पालिका उपचुनाव : यी हुन् उम्मेदवार

 मंसिर २, २०८१ आइतबार १८:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ ।

धेरैको चासो रहेको काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका राजमान महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ । यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा यौनिक अल्पसङ्ख्यकलाई उम्मेदवार बनाएको छ । जसपा नेपालको तर्फबाट मेयरमा दीपक महर्जन र वडा नम्बर ४ को अध्यक्षमा राजिव महर्जनले उम्मेदवारी दिनुभएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) ले कीर्तिपुरको मेयर र वडाध्यक्ष दुवैमा उम्मेदवारी दिएको छैन । उम्मेदवारी नदिनुको कारण भने रास्वपाले खुलाएको छैन ।

रुकुम पूर्वमा भने सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा एमाले र कांग्रेसले गठबन्धन गरेका हुन् । सहमतिअनुसार अब कांग्रेसको चुनाव चिह्न रुखबाट एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर २ मा भने सूर्य चिह्नबाट कांग्रेसका जीवन रोका वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । पुथा उत्तरगङ्गाको उपाध्यक्षमा माओवादीले नरपुरा बुढालाई उम्मेदवार बनाएको छ । नेकपा (एकीकृत समाजवादी) ले सुनिता बुढालाई उम्मेदवार बनाएको छ ।

यसैबीच जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाको प्रमुखमा पनि एमालेले आफ्नो उम्मेदवार उठाएको छैन । नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईलाई सहयोग गर्दै एमालेले उम्मेदवारी नदिएको हो । बहुमत भएकाले भट्टराईको जीत पक्काजस्तै छ । यस्तै कैलालीमा एमालेकै समर्थन हुँदा कांग्रेसकी टीका चौधरी जिसस सभापति निर्वाचित हुने पक्का भएको छ ।

यसैबीच दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट पासदिकी तामाङ, एमालेकी उमा शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, एकीकृत समाजवादीको तर्फबाट रबिना खड्का र रास्वपाको तर्फबाट गोमा श्रेष्ठको उम्मेदवारी परेको छ ।

यस्तै मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेका तुलसीराम विश्वास, कांग्रेसका बलराम सरदार, माओवादीका नमोनारायण माझी, रास्वपाका तर्फबाट नवीनकुमार विश्वास र राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दिनुभएको छ ।

यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट सविता ऐडी, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाबाट देवकी तिमल्सिना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचा शाहीको उम्मेदवारी परेको छ । यस्तै स्वतन्त्रतर्फ नरेश साही र रामशरा खड्का शाहीको उम्मेदवारी परेको छ ।

यस्तै दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका झलकबहादुर भण्डारी, नेकपा एमालेका जङ्गबहादुर शाही, नेकपा माओवादी केन्द्रका जङ्गबहादुर बराल, रास्वपाका प्रकाशकुमार बुढा, एकीकृत समाजवादीका जगतबहादुर हमाल, राप्रपाका सूर्जे रावल र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का दुर्गबहादुर मगरको उम्मेदवारी दर्ता भएको छ ।

यसैबीच बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विक, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा र माओवादीबाट देवका लामिछानेले मनोनयन दर्ता गराउनुभएको छ ।

भोलि उम्मेदवारको विरोधमा उजुरी दिने र उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने तालिका छ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया