साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
हिजोआज गर्मी कम हुँदै गएको छ । बिहान साँझ जाडो बिस्तारै बढ्न थालेको छ । यो बेला विभिन्न किसिमका स्वास्थ्यका समस्या देखिने उच्च सम्भावना हुन्छ । तर अरू वर्षभन्दा यो वर्ष विशेष तरिकाले बुझ्नुपर्छ । अहिले मनसुनमा आएको ठूलो वर्षाका कारण सिर्जित प्रकोप पनि सम्बन्धित हुन्छ । यो समयमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिन्छ । पछिल्लो समय अझ बढी पेटसम्बन्धी समस्या बढेको देखिन्छ । झाडापखला, ज्वरो, टाइफाइड, जन्डिसजस्ता पानीका कारण सर्ने रोगहरू यो समयमा देखा पर्छन् । अहिले दिउँसो पारिलो घाम लागिरहेको छ भने रातिमा मात्रै चिसो भइरहेको छ ।
यस्तो मौसम कति दिनसम्म हुन्छ भनेर तुरुन्तै भन्न सकिने स्थिति छैन । अहिले वातावरणीय मौसम मानिसले सोचेअनुरूप भइरहेको छैन । यस्तै अहिले अरू बेलाको जस्तो पनि अवस्था छैन । किनकि पछिल्लो समय देशैभर ठूलो पानी परेकाले ठाउँ–ठाउँमा पानी जमेको छ । जमेको पानीमा हुने लामखुट्टेबाट सर्ने डेङ्गीको ठूलो प्रकोप छ । यस्तै मलेरिया पनि बढ्न सक्ने वातावरण बनेको छ । जमेको पानीमा लामखुट्टे बढ्ने भएकाले यसबाट फैलिने रोग पनि समुदायमा छिटो सर्न सक्ने हुन्छ । विशेषगरी पहाडको फेदीमा रोग फैलिन सक्छ । त्यसैले घर वरिपरि पानी जम्न दिनु हुँदैन । यो बाहेक अहिलेको मौसममा लाग्न सक्ने मुख्य रोग भनेको चाहिँ श्वासप्रश्वाससम्बन्धी रोग नै हो । सानो उमेरका बालबालिका र ज्येष्ठ नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी हुन सक्छ ।
यो समयमा देखिन सक्ने लक्षण
गाउँघरमा जाडो हुनेबित्तिकै आगो ताप्ने चलन छ । आगो ताप्दा आगोको धुँवा निस्कने गर्छ । यस्तै शहरबजारमा गुम्म ठाउँमा बस्ने, झ्याल लगाउने र कतिपय घरका कोठामा भेन्टिलेसन अर्थात् कोठाको माथि पट्टि हावा बहन बनाइएको झ्याल हुँदैन । यसले गर्दा गाउँघर र शहरबजारका मनिसमा यो समयमा श्वासप्रश्वासका समस्या बढी देखिन्छ । यो समयमा पानीको प्रयोगमा ध्यान दिनुपर्छ । दुर्गन्धित पानीबाट झाडापखला, हैजालगायतका रोग फैलन सक्छन् । बाढी पहिरोका कारण पानीको पाइप फुटेर फोहोर पानी मिसिन सक्छ । यसमा सबैले ध्यान दिन जरुरी छ ।
पछिल्लो सयम काठमाण्डौ उपत्यकामा पनि हैजाका बिरामी भेटिएका छन् । पानीमा क्लोरिन अर्थात् पियुस हालेर र उमालेर शुद्धीकरण गरेर पानी पिउने हाे भने धेरै हदसम्म सुरक्षित हुन सकिन्छ । साथै हामीले प्रयोग गर्ने पानीको ट्याङ्की, जारलाई सफा गरिरहनुपर्छ । बुढाबुढी जसलाई अरू बेला पनि श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने त्यस्ता मानिसले एकदम होश गर्नुपर्छ । शुरूमा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, हिँडडुल गर्दा थकान महसूस हुने गर्छ । त्यसपछि सङ्क्रमण भइसकेपछि पहेँलो बाक्लो खकार आउने गर्छ । यस्तो हुनेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ । ज्वरो आयो भने झन् छिटो उपचार गराउनुपर्छ ।
भर्खर जन्मिएका शिशुलाई सिधै ज्वरो नआउन पनि सक्छ । तर उसले दूध नखाने, लठ्ठ पर्ने, ज्वरो नआइकन निमोनिया हुन सक्छ । त्यसैले शिशुले शुरूमै दूध खान छाड्यो भने खतराको चिह्न हो भनेर बुझ्नुपर्छ । सानो बच्चाले खोक्न पनि सकेको हुँदैन । त्यति बेला उसलाई कोखा दुख्ने समस्या हुन सक्छ । यो बेला तुरुन्तै अस्पताल लगेर जाँच गराउनुपर्छ । यस कारण साना बालिबालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्छ । अरू उमेर समूहका मानिसलाई पनि यो समयमा स्वास्थ्य समस्या हुन सक्छ । तर बालबालिका र ज्येष्ठ नागरिकलाई जस्तो आजको भोलि गाह्रो भइहाल्ने हुँदैन । शुरू हुनलाग्दा नै हेलचेक्रयाइँ गर्याे भने गाह्रो हुन पनि सक्छ । यसको रोकथामका लागि घरको मानिस सबैभन्दा पहिले चनाखो हुनुपर्छ । आफ्नो घरको कोही मानिसको स्वास्थ्य अवस्थामा समस्या आएको थाहा पाउनेबित्तिकै उपचार गराउनुपर्छ । यसैगरी अन्य रोग लागरिहेका मानिसले झन् यो समयमा विशेष ख्याल गनुपर्छ । युवा उमेरका मानिस जो मधुमेह रोगी, मिर्गाैला रोगी, रक्तचाप, कलेजो र क्यान्सर रोगी छन् उनीहरूसँग मौसमी सङ्क्रमणसँग बच्न रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले यस्ता दीर्घरोग लागेका मानिसले पनि आफूलाई सङ्क्रमण हुन नदिन ख्याल गनुपर्छ ।
हुन सक्ने जटिल समस्या र जोगिने उपाय
साना बालबालिकामा निमोनिया हुन सक्छ । बालबालिकाका लागि निमोनिया जटिल रोगमा पर्छ । त्यसैले बालबालिकालाई कुनै सङ्क्रमण देखिनासाथ उपचार गराउनुपर्छ । त्यसपछि ठूला उमेर समूह जो दीर्घरोगी छन्, उनीहरूले पनि सङ्क्रमण हुनेबित्तिकै उपचार गराउनुपर्छ । युवा र महिलामा पनि यो समयमा स्वास्थ्यका समस्या देखिन सक्छन् । विशेषगरी यो बेला गर्भवती महिलालाई सङ्क्रमण हुने खतरा हुन्छ । मौसमी कारणले जोकोहीको स्वास्थ्यमा समस्या पर्न सक्छ । त्यसैले बालिबालिका, किशोरकिशोरी, युवायुवती, ज्येष्ठ नागरिक सबैले विशेष ध्यान दिनुपर्छ ।
पानीबाट सर्ने रोगबाट बच्न हामीले पानी उमालेर वा क्लोरिन हालेर पिउन सक्छौँ । पकाउने भाँडा सफा गरेर पकाउने गर्दा पानीबाट सर्ने रोगबाट सुरक्षित हुन सक्छौँ । तर श्वासप्रश्वासको रोगमा हावाबाट आउने भएको हुँदा सजिलै जोगिन सकिँदैन । श्वासप्रश्वासको रोगबाट जोगिन मास्क लगाउनु सबैभन्दा राम्रो मानिन्छ । तर शिशुका लागि मास्क लगाउनु ठीक हुँदैन । श्वासप्रश्वाससम्बन्धी रोग लागेका मानिसले मास्क लगाउन सक्दैनन् । त्यसैले अरू मानिसले नै मास्कको प्रयोग गर्नु उचित हुन्छ । यो मौसममा दिउँसो घाम लागेको समयमा घरका झ्याल ढोका खुलै राख्नुपर्छ । यसाे गर्दा कोठामा ताजा हावा बहन सजिलो हुन्छ । श्वासप्रश्वाससम्बन्धी रोग लाग्न नदिन ठ्याक्कै यही गरेर जोगिन सकिन्छ भन्ने हुँदैन । त्यसैले यसबाट बच्न श्वासप्रश्वाससम्बन्धी रोग लागेका मानिसको नजिक नजाने, साना बालबालिकालाई रुघाखोकी लागेको मानिसले नबोक्ने गर्दा अरूलाई सङ्क्रमण सर्नमा रोकथाम हुन्छ ।
स्वास्थ्यमा समस्या देखिए यसरी गर्नुपर्छ घरेलु उपचार
रोगको सङ्क्रमण हुने शिशुले खाना खाँदैन वा कम खाना खान्छ । शिशुलाई यो बेला पानीको कमी हुन दिनु हुँदैन । उसलाई मिठो लाग्ने झोलिलो खानेकुरा खुवाउनुपर्छ । शिशुलाई पानीको कमी भयो भने श्वासप्रश्वासका कारण छातीमा टाँसिएको तह उप्किन पाउँदैन । धेरैजसो मानिसले जाडोको समयमा पानी धेरै पिउनु पर्दैन भन्छन् । तर आगो ताप्दा, हिटर नजिक जाँदा र घाममा बस्दा मानिसको शरीरमा भएको पानी सोसिन्छ । त्यसैले मानिसले आफ्नो शरीरमा पानीको कमी हुन दिनु हुँदैन । यस्तै तातो खानेकुरा खानुपर्छ जसले गर्दा शरीरलाई तातो राख्न सहयोग गर्छ ।
त्यसैगरी पाका उमेर समूहले हाम्रो परम्परागत चलनअनुसार अदुवा पानी, बेसार पानी, जिरा पानी उमालेर खाँदा घाँटीलाई सजिलो बनाउँछ । साथै शरीरमा पानीको कमी हुन नदिन पनि मद्दत पुर्याउँछ । यदि घाँटी दुःखेको छ भने मनतातो नूनपानीले कुला गर्नुपर्छ । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई लगातार खोकी लाग्यो अथवा श्वासप्रश्वासमा समस्या देखियो भने घरायसी उपचारमा भर पर्नु हुँदैन । घरायसी उपचार पनि गर्ने तर स्वास्थ्य संस्थामा पनि जानुपर्छ ।
यस्तै बाहिर काममा हिँडडुल गर्ने मानिसले पनि सबैभन्दा पहिला शुद्ध पानी प्रशस्त पिउनुपर्छ । बाहिर हिँडिरहन पर्ने मानिसले धुवाँधूलो छैन भने पनि मास्क लगाउनुपर्छ । मास्क लगाउँदा घरमा बाफ लिए सरह काम गर्छ । मास्क लगाएपछि बाहिरको चिसो हावाभित्र जाँदा तात्दै तात्दै जान्छ । जाडो बढ्दै जाँदा हावाको सापेक्षित आद्रता घटेको हुन्छ । हावामा हुने पानीको मात्रा पनि कम हुन्छ । त्यसैले मास्क लगाएपछि हुने ओसिलोपनले हावाको मात्रा बढाउँछ । यस्तै मास्क लगाएपछि चिसो हावा सिधै नाकमा, नाकबाट घाँटीमा र शरीरका नलीमा पुग्न रोक्छ । मास्क लगाउँदा बाहिरी जीवाणु, मसिना कणहरू शरीरभित्र जान पाउँदैन । यसबाहेक अरूबाट सर्ने रोगबाट बच्न, शरीरभित्र धुवाँधूलो जान रोकथाम र हावालाई तातो बनाउने काम गर्छ । त्यसैले मास्कको प्रयोगले सङ्क्रमण हुन नदिन मद्दत गर्छ भने सङ्क्रमण भएकालाई छिटो सञ्चो गर्न पनि धेरै मद्दत गर्छ ।
(जनस्वास्थ्यविद् डा. केदार बरालसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. बराल जनस्वास्थ्यविद् हुनुहुन्छ ।