएको सरकारले जनाएको छ । विभिन्न ठाउँमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ ।

मुख्यसचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

पछिल्लो पटकको बाढीपहिरोमा परी अहिलेसम्म दुई सय २८ जनाको ज्यान गएको छ भने २५ जना बेपत्ता छन् । एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा पठाइएको मुख्यसचिव अर्यालले बताउनुभएको छ । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया