हवाईजहाजमाथि आक्रमण बढ्दै गएपछि राष्ट्रसङ्घले हैटीमा उडान बन्द गर्‍याे

 कात्तिक २८, २०८१ बुधबार १८:३०:८ | एजेन्सी
unn.prixa.net

हवाईजहाजमाथि आक्रमण बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घले हैटीमा सम्पूर्ण उडान बन्द गरेको छ । राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले बढ्दो आक्रमणका कारण हैटीमा हुने उडान बन्द गरेको र यसले थप मानवीय सङ्कट निम्ताउने चेतावनी दिनुभएको छ ।

अस्ति सोमवार हैटीको राजधानी पोर्ट–ओ–प्रिन्स नजिकै पुगेको बेला अमेरिकाको स्पिरिट एअरलाइन्सको एउटा व्यावसायिक विमानमा गोली लागेको थियो, यो विमान छिमेकी डोमिनिकन गणतन्त्रमा डाइभर्ट भएको थियो । त्यसै दिन पोर्ट–ओ–प्रिन्सबाट उडान गरेको जेट ब्ल्यू एअरवेजको एउटा जहाज न्युयोर्क पुगेपछि गोलीले क्षति पुर्‍याएको पाइएको थियो ।

प्रवक्ता डुजारिकले राजधानी पोर्ट–ओ–प्रिन्समा २० वटा सशस्त्र समूहबीच झडप भइरहेको र शहर अस्तव्यस्त रहेको बताउनुभएको छ । पोर्ट–ओ–प्रिन्सको टुसेन्ट लुभर्टुर अन्तर्राष्ट्रिय विमानस्थल आउँदो मङ्गलवारसम्मका लागि बन्द भएको छ ।

समुद्री बन्दरगाह खुला रहे पनि बन्दरगाहसम्म पुग्न सडकको पहुँच छैन । उडान बन्द भएपछि आफ्ना मानवीय कर्मचारी र स्रोतहरूको प्रवाहलाई सीमित बनाइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

पहिले नै मानवीय अवस्था कमजोर रहेको हैटीमा बढ्दो हिंसाले थप भयानक अवस्था निम्ताएको खबरमा उल्लेख छ । हैटीको राजधानीका सबै विद्यालय पनि बन्द भएका छन् ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया