नेविसंघ महाधिवेशनको कार्यतालिका सार्वजनिक

 मंसिर ११, २०७५ मंगलबार १४:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ नेविसंघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।

नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधि गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसै समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । मंसिर २२ गतेभित्र मावि, उच्च मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।

त्यसैगरी पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ । अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनको प्रतिनिधि चयन हुने गरी कार्य तालिका तय गरिएको जानकारी दिनुभयो ।

तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ । पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२ औं महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया